पर्वत पनि डेंगुको उच्च जोखिममा, कास्की, स्याङ्गजा र बागलुङ्गमा समेत बिरामी भेटिए



नेपाल समाचारपत्र, पर्वत ।
छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ ।

पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने पर्वत स्थायी ठेगाना भएका ११ जना बिरामीले उपचार गराईरहेका छन ।

पर्वतका छिमेकी जिल्लाहरु कास्की, स्याङ्गजा र बागलुङ्गमा समेत डेंगुका बिरामी भेटिएका छन । छिमेकी जिल्लामा भेटिएको र पर्वतमै दुई जना बिरामीमा संक्रमण भेटिएपछि पर्वतको कुस्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको कार्यालयले जनाएको छ ।

‘पर्वत पनि डेंगुको उच्च जोखिममा परेको छ’ कार्यालयका तथ्याँक अधिकृत प्रबिण भण्डारीले भन्नुभयो ‘जुनसुकै बेला पनि महामारीको रुपमा फैलन सक्ने भएकाले सर्तकता आवश्यक छ’ स्वास्थ्यकर्मी सहितको टोलीले कुस्मा बजारमा गरेको अनुगमनका क्रममा सडकमा लामो समय पानी जम्ने खाडलहरु, सवारी साधन मर्मत गर्ने ग्यारेजमा रहेका थोत्रा टायर तथा बिक्रीका लागि राखिएका पानीका ड्रमहरुमा लामखुट्टेका प्रशस्त लाभ्रा भेटिएका छन ।

यस्ता ठाउँमा सामुहिक रुपमा अभियान सञ्चालन गरेर सरसफाई गर्न आवश्यक भएको कुस्मा नगरपालिकाका सिनियर अहेब यामनाथ शर्माले जानकारी दिनुभयो । कतिपय सर्वसाधरणले पानी जमेका भाँडाहरु समेत सफा गर्न असहयोग गरेका कारण अझै जोखिम बढ्ने संभावना रहेको उहाँको भनाई छ ।

पर्वत जिल्ला अस्पतालमा बिहीबार देखि निशुल्क डेंगुको परिक्षण शुरु गरिएको छ । जिल्ला अस्पतालमा चौविसै घण्टा यसको परिक्षण गर्ने ब्यबस्था मिलाईएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । डेंगुको परिक्षणका लागि आवश्यक पर्ने किट ल्याएपछि बिहीवारदेखि सेवा शुरु गरिएको उहाँको भनाई छ ।

जिल्लामा नै रोगको जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा कुस्मा, वारीबेनी, डिमुवा, पैंयु र बिहादी तथा फलेबासमा समेत जोखिमयुक्त ठाउँ पहिचान गरि अनुगमन र जनचेतना जगाउने काम शुरु गरिएको छ । जोखिम रहेका ठाउँमा सरसफाई गर्ने, सञ्चार माध्यम मार्फत जनचेतना जगाउने र बिद्यार्थी तह सम्म पुगेर जनचेतना जगाउने कार्यक्रमहरु शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

विशेषगरी एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेपछि एक्कासी ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा टाउँकोको पछिल्लो भाग दुख्ने, शरिरमा विमिरा आउने, रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने जस्ता समस्या देखिने भएकाले तुरुन्त परिक्षण गर्न चिकित्सकले सल्लाह दिएका छन् । यो रोगको कुनै विशिष्ट उपचार नएपनि चिकित्सकको सल्लाह विना औषधी सेवन नगर्न जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटाले आग्रह गर्नुभएको छ ।

उहाँले विशेषगरी लामखुट्टेको टोकाईबाट बच्न आग्रह गर्नुभयो । राती भन्दा पनि दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट बच्न सकेमा यो रोगबाट बच्न सकिने डा देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्