विक्रम ल्यान्डर टुटेफुटेको छैन ः इसरो

अन्तरिक्षमा हामीलाई एक बनाउँछ ः नामिरा



बेंगलुरु, (एजेन्सी)।चन्द्रमाको सतहमा अवतरण गराउन असफल भएको भारतको चन्द्रयान–२ को विक्रम ल्यान्डर पूर्वनिर्धारित स्थानको नजिकै रहेको इसरोका एक अधिकारीले बताएका छन्।

यसले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)मा केही खुसी छाएको बताइएको छ।

उक्त ल्यान्डर टुक्राटाक्री नभएर संग्लो अवरस्थामा चन्द्रमाको सतहमा केही ढल्केर अडेको अवस्थामा रहेको उनले बताए।

उनले सोमबार भने–’विक्रमले हार्ड ल्यान्डिग गरेको हो र अर्बिटरको क्यामराले जुन तस्वीर पठाएको छ, त्यसबाट त्यो निर्धारित स्थलबाट अत्यन्तै नजिक रहेको थाहा हुन्छ। विक्रम टुक्राटुक्रा भएको छैन र त्यसको पुरा हिस्सा सुरक्षित छ।

इसरोका पूर्वप्रमुख माधवन नायरले उक्त जानकारी पाएपछि विक्रससँग पुन सम्पर्क हुने अहिले पनि ६० देखि ७० प्रतिशत सम्भावना रहेको बताए।

वैज्ञानिक तथा डीआडीओका पूर्वप्रमुख निर्देशक बीएन झाले पनि इसरो केन्द्रको विक्रमसँग सम्पर्क हुन सक्ने बताए।

यद्यपि इसरोका एक अन्य अधिकारीले विक्रमको एक मात्र पुर्जा खराब भएको हो भने पनि सम्पर्क गर्न सम्भव नहुने बताए।

तर उनले पनि अहिलेसम्मको स्थितिलाई राम्रो भएको बताए। उनले भने–’जबसम्म विक्रमका एकएक पुर्जा सही हुने छैन, त्यससम्म ऊसँगको सम्पर्क अत्यन्त कठिन हुनेछ।

सम्भावना अत्यन्तै न्यून छ। यदि यसले सफ्ट ल्यान्डिग गरेको हो भने सही तरिकाले काम गरिरहेको हुन्थ्यो, त्यतिबेला मात्र सम्पर्क गर्न सकिन्थ्यो। अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन। यद्यपि अहिलेसम्मको स्थिति राम्रो हो।

यदि विक्रमको एन्टिना सही दिशामा फर्केको छ भने काम सजिलो हुने उनले बताए। उनले भने–’यदि एन्टिना ग्राउन्ड स्टेसन वा अर्बिटरतर्फ फर्कको छ भने काम सहज हुनेछ। यस प्रकारको अपरेसन अत्यन्त कठिन हुनेछ। तर राम्रो अपेक्षा गरिएको छ। हामी प्रार्थना गरिरहेका छौं।’

जियोस्टेसनरी अर्बिटमा हराएको एक स्पेसक्राफ्ट खोजेका संस्थासँग अनुभव रहको तर चन्द्रमामा त्यस प्रकारको काम गर्ने वातावरण नभएको उनले बताए।

विक्रमको उर्जा खपत भइरहेको तर त्यसमा सोलार प्यानल जडान गरिएकाले चिन्ता गर्नुनपर्ने उनले बताए।

सेप्टेम्बर ६–७ को राति विक्रम ल्यान्डर पूर्वनिर्धारित प्रक्रियाअनुसार चन्द्रमाको सतहतर्फ बढिरहेको तर अचानक उसको इसरोसँगको सम्पर्क टुटेको थियो।

त्यतिबेला चन्द्रमाको सतहबाट विक्रमको दुरी २ दशमलव १ किलोमिटर मात्र बाँकी थियो। इसरो विक्रमसँग पुन सम्पर्क गर्ने प्रयासमा लागिरहेको छ।

पाकिस्तानी महिला अन्तरिक्ष यात्रीको बधाई

चन्द्रयान–२ चन्द्रमा अवतरणमा भारतलाई असफलता हात परेकोमा पाकिस्तानका एक मन्त्री फवाद चौधरीले एक भद्दा टिप्पणी गरेपछि उनी देशभित्रै व्यापक आलोचित बनेका छन्।

यसबीच पाकिस्तानका पहिलो महिला अन्तरिक्ष यात्री नामिरा सलिमले चन्द्रयान– २ मिसनमा भारतीय अन्तरिक्ष तथा अनुसन्धान संगठन, इसरोलाई बधाई दिएकी छन्। नामिराले चन्द्रमामा ल्यान्डिङ गर्ने भारतीय एजेन्सीको ऐतिहासिक प्रयासको सराहना गरेको छ।

कराँचीबाट प्रकासित हुने विज्ञानसम्बन्धी पत्रिका साइन्टियामा छापिएको एक लेखमा नामिराले भनेकी छिन्–’म भारत र इसरोलार्ई चन्द्रमाको दक्षिणी ध्रुवमा विक्रम ल्यान्डरद्वारा सफ्ट ल्यान्डिङको ऐतिहासिक प्रयास गरिएकोमा बधाई दिन चाहन्छु।

चन्द्रयान –२ को चन्द्रमा मिसन वास्तवमा दक्षिण एसियाका लागि एक विशाल छलांग भएको र यसले यसक्षेत्रको मात्र नभई पुरै विश्वको यस उद्योगलाई गौरवान्वित गरेको उनले बताएकी छन्।

दक्षिण एसियाबाट अन्तरिक्ष क्षेत्रमा कुनै पनि देशले नेतृत्व गरेको भए पनि त्यसले क्षेत्रीय विकासको अर्थ दिने उनले बताए।

उनले भनिन्–’अन्तरिक्षमा हामीलाई एक गर्छ, पृथ्वीमा हामीलाई विभाजित गर्ने सबै राजनीतिक सिमाना त्यहाँ समाप्त हुन्छ।

नामिरा अन्तरिक्ष यान भर्जिन ग्यालेक्टिमा सवार भएर अन्तरिक्षमा जाने पहिलो पाकिस्तानीका रुपमा चिनिन्छन्।

नामिरा लगातार अन्तरिक्ष अभियानसँग आबद्ध भएर काम गरिरहेकी छिन् र उनी पाकिस्तानका महिलाका लागि सशक्तीकरणको एक अनुहार बनिसकेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्