कालीगण्डकीमा अझै शुरु भएन जल यातायात



नेपाल समाचारपत्र, पर्वत।कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षा याम सकिएपछि सुचारु हुन सकेको छैन। असोजको अन्तिम सातासम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज भनेर चिनिने स्टिमर सेवा शुरु हुन नसकेको हो।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अबरुद्ध छ। कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको बाँधका ढोका खोलिएका छन भने बहाब समेत घटेको छैन। बहाब नघटेसम्म ढोका बन्द नहुने भएकाले स्टिमर चलाउन कठिन हुन्छ।

लामो समयसम्म वर्षा भएका कारण बहान नघटेकाले स्टिमर सेवा सुचारु हुन नसकेको सेतीबेणीका व्यवसायी रवि भट्टराईले बताउनुभयो।‘बाँधको ढोका बन्द नहुँदा र बहाब नघट्दासम्म स्टिमर सुचारु हुन सक्दैन।’ उहाँले भन्नुभयो–‘कार्तिकको दोस्रो साता अघि सुचारु हुने सम्भावना देखिँदैन।’

जलाशयमा दैनिक रुपमा १३ वटा स्टिमर अहिले ठप्प बनेका छन्। ९ वटा स्टिमर राम्रोसंग चले पनि अरू स्टिमरलाई मर्मत गर्नुपर्ने अवस्था छ। स्टिमर सञ्चालन नहुँदा सबैभन्दा बढी समस्या सामान ढुवानीमा परेको छ भने यात्रुलाई पनि घुमाउरो बाटो भएर जीपमा यात्रा गर्नुपर्ने अवस्था छ।

अहिले स्याङ्जाको वालिङ र मिर्मीबाट समेत जीपमा सामान आयात गरिरहेको व्यवसायी भट्टराईले बताउनुभो। गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ।

विगत १८ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि त्यस क्षेत्रका धेरै गाउँका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। स्टिमर सेवा वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङजाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी त्यस्तै गुल्मी र स्याङजाका गरी २५ भन्दा बढी गाविसवासीलाई सहज रुपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए।

हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायी भरिया र खच्चडबाट समेत महँगो शुल्कमा सामान ढुवानी गर्न वाध्य बनेको गुनासो गरेका छन्। यहाँको एक मात्र भरपर्दो यातयात सेवाको रुपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार भएको छ।

वर्षायाममा असारदेखि असोज महिनासम्म पानीको बहाव बढी हुने भएकाले बन्द गरिने भए पनि ९ महिना निरन्तर रुपमा संचालन गरिँदै आएको छ। एउटा स्टिमरमा एक सयदेखि १ सय ५० जनासम्म यात्रु एकैपटक ओहोरदोहोर गर्न मिल्छ।

सेतीबेणीबाट जलयात्रा शुरु गरी मिर्मीमा पुगेर बसमार्फत यस क्षेत्रका बासिन्दा गन्तब्यमा पुग्दै आएका छन्। स्टिमरबाट यात्रा गर्नेमा बढीजसो आन्तरिक पर्यटकनै रहेका छन्।र्याफ्टिङजस्तै भएकाले बाह्य पर्यटकसमेत आउने गरेको वडा अध्यक्ष थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्