व्यापार घाटा १३२१ अर्ब पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं। आर्थिक वर्ष २०७५/७६ मा कुल वस्तु व्यापार घाटा १३ दशमलव ५ प्रतिशतले बढेर १३२१ अर्ब ४३ करोड पुगेको छ। व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८ दशमलव १ प्रतिशत रहेको छ। गत वर्षमा निर्यात– आयात अनुपात ६ दशमलव ८ प्रतिशत छ। अघिल्लो वर्ष सो अनुपात ६ दशमलव ५ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७५/७६ मा कुल वस्तु आयात १३ दशमलव ९ प्रतिशतले बढेर १४१८ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २५ दशमलव ८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२ दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात २८ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८ दशमलव ९ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी पार्टपुर्जा, एमएस बिलेटलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दानालगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कुल वस्तु निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धि भई ९७ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ११ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ३४ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ शून्य दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनतर्फको निर्यातमा १३ दशमलव ५ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, पश्मिना, जुत्ता तथा चप्पल, छाला लगायतका वस्तुको निर्यात घटेको छ।

शोधनान्तर घाटा साढे ६७ अर्ब

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपियाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोडले बचतमा रहेको थियो। राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड रुपियाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रुपियाँ रहेको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रहेको थियो। आर्थिक वर्ष २०७५/७६ मा विस्तृत मुद्राप्रदाय १५ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १९ दशमलव ४ प्रतिशतले बढेको थियो।समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति ६७ अर्ब ४० करोड रुपियाँले घटेको छ।

अघिल्लो वर्ष उक्त सम्पत्ति ९६ करोड रुपियाँले बढेको थियो। गत आर्थिक वर्षमा सञ्चित मुद्रा भने १ दशमलव ५ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा कुल आन्तरिक कर्जा २०१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष उक्त कर्जा २६ दशमलव ५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १९ दशमलव १ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष यस्तो निक्षेप १९ दशमलव २ प्रतिशतले बढेको थियो। २०७६ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९ दशमलव ७ प्रतिशत, ३२ दशमलव ८ प्रतिशत र ४६ दशमलव ३ प्रतिशत रहेको राष्ट्रको तथ्यांकले देखाएको छ। २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव ३ प्रतिशत रहेको छ। २०७५ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २२ दशमलव ५ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १७ दशमलव ५ प्रतिशतले विकास बैंकहरूको कर्जा प्रवाह ३५ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीरुको कर्जा प्रवाह १७ दशमलव ९ प्रतिशतले बढेको छ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव ४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशमलव ५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव ७ प्रतिशत र १४ दशमलव ४ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा ४२ दशमलव ५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २० दशमलव ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २२ दशमलव २ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्