चन्द्रयान–२ को विक्रम ल्यान्डर हार्ड ल्यान्डर भएको अनुमान

ल्यान्डर रहेको स्थानको तस्वीर प्राप्त



बेंगलुरु, (एजेन्सी)।भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का प्रमुख के.सिवनले आइतबार चन्द्रमामा विक्रम ल्यान्डरसँग सम्बन्धित तस्वीर इसरोलाई प्राप्त भएको पुष्टि गरेका छन्।इसरो लगातार विक्रम ल्यान्डरसँग सम्पर्क गर्ने प्रयासमा लागिरहेको उनले बताए।

४७ दिनको यात्रापछि शनिबार चन्द्रयान–२ को विक्रम ल्यान्डर चन्द्रमाको सतहबाट मात्र २ दशमलव १ किलोमिटर दूरीमा रहँदा उसको इसरोसँगको सम्पर्क टुटेको थियो।

आइतबार के.सिवनले भने– ‘इसरोलाई चन्द्रमाको सतहमा यसको तस्वीर प्राप्त भएको छ। चन्द्रमाको परिक्रमा गरिरहेको अर्बिटरले विक्रम ल्यान्डरको थर्मल इमेज लिएको छ।’

अर्विटरबाट प्राप्त तस्वीरलाई हेर्दा विक्रम ल्यान्डर चन्द्रमामा हार्ड ल्याडिङ भएको जस्तो देखिएको छ, इसरो प्रमुखले समाचार एजेन्सी पीटीआईले भने।

चन्द्रयान–२ को अर्बिटरमा राखिएको क्यामराले ल्यान्डरभित्र प्रज्ञान रोवर भएको पुष्टि गरेको इसरो प्रमुखले बताए। हार्ड ल्याडिङबाट विक्रमको मोड्युललाई नोक्सान पुगेको छ वा छैन भन्ने विषयमा अहिले नै केही भन्न नसकिने अवस्था रहेको उनले बताए।

अर्बिटरबाट लिइएको तस्वीरअनुसार उक्त चन्द्रयान निर्धारित स्थानबाट केही मिटर दूरी टाढा रहेको थाहा भएको छ। यद्यपि विक्रम ल्यान्डरसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। इसरोका वैज्ञानिक लगातार डाटा विश्लेषण गरिरहेका छन् र विक्रमसँग सम्पर्क गर्न लगातार प्रयासरत रहेको सिवनले बताए।

६९ सेकेन्ड बाँकी हुँदा सम्पर्क विच्छेद

शनिबार चन्द्रमामा ‘सफ्ट ल्याडिङ’ का क्रममा अन्तिम चरणमा पुग्दा विक्रम ल्यान्डर उसको सतहबाट मात्र २ दशमलव १ किलोमिटरमाथि दूरीमा थियो, त्यहीबेला सम्पर्क विच्छेद हुन पुगेको थियो। चन्द्र सतहमा अवतरण हुन मात्र ६९ सेकेन्ड बाँकी रहँदा ल्यान्डरसँगको सम्पर्क टुटेको हो।

विक्रम भारतीय समय राति साढे १ बजेदेखि साढे २ बजेको बीचमा सतहमा अवतरण हुने योजना थियो।
भारतीय अन्तरिक्ष्ँ वैज्ञानिकहरूको उपलब्धि हेर्न र उनीहरूलाई हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेंगलुरुस्थित इसरोको मुख्यालयमा पुगेका थिए।

प्रधानमन्त्री मोदीले वैज्ञानिकहरू बीचमा पुगेर उनीहरूलाई हौसला बढाउँदै भनेका थिए– ‘जीवनमा उत्तारचढाव आउने गर्छ। कम्युनिकेसन बन्द भएको मैले देखिरहेको छु। तर यो कुनै सानो उपलब्धि होइन। देशले तपार्इंहरूप्रति गर्व गरेको छ र तपाईंहरूको मेहनतले धेरै कुरा सिकाएको छ। मेरो तर्फबाट सबैलाई धेरै बधाई छ।

