कुलुङलाई जनजातिमा सूचीकृत गर्न माग



दिलकुमार लिम्बूू, धरान।

कुलुङले आफ्नो चाड मिनारी दोचाम् चासूम लो फाइम् येलोदोङ (चाक्चाकुर) पर्वको अवसरमा आधारपत्र पेश गरेका छन्। सोही अवसरमा आफूलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न मागसमेत गरेका छन्।

मापदण्ड पुगेका तर वहिष्करणमा पारिएका कुलुङलगायत सबै जातिलाई आदिवासी जनजातिको सूचीकरणमा समावेश गरी राज्यद्वारा निर्देशित सर्वा·ीण विकासमा अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्वको माग गरिएको छ।

उनीहरूका अनुसार धरानमा कुलुङलगायत मेवाहाङ, देवान, लोहोरुङ, खालिङ, वान्तवा, साम्पाङ, याम्फु आदि समुदाय विभेद र वहिष्करण, अन्याय र उत्पीडनमा परेको बताइएको छ।

‘राष्ट्रिय जनगणना २०६८ मा भाषा र जाति सूचीकृत भइसकेको, कुलुङ भाषाको पाठ्यक्रम कक्षा–५ सम्म निर्मित भई अध्ययन अध्यापन कार्य पनि भइरहेको, कुलुङको मौलिक सांस्कृतिक पर्व चाक्चाकुर, भूमिपूजा, पितृपूजन कार्य, देदामलगायत, जन्म, विवाह, मृत्यु कर्म जारी गरिरहेको र १५० भन्दा बढी थरहरू रही महाकुलुङसमेत यथेष्ट आदिवासी जनजातिका प्रमाण रहँदारहँदै यस जातिलाई भिन्न आदिवासी जनजातिको सूचीमा सूचीकृत गराइएन, जसका कारण राज्यद्वारा अविलम्वित समावेशी–समानुपातिक विकासका अवसर छात्रवृत्ति, रोजगार, आर्थिक, व्यक्तित्व विकास केही हुन पाएको छैन।’ आधारपत्रमा भनिएको छ।

आधारपत्रमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा मन्त्रिपरिषद्मा आदिवासी जनजातिका अधिकार स्थापितका लागि कार्यान्वयन गर्न गरिएको सिफारिस भएपछि उक्त सिफारिसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देश गरेपछि सो मन्त्रालयले २०७६ वैशाख ४ गतेको परिपत्रद्वारा सबै स्थानीय तहका सरकारलाई सूची पुनरावलोकन गरी स्थानीय तहमा आदिवासी जनजातिको सूची निर्धारण गरी आयोग र प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराउन निर्देश गरेको परिपत्र पनि संलग्न राखेर पठाइएको छ।

हर्षोल्लासका साथ मनाए चाड

कुलुङले धरान देवीगाउँको आफ्नै कार्यालयमा भेला भएर सामूहिक रूपमा यो चाड मनाएका छन्। कुलुङ भाषामा पुस महिनालाई चाक्चाकुर भनिन्छ।

विसं २०६४ देखि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघको पहलमा कुलुङ समुदायले चाक्चाकुर मनाउन शुरु गरेको हो। हिन्दूको दशैंजस्तै महत्व बोकेको सो पर्वमा कुलुङले टीका लगाएर मान्यजनबाट आशीर्वाद लिएर चाड मनाउने गर्दछन्।भाषा, संस्कृति, रहनसहन, इतिहास जीवन्त राखिराख्न यस्तो कार्यक्रम गरिएको स्थानीय आशधनले बताउनुभयो।

‘२०५८ को जनगणनाअनुसार १८,६८६ जनसंख्या भएको महाकुलुङ क्षेत्रमा बसोबास गर्ने कुलुङ जाति एक प्राचीनतम् जाति हो उहाँले भन्नुभयो– ‘यसको आफ्नो छुट्टै सामाजिक संरचना, भाषा, संस्कार, संस्कृति र पुख्र्यौली भूमि छ।’ २०५७/०५८ सालदेखि कुलुङ जाति आफूलाई पनि नेपाल सरकारले आदिवासी जनजातिमा सूचीकरण राख्नुपर्ने भन्दै आन्दोलित छ।

प्रतिक्रिया दिनुहोस्