माल पाएर चाल नपाएपछि…

थन्किए ६० लाखका चार घुम्ती शौचालय



नेपाल समाचारपत्र, बाँके।

नेपालीमा एउटा उखान छ– ‘माल पाएर चाल नपाएपछि के गर्नु।’ घुम्ती शौचालय सञ्चालनको स्थिति हेर्दा कतै यो उखान नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई संकेत गरेर बनाएको त होइन ? भन्ने प्रश्न उठेको छ।

एसियाली विकास बैंक (एडीबी)ले ६० लाखमा किनिदिएको चार वटा घुम्ती शौचालय ‘सञ्चालन’सम्म गर्न नसक्दा नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वप्रति दाताको अविश्वासमात्रै होइन, नगरवासीले खुट्टी छाम्ने मौका पाएका छन्।

बजारमा सार्वजनिक शौचालयको अभाव रहेको स्थितिमा चार वटा घुम्ती शौचालय पाउँदा नगरवासी हर्षित भएका थिए। भीडभाड हुने र चोक बजारमा घुम्ती शौचालय राखिदा सर्वसधारणले मात्रै होइन, सटरमा पसल सञ्चालन गरेका पसलेले पनि त्यसको सुविधा पाउने आशा गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वले शौच गरेको पैसा संकलन गरेर राजस्व बढाउने कार्ययोजना बनाएपछि ६० लाखका घुम्ती शौचालय थन्किएका हुन्।शुरूमा चारवटा घुम्ती शौचालय सञ्चालनका लागि ७० हजारमा ठेक्का दिइयो।

घुम्ती शौचालयको मेयर र उपमेयरले तामझामले उद्घाटन गरे। ठेक्का लिएका व्यक्तिले तीन महिना मुस्किलले चलाए। ‘घुम्ती शौचालयमा छुट्टै मान्छे खटाउनुपथ्र्यो।

‘दिनमा डेढ सयसम्म हुन सकेन। घाटामै जाने स्थिति आयो,’ तीन महिना ठेक्का लिएका भानु भट्टले भन्नुभयो– ‘यहीबेलामा शिव साधना, व्यापार मेला र आठौं राष्ट्रिय खेलकुद भएकाले त्यहाँ राखेर जेनतेन नगरपालिकालाई बुझाएको पैसा असुली भयो।

त्यसपछि मैले सम्झौता गरिन।’कत्रो खुसीयालीसाथ भित्रिएको घुम्ती शौचालय जिल्ला समन्वय समितिको प्रांगणमा थन्कियो। तीन वटा अहिले पनि त्यहीँ छ। भर्खरै एउटालाई धम्बोझीचोकमा राखिएको छ।

नगरपालिकाले असहाय, अशक्त कर्मचारीलाई खटाएर चोकचोकमा घुम्ती शौचालय राख्दा राम्ररी चल्न सक्छ। ठेक्का दिएर नै पैसा असुली गर्ने नीति अघि सारिएकाले ६० लाखको सामान थन्किएको हो।

नेपालगन्ज उपमहा–नगरपालिकाका सरसफाइ शाखाका अधिकृत अशोक केसीले केही दिनमै सबै घुम्ती शौचालय सञ्चालनमा आउने बताउनुभयो। ‘अहिले एउटा धम्बोझी चोकमा राखेका छौं।

केही दिनमै अरुलाई पनि विभिन्न ठाउँमा राख्छौं,’ अधिकृत केसीले भन्नुभयो– ‘अब ठेक्का दिने होइन कि रेखदेख गर्ने मान्छे राखेर घुम्ती शौचालय सञ्चालन गर्छौ।’नेपालगन्ज उपमहा–नगरपालिकाले एक वडा, एक सार्वजनिक शौचालयको अवधारणा अघि सारेको छ।

दाताले जिल्ला अदालत अगाडि र धम्बोझीको कृषि विकास बैंकको छेउमा अत्याधुनिक सार्वजनिक शौचालय बनाइदिएका छन्। योबाहेक एक दर्जन शौचालय नगरमा रहेका छन्।

तर, सबैको राम्रो व्यवस्थापन हुन सकेको छैन। कतिपय सार्वजनिक शौचालयमा कोही गयो भने उल्टी गरेर फर्किने अवस्था रहेको छ।

दाताले दिएको घुम्ती शौचालयको दुर्दशा देखेका नगरवासीले नगरपालिकाको नेतृत्वको काम गराइले हालै सञ्चालनमा ल्याइएको नगर बसको हालत केही महिनामा घुम्ती शौचालयको जस्तो नहोला भन्न नसकिने आंकलन गर्न थालिसकेका छन्। उपमहानगरपालिकाले करोडांै खर्च गरेर सात वटा नगर सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्