तपाईंहरूले अत्यन्तै उत्तम सेवा गर्नुभएको छ देशको, धेरै नै ठुलो सेवा गर्नु भएको छ विज्ञानको। अत्यन्त ठुलो सेवा गर्नुभएको छ मानव जातीको। यो स्तरबाट पनि हामीले धेरै कुरा सिकिरहेका छौं। भविष्यमा पनि हाम्रो यात्रा जारी रहनेछ र म पूर्ण रुपमा तपाईंहरूको साथमा छु।’

इसरोको चन्द्रयान–२ को ल्यान्डर विक्रम अवतरणका लागि चन्द्रमाको दक्षिणी ध्रुव चयन गरिएको थियो। सबै कुराले साथ दिइरहेको थियो तर सतहमा पुग्न केही समय बाँकी रहँदा ल्यान्डरसँगको सम्पर्क विच्छेद हुनपुग्यो।

चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै यान पठाउने भारत पहिलो देश हो। अहिलेसम्म चन्द्रमामा पुगेका धेरैजसो अभियान यसको भूमध्य रेखाको वरपर अवतरित भएका छन्।यदि भारतलाई यसमा सफलता हासिल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रामा कुनै अन्तरिक्ष यानलाई सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्थ्यो।

यदि भारतको प्रज्ञानको सेन्सरले चन्द्रमाको दक्षिणी ध्रुबीय इलाकाका विशाल खाल्डाहरूमा पानी रहेको प्रमाण खोज्न सकेको भए यो ठूलो उपलब्धि मानिन्थ्यो।

चन्द्रयान –२ को सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि ठूलो सहयोगी साबित हुन सक्थ्यो। नासा आफैं सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा एक मिसन पठाउने योजना बनाइरहेको थियो।

चन्द्रयान अर्बिटर अहिले पनि सक्रिय

विक्रम ल्यान्डर चन्द्रयान–२ बाट अलग भएको थियो। उक्त भू–उपग्रह अहिले पनि चन्द्रमाको सतहबाट १ सय १९ किलोमिटरदेखि १ सय २७ किलोमिटरको उचाइमा चन्द्रमाको परिक्रमा गरिरहेको छ।

उक्त अर्बिटरले १ वर्षसम्म काम गर्नेछ अर्थात ल्यान्डर रोवरको स्थिति अज्ञात रहे पनि यसको मिसन जारी रहनेछ।
२ हजार ३ सय ७९ किलो तौलको अर्बिटरमा रहेका ८ पेलोड उपग्रहले चन्द्रमाको सतहका नक्सा तयार गर्नेछ।

त्यहाँको खनिज, बरफको खोज गर्नेछ। ती ८ पेलोडले फरक–फरक काम गर्नेछ। यसले चन्द्रमाको हाइरिजोलुसन तस्वीर खिच्ने, पानीको खोजी गर्ने, चन्द्र सतहको नक्सा तयार गर्नेलगायतका विभिन्न अनुसन्धान गर्नेछ।

यो महात्वकांक्षी योजनाको साक्षी बन्नका लागि देशभरिका ६० छात्रछात्रा पनि इसरो सेन्टरमा उपस्थित रहेका थिए। उनीहरूको चयन क्विजबाट गरिएको थियो।

५२ प्रतिशत प्रयास असफल

चन्द्रमामा छुने पहिलो प्रयास १९५८ मा अमेरिका र सोभियत संघ रुसले गरेका थिए। अगस्टदेखि डिसेम्बर १९६८ बीच दुई देशले ४ पायनियर अर्बिटर (अमेरिका) र ३ लुना इम्प्याक्ट (सोभियत युनियन)ले पठाए, तर सबै असफल रहे।

अहिलेसम्म चन्द्रमामा विश्वका मात्र ६ देश वा एजेन्सीले स्याटलाइट पठाएका छन्। तर ५ लाई मात्र सफलता हात परेको छ। अहिलेसम्म यस प्रकारका ३८ प्रयास भइसकेका छन् भने त्यसमा ५२ प्रतिशत सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्