सवारी कर्जामा बैंकहरूको तीव्र प्रतिस्पर्धा



नेपाल समाचारपत्र, काठमाडौं। १४औं संस्करणको नाडा अटोशो समापन हुँदैछ। अटो शोमा १२ वटा बैंकले स्टल राखेका छन्। यसअघिका वर्षमा जस्तै यस वर्ष पनि अटो शोमा बैंक तथा बीमा कम्पनीले विशेष स्किमको घोषणा गरेका छन्। ती बैंकहरूले आ–आफ्नै तरिकाले विभिन्न स्किम ल्याएका छन्।

कसैले कम ब्याजदरमा सवारी साधन खरिदका लागि कर्जा दिईरहेका छन् भने कसैको ब्याजदर महँगो नै रहेको छ। जसमा कम ब्याजदर भएका बैंकहरूले कर्जा अवधि कम तोकेका छन् भने महँगो ब्याजदरमा कर्जा दिने बैंकहरूको कर्जा अवधि पनि धेरै दिने बताएका छन्। बैंकहरूले तोकेको सेवा शुल्क पनि समान छैन।

कुनै बैंकले शून्य दशमलव ५ प्रतिशत सेवा शुल्क लिएर कर्जा उपलब्ध गराउँदै छन् भने कुनै बैंकले १ दशमलव ५ प्रतिशत सेवा शुल्क लिने बताएका छन्।एभरेष्ट बैंक ः एभरेष्ट बैंकले ९ दशमलव ६६ प्रतिशतसम्मको कर्जा सवारी साधन खरिदका लागि उपलब्ध गराउने बताएको छ।

बैंकको यो स्किम ५ वर्ष अवधिका लागि कर्जा लिनेहरूलाई हो। ७ वर्षसम्मका लागि कर्जा लिँदा १० दशमलव १८ प्रतिशतसम्म ब्याजदर हुने बैंकको भनाइ छ। बैंकले सेवा शुल्क १ प्रतिशत लिने जनाएको छ।

स्टान्डर्ड चार्टर्ड बैंक : विदेशी लगानीमा रहेको यस बैंकले ९ दशमलव ३९ प्रतिशत ब्याजदरमा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने जनाएको छ। यसको कर्जा अवधि भने ६ वर्ष मात्र हुनेछ। यस बैंकले सेवा शुल्कवापत शून्य दशमलव ७५ प्रतिशत शुल्क लिने जनाएको छ।

बैंक अफ काठमाण्डू : यस बैंकले १० दशमलव ४ प्रतिशतमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ। उसले बेस रेटमा १ दशमलव ५ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने बताएको छ। बैंकको हाल ९ दशमलव ९ प्रतिशत बेस रेट छ भने प्रिमियम जोड्दा १० दशमलव ४ प्रतिशत हुन जान्छ। बेसरेट घटबढ हुँदा ब्याजदरमा पनि घटबढ हुनेछ।

ग्लोबल र जनता बैंक : मर्जरको प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने बताएका छन्। उक्त कर्जाको अवधि भने ७ वर्ष सम्मका लागि रहेको छ। दुवै बैंकको सेवा शुल्क एक प्रतिशत रहेको छ।

सिभिल बैंक : सिभिल बैंकले ११ दशमलव ११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ। यो कर्जा ७ वर्षदेखि १० वर्षसम्मको लागि हो।सिभिलबाट व्यक्तिगत सवारीसाधनमा ५० प्रतिशतसम्म कर्जा लिन पाइने छ भने कम्पनीका नामबाट सवारी साधन लिँदा ७५ प्रतिशतसम्म फाइनान्सको सुविधा पाइने बैंकले जानकारी दिएको छ।

एनआईसी एसिया बैंक : यस बैंकले ९ दशमलव ५ प्रतिशत ब्याजदरमा सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकले १ दशमलव ५ प्रतिशत सेवा शुल्क लिनेछ।

सानिमा बैंक :बाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकले १० दशमलव ४९ प्रतिशतको ब्याजदर स्किम ल्याएको छ। अरूबेला ११ प्रतिशतभन्दा माथि ब्याजदरमा लगानी गर्ने गरेको यो बैंकले अटो शोमा १० दशमलव ४९ प्रतिशतमा १० वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने भएको हो।बैंकका अनुसार सेवा शूल्क शून्य दशमलव ७५ प्रतिशत लाग्नेछ।

नबिल बैंक : नबिल बैंकले सवारी साधनका लागि १० दशमलव ५९ प्रतिशतमा कर्जा उपलब्ध गराउने जनाएको छ। तर, योे ब्याजदर इन्धनबाट चल्ने सवारी साधनका लागि मात्रै रहेको बैंकले बताएको छ। विद्युतीय सवारी साधनका लागि बैंकले ९ दशमलव ५९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने छ।

शून्य दशमलव ७५ प्रतिशत सेवा शूल्क लिने बताएको नबिलले ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउन सकिने जनाएको छ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले १० दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ। यस बैंकले बेस रेट परिवर्तन भए पनि ब्याजदर रकम परिवर्तन नगर्ने प्रतिबद्धता जनाएको छ।१० वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने यस बैंकले शूय दशमलव ५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। विद्युतीय सवारीका लागि भने १० दशमलव ५ प्रतिशतमै कर्जा उपलब्ध गराउने लक्ष्मी बैंकले जानकारी दिएको छ।

सेवा शुल्क शून्य दशमलव ५ प्रतिशत लिने जनाएको यस बैंकले इन्धनबाट चल्ने सवारीसाधनका लागि ९ वर्ष र विद्युतीय सवारी साधनमा ८ वर्षसम्मका लागि कर्जा लगानी गर्ने जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक : यस विकास बैंकले ११ दशमलव ६६ प्रतिशत ब्याजदरमा सवारी साधनका लागि कर्जा घोषणा गरेको छ। यस बैंकले इन्धनबाट चल्ने सवारी साधनका लागि ७ वर्षसम्म र विद्युतीय सवारी साधनका लागि ५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ। सेवा शुल्क भने यो बैंकले शून्य दशमलव ७५ प्रतिशत लिने छ।

विद्युतीय सवारी साधनमा आकर्षण

विद्युतीय सवारी साधनमा आकर्षण बढेसँगै बैंकले पनि विशेष स्किम यसका लागि छुट्याएका छन्। नविल, सिभिललगायतका बैंकहरूले ब्याजदर कम गर्नुका साथै कर्जा अवधि पनि इन्धनका सवारी साधनलाई भन्दा विद्युतीय सवारीलाई बढी दिएका छन्।

वातावरणीय प्रदूषणलाई कम गर्ने तथा नेपालका लागि सान्दर्भिक हुने विद्युतीय सवारी साधन अहिलेको आवश्यकता भएको उनीहरूको बुझाइ छ। ग्लोबल आइएमई, एनआईसी एसिया बैंकलगायतका बैंकले पनि विद्युतीय सवारी साधनलाई ‘फोकस’ गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्