नाडा अटो शो शुरू: विद्युतीय सवारी साधन एसेम्बलमा सरकारले सहयोग गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।सवारी साधनसम्बन्धी कुम्भ मेला ‘नाडा अटो शो–२०१९’ शुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलाको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभयो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शो भदौ १५ गतेसम्म चल्नेछ। सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवालगायतको सहभागिता रहेको सो मेला नाडाको १४औं संस्करण हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लक छन्।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे, १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाको सहभागिता छ।

गत वर्ष करिब ७५ हजार मानिसले मेलाको अवलोकन गरेको तथा अहिले पनि यति नै मानिसको सहभागिता रहने विश्वास लिएको नाडाका सचिव एवम् मेला व्यवस्थापनका प्रवक्ता अनुप बरालले बताउनुभयो।

उहाँका अनुसार, मेलाबाट ५ अर्बभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको छ। मंगलबार मेलाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सडक सुरक्षाका लागि सरकारले ‘भेहिकल फिटनेस सेन्टर’ स्थापनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ। उहाँले सरकारले प्राथमिकतासाथ देशैभर भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने जानकारी दिनुभयो।

सरकारले निजी सवारी साधनमा इलेक्ट्रिक र हाइब्रिड गाडीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न नीति बनाएर हाइब्रिडमा कर छुट दिएको भए पनि व्यापारीले त्यसको गलत तरिकाले फाइदा लिन खोजेको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि व्यक्त गर्नुभयो।

नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्न चाहनेले कम्तिमा २० प्रतिशतसम्म ‘भ्यालु एड’ गर्नुपर्ने र त्यस्ता उद्योगलाई २०÷२५ प्रतिशत कर छुट दिन सकिने भन्दै त्योभन्दा कममा उद्योग चलाउने कुरा गरेर केही फाइदा नहुने उहाँले बताउनुभयो।

अर्थमन्त्री खतिवडाले मुलुकमा लगातार आयातलाई सरकारले रोक्न लागेको बताउनुभयो। उहाँले भन्नुभयो–‘आयात बढ्नु भनेको रोगजस्तै हो, बढी आयात हुँदा रोग लाग्यो कि भन्ने डर लागेको छ, सरकार रोगको निदान गर्न लागि परेको छ।’

सवारी साधनको आयात कम गर्न देशभित्रै एसेम्बल प्लान्ट राखेर सवारी साधन उत्पादन गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो। विद्युतीय गाडी ल्याउने बहानामा व्यवयायीले ९० प्रतिशत इन्धन खर्च गर्ने गरेको बताउँदै अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी ल्याएको भनेर सरकारसँग छुट नमाग्न व्यवसायीलाई आग्रह गर्नुभयो।

उहाँले विद्युतीय सवारी साधन एसेम्बल गर्न सरकार आर्थिक सहयोग गर्न तयार रहेको बताउनुभयो। ