मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्झौता भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरू अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्किल फाइबर नेटवर्क विस्तार गर्ने सम्झौता भएको हो।सो अवसरमा प्राधिकरणका अध्यक्ष खनालले डिजिटल नेपालका लागि सरकारले पहिचान गरेको आधार स्तम्भ निर्माण गर्ने र विभिन्न पूर्वाधारको सह–प्रयोगका लागि यस आयोजनाले सहयोग गर्ने बताउनुभयो। उहाँले यस्तो महत्वपूर्ण जिम्मेवारीलाई कम्पनीले समयमै पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सो आयोजनाले सुदूरपश्चिम र कर्णालीजस्ता विकट र चुनौतीपूर्ण क्षेत्रमा सञ्चार सुविधा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले तोकिएको समयमा गुणस्तरीय र मापदण्ड अनुरुपको नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सम्झौतामार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ। रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दियासमेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुन टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार यस आयोजना अन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडीएसएस फाइबर तथा डाइरेक्ट बरिड केवल विस्तार गरिने छ। साथै विभिन्न साइटहरूमा डीडब्ल्युडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिने छ।

मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिका सम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने टेलिकमले जनाएको छ।

हाल र भविष्यमा भ्वाइस तथा डाटा अपरेटरबाट हुन सक्ने मागलाई मध्यनजर गरी आवश्यकता अनुसार ४००जी क्षमतासम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी मल्टीपल १००जी र १००जी वा सोभन्दा बढी क्षमता हुने गरी मल्टीपल १०जी क्षमताका राउटर प्रयोग गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्