दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने



ईश्वरराज ढकाल, काठमाडौं।

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ। राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो।

युवराजधिराज पद पाएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आउनुभएको थियो। दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाउनुभएको थियो।

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भर्याङ चढेर त्रिभुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जो संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ, हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ।

समितिले सदन निर्माण भएलगत्तै दरबार हत्काकाण्ड हुँदाका बखत रहेका दीपेन्द्रका सामग्री जस्ताको तस्तै राख्ने तयारी गरिरहेको छ। विकास समिति हुनुअघि नारायणहिटी संग्रहालयले करिब दुई करोड रुपियाँको लागतमा पहिलो चरणको काम सम्पन्न गरेको छ।

‘अब दोस्रो चरणको काम शुरु गर्ने तयारीमा छांै, जसरी भएपनि त्रिभुवन सदन निर्माण गरी सर्वसाधारणलाई दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउने छांै– विकास समितिका कार्यकारी निर्देशक दाहालले भन्नुभयो।

संग्रहालयले विलियार्ड बैठकको अधिकांश समग्री राखेर सर्वसाधारणको लागि खुला गरिसकेको छ। बैठकमा बिलियार्ड, सोफा, गलंैचा लगायतका सामग्री राखिसकेको छ।

दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्नलायक भएको केही समयपछि समितिले त्रिभुवन सदन निर्माण शुरु गरेको हो। त्रिभुवन सदनमा रानी ऐश्वर्यको हत्या भएको थियो। त्रिभुवन सदनको विलियार्ड हलमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, शान्ति, शारदा र जयन्तीलाई गोली लागेको थियो।

 

दीपेन्द्रले गोली हानेको भनिएको सो विलियार्डहलको डाइडिङमा तत्कालीन शाहजादा पारस थिए। तत्कालीन राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको करिब एक वर्षपछि २०५९ साल असारमा सप्ताह लगाएर त्रिभुवन सदन भत्काउन लगाउनुभएको थियो।

अहिले समितिले भत्काउनु अघिको घरको फोटोको आधारमा नयाँ भवन निर्माण शुरु गरेको हो। ज्ञानेन्द्रले त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टा लगायत भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाउनुभएको थियो।

तत्कालीन युवराज दीपेन्द्रको खाट र मेट्रेस लगायत केही कपडा जलाउन लगाउनुभएको थियो। बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिनुभएको थियो।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुदा बिच्छ्याइएको गलैंचामा रगत लत्पतिएको कारण सो गलैचा स्टोरमै राख्न लगाइयो। अहिले सो गलैचा बिलियार्डहलमा राखिएको छ।

यसैबीच समितिले नारायणहिटी संग्रहालयको सौन्दर्य बढाउन सरसफाई शुरु गरेको छ। केही महिनापछि वीरेन्द्रको निजी निवास श्रीसदन सर्वसाधारणको लागि खुला गर्ने योजना अनुसार बम्बे चोकको बाटो निर्माण शुरु गरेको छ।

त्यसैगरी सरलाको दरबार रहेको बम्वे चोकको घर र प्रधानमन्त्री रणोद्वीपको दरकार निर्माण गर्ने भएको छ। ती दुवै दरबार गएको २०७२ सालको भूकम्पले ध्वस्त बनाएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई दरबार निर्माण गर्न चालु आर्थिक वर्षमा करिब ३० करोड रुपियाँ बजेट बिनियोजन गरेको छ। समितिका निर्देशक दाहालले उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न पहिलो चरणमा सरसफाई रणोद्वीप र सरलाको दरबार निर्माण, श्रीसदन पुग्ने बाटो निर्माण लगायतका काम शुरु गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्