नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार



मधुसूदन रायमाझी, काठमाडौं।

कसूरअनुसार सजाय भोग्नु त कानुनी शासनको नियम नै हो। तर, कसूरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ?

यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा।

२०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलात्कारको आरोपमा उहाँविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन्। त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेस्टुरेन्टबाट पक्रियो।

तत्कालीन प्रहरी नायक उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा ती महिलाले दिएको जाहेरी पढेर सुनाएपछि उहाँलाई छाँगाबाट खसेजस्तै भयो।

जाहेरीमा २०७५ असोज १ गते साढे दुई बजे ललितपुर महानगरपालिकाको ज्वागल हुँदै कुसुन्ती जाने क्रममा पाख्रिनले स्कारपियोमा राखेर कुसुन्ती पुर्याइदिने भन्दै कुपण्डोलस्थित कार्यालयमा लगी करणी गरेको आरोप लगाइएको थियो।

उनले करणीको भिडियोसमेत बनाएको किटानी जाहेरी दिएकी थिइन्। त्यति मात्र हैन उनले पछि पनि पटक–पटक र अन्तिमपटक असोज ६ गते बलात्कार गरेको दोष लगाएकी थिइन्।पाख्रिनले आरोपी महिलालाई नचिनेको दाबी गरे पनि प्रहरीले छोडेन।

बरु थुनामै राखेर पाटन अस्पतालमा उहाँ र महिलाको स्वास्थ्य परीक्षण गरायो। तर, विशेषज्ञ डा. सिर्जना कुँवरको टोलीले जाहेरीवालाको शरीरमा आलो घाउ वा चोटपटक नदेखिएको, अवस्था सामान्य भएको र घटना भएको मितिले एक महिनापछाडि शारीरिक सम्पर्क राख्दा कुनै संकेत नभेटिने हुँदा घटना घटे/नघटेको भन्न नसकिने भनी रिपोर्ट दियो।

दोषी देखिने आधार फेला नपरे पनि उहाँलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो। पाख्रिनले कानुनी उपचार खोजिरहनुभयो। एकातिर डा. सिर्जनाको उक्त रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो भने अर्काेतिर पाख्रिनका चालक जय खड्काले आरोप लगाइएको दिन पाख्रिन दिनभर कार्यालय नै नगएको बयान अदालतमा दिनुभयो।

अन्ततः २०७६ असार २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो। उक्त फैसलामा अदालतले जाहेरी दिने पीडितको विवेचित तथ्य र प्रमाणलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा जाहेरवालाको कथनबाहेक जबरजस्ती करणीको वारदाता भएको तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण नरहेको उल्लेख गरिएको थियो।

ती महिलाले १ गतेपश्चात ६/७ दिनपछि फोन गरेर बोलाइएको भन्ने बकपत्र अदालतमा दिएकी थिइन्। तर अदालतले प्रहरी र अदालतलाई दिएको बयान र बकपत्र फरक–फरक परेको, जाहेरवालाले उल्लेख गरेको र अभियोगपत्रमा दावी गरिएको भिडियो अस्तित्वमा रहेको तथ्य अभियोजनपक्षले पुष्टि गर्न नसकेको र ती महिला र पाख्रिनको कल डिटेल रेकर्डलगायत मिसिलमा संलग्न प्रमाणबाट जाहेरवाला र प्रतिवादीबीच उल्लिखित नम्बरमा सम्पर्क एवं संवाद नभएको ठहरसहित फैसला गरिदियो।

जिल्ला अदालत पाटनका न्यायाधिश मदनबहादुर धामीको एकल इजलासले गरेको उक्त फैसलाको बुँदा नम्बर ४२ मा ती महिलाको जाहेरीमा उल्लिखित ब्यहोरा, प्रहरीलाई दिएको बयानको कागज र अदालतमाा गरेको बकपत्रमा लेखाएको ब्यहोरासमेत आपसमा संगतयुक्त नदिएको उल्लेख छ।

मिसिल संलग्न प्रमाणबाट निजको भनाइ समर्थित हुनआएको देखिएन, फैसलामा भनिएको छ, ‘जबर्जस्ती करणीको वारदात भएको अभियोगवादी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको प्रस्तुत मुद्दामा तथ्यसंग असंगत र संशययुक्त जाहेरवालाको कथनका आधारमा प्रतिवादीलाई कसुरदार ठहराउन मिलेन, अतः प्रस्तुत मुद्दामा प्रतिवादीले आरोपित कसुरवादीबाट सफाइ पाउने ठहर्छ।’

पाख्रिनले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘निर्दोष भएर पनि जेलमा बस्नुपर्दाको पीडा अरू के हुनसक्छ र ?’ तर आफूले न्याय पाउने आत्मविश्वास भएपनि जवर्जस्ती जेल पठाइँदा निकै दुःख लागेको बताउनुभयो।

‘२४ दिन कस्टडी र आठ महिना नख्खु कारागार बस्नुपरेको दुखेसो गर्दै उहाँले थप्नुभयो, अरूलाई यस्तो नहोस्।’

श्यामसुन्दरको करामत

२०६८ सालमा तत्कालिन उद्योग तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई जिल्ला अदालत काठमाडौले अपहरण तथा शरीर बन्धक मूद्दामा ७ बर्ष कैद सजाय सुनाएको थियो। साढे तीन बर्ष कैद छुट भई उनी ०७२ साउन ४ गते जेलबाट छुटेका थिए।

गुप्ता जेल परेपछि उनका छोराहरू राकेशकुमार गुप्ता, भास्कर गुप्ता र सुधिरकुमार गुप्ताले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ मिलनचोकस्थित २१ धुरमा बनेको कित्तानम्बर १६ को साढे दुई तलाको घर बेच्ने निर्णय लिएका थिए।

घरजग्गा व्यावसायी पाख्रिनले चिनजान भएका दमन बस्नेतमार्फत श्यामसुन्दरका छोराहरूको नामको घर २०७२ वैशाख २८ गते जिल्ला मालपोत कार्यालय रुपन्देहीमा २ करोड २५ लाखमा पास गर्नुभएको थियो। तर श्यामसुन्दरले जेलबाट छुटेपछि उक्त घर पुरानै मूल्यमा फिर्ता गर्नुपर्ने दबाब दिँदै मार्ने र परिवारका सदस्य अपहरण गर्ने धम्की दिएका थिए।

करिब तीन वर्षसम्म सफल हुन नसकेपछि पाख्रिनलाई घर किनाइदिने दमन वस्नेतको सहयोगमा श्यामसुन्दरले नक्कली महिला खडा गराई प्रहरीमा जाहेरी दिन लगाएका थिए।

पछि श्यासुन्दरले निकट साथीसँग पाख्रिनलाई आफूले जेल पठाएको भी दिएको अभिव्यक्तिसहितको अडियो सार्वजनिक भएपछि त्यसैलाई आधार बनाएर पाटन अदालतले उक्त आरोप पुष्टि नभएकाले पाख्रिन निर्दोष भएको फैसला सुनाएको हो।

उता श्यामसुन्दर जिल्ला अदालत काठमाडौको आदेमा छुटे पनि ०७६ भदौ १२ गते उच्च अदालत ललितपुरले पुनः १० वर्ष जेल बस्नुपर्ने फैसला सुनाएपछि उनी फरार छन्।

प्रतिक्रिया दिनुहोस्