घरेलु हिंसाविरुद्धको १६ दिने अभियान थरीथरीका हिंसा, उजुरीको चाङ



नेपाल समाचारपत्र, बाँके।

जिल्ला प्रहरी कार्यालय, बाँकेको महिला सेलमा सोमबार दुई वटा उजुरी परे। एउटा श्रीमती माइती गएर नआएकोे उजुरी थियो त अर्को श्रीमानको कुटपिट, गालीगलौजको। दुवै उजुरीका पक्ष र विपक्षको गरमागरम छलफल हुन बाँकी नै छ।महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुरुआत भएको छ।

हरेक वर्ष मंसिर ९ देखि २५ गतेसम्म यो अभियान चल्छ। वर्षेनी अभियान चलिरहँदा हिंसा कम हुनुको साटो बढ्दो देखिन्छ। प्रहरीमा आइपुग्ने तथ्यांकले त्यस्तो देखाउँछ। ‘लाग्ने–स्वास्नीको झागडा, परालको आगो’ भनेर जिल्ला प्रशासन कार्यलयसम्म आइनपुग्ने त अझ कति होलान् कति ?

बाँकेमा घरेलु हिंसाको घटना बढ्दो छ। जिप्रकाको तथ्यांकअनुसार– चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म) मा २ सय वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। गत वर्ष ७ सय ११ र अघिल्लो वर्ष (०७४/७५) मा ४ सय ८३ वटा घरेलु हिंसाका उजुरी थिए। घरेलु हिंसाको उजुरी बढ्दै जाँदा अपराधसम्म हुन पुगेका छन्। घरेलु हिंसाको प्रमुख कारणमध्ये मदिरा रहेको छ।

मदिरा सेवन गरेर दैनिक हुने घरझगडा परिवार विखण्डन मात्रै होइन, हत्यासम्म पुगेको छ। कात्तिक १६ गते बाँकेको सीतापुरमा धान बेच्ने विषयमा राति श्रीमान र श्रीमतीका बीचमा झगडाले उग्ररुप लिँदा श्रीमान महेन्द्रकुमार घर्तीको ज्यान नै गयो। घरझगडा र सदाको किचकिचले गर्दा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको हत्या गरेका घटना बढ्दो नै रहेको छ।

घरेलु हिंसाका कारणहरू मदिरा सेवन, गालीगलौज, खाना लाउन नदिने, कुटपिट गर्ने, शंका गर्ने रहेका छन्। पछिल्लो दिनमा श्रीमान विदेश जाने र फर्किएर आउदा हिसाब ठिकठाक नराखेका कारण घरपरिवार विखण्डन र हिंसा हुने गरेका छन्। यसपटकको १६ दिने अभियानको नारा ‘समानताको पुस्ता ः बलात्कारविरुद्धको एक्यबद्धता’ रहेको छ।

बलात्कारका घटना पनि बाँकेमा कम छैनन्। वर्षेनी बढ्दो नै छ। घरपरिवार, आफन्त, छिमेकी, चिनेजानेका व्यक्तिबाटै नानीहरू सुरक्षित छैनन्। मेलापात जाँदा जंगलमा, घरमा एक्लै सुतिरहेको बेलामा अपरिचितले आएर जबरजस्ती गरेका कम छैनन्। आफन्ती र चिनेजाने कै व्यक्तिले त्यस्तो कुकर्म गरेका छन्।

जिल्ला प्रहरी कार्यलय बाँकेमा साउनयता १८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। करणी उद्योगका चार वटा मुद्दा छन्। मुद्दाफाँटका इन्चार्ज दीपक मल्लका अनुसार– गतवर्ष ५६ र त्यो भन्दा अघि ३५ वटा जबरजस्ती करणीका मुद्दा परेका थिए।

करणी उद्योगमा गत वर्ष चार र त्यसअघि ३१ वटा उजुरी थिए।१६ दिने अभियानको तामझामले शुरुआत गरिदा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर वलीले घरेलु हिंसा रोक्न जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिए। उपमेयर थापाले कोही पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्