दुर्लभ कीर्तिमानले विश्वमा चिनायो



विनोदसिंह विष्ट, बैतडी ।

गत महिना सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपाली खेलाडीले इतिहास रचेका छन्। यही क्रममा महिला क्रिकेटतर्फ बैतडीकी अञ्जली चन्दले बनाएको विश्व कीर्तिमान दुर्लभ बनेको छ।

अञ्जलीले माल्दिभ्सविरुद्धको खेलमा २.१ ओभरमा कुनै रन नदिएर ह्याट्रिकसहित ६ विकेट हात पारिन्।
उक्त रेकर्ड विश्वका कुनै पनि क्रिकेट खेलाडीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो हो।

अञ्जलीले बनाएको उक्त दुर्लभ कीर्तिमानले स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पनि पुग्यो।
बैतडीका धुले मैदानबाट क्रिकेट खेल्न शुरु गरेकी अञ्जलीले महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन्।

क्रिकेटको उर्वरभूमि भनेर चिनिने सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएकी चन्दले चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कन लक्ष्य हुने गरेको थियो।

तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो। शहीद दशरथ चन्दको भूमिलाई एकपल्ट फेरि विश्वमा चिनाउँदै यस क्षेत्रको गौरव बढेको नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टको भनाइ छ।

चन्दले सागअन्र्तगत क्रिकेटमा ११ विकेट लिँदै ‘सर्वोत्कृष्ट खेलाडी’ र उत्कृष्ट बलरसमेत भइन्। २५ वर्षीया अञ्जली ४ वर्षअघि बिहे भएपछि क्रिकेटबाट टाढिइन्। तर जीवनको अभिन्न अंग बनिसकेको क्रिकेट कसरी छोड्न सक्थिन् र ?

महिला च्याम्पियन्स लिगबाट क्रिकेटमा फर्किएकी उनले सागका लागि नेपाली टोलीमा स्थान बनाउन सफल भइन्। केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकीले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउँछिन्– ‘क्रिकेटमा लागिरहन घर र माइत दुवैबाट राम्रो सहयोग मिलेको छ।

परिवारबाट राम्रो सहयोग नभएको भए कसरी आज यति राम्रो खेल्न सक्थें र ?,’ उनी भन्छिन्।कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउँछिन्। उनी भन्छिन्, ‘मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन।

स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुसीको सीमानै रहेन।’ १३ वर्षकी हुँदा कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी थिइन्।

परिवारको साथ पाएकीले उनले बैतडीमा स्थानीय स्तरका खेल खेल्दै गइन्। क्रिकेट मोह बढ्यो। खेलकूदमा बाल्यकालदेखि नै उनमा रुचि थियो। ‘गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ। एक दिन दाइले केटीहरूको खेल छ, तिमी जान्छौ भन्नुभयो। म गएँ।

त्यसपछि मलाई क्रिकेटप्रति रुचि बढ्न थाल्यो’, उनले शुरुआती दिनहरू स्मरण गरिन्। सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो। घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकोमा उनी दुःखी छिन्।

सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुसी दिने उनको सपना छ।

टेस्ट मान्यता प्राप्त राष्ट्रसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थपिन्– ‘टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो। टेस्ट राष्ट्रसँग खेल्दा कठीन भयो।’

महिला क्रिकेट सरकारको प्राथमिकतामा परेन

सरकारले महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको कीर्तिमानी क्रिकेटर चन्दको बुझाइ छ। उनले नेपाली महिला क्रिकेटमा धेरै समस्या देखेकी छन्।

नेपाली क्रिकेटका लागि सरकारले महिला क्रिकेटरका लागि पनि पुरुषको जति नै सेवसुविधा दिनुपर्ने र अझ बढी महिला क्रिकेटका घरेलु लिगलाई बढावा दिनुपर्ने ठान्छिन्।

नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न नसकेको अञ्जली बताउँछिन्। क्रिकेट अझै जीविकोपार्जनको माध्यम बन्न नसकेको उनी गुनासो गर्छिन्।

खेलमैदान, खेल सामग्रीको अभावका बीच खेल खेलेर रेकर्ड कायम गरे उनले भनिन्– ‘अब सरकाले ग्रास रुटबाटै खेलमा लगानी गर्यो भने प्रतिभा आउनेछन्।’

प्रतिक्रिया दिनुहोस्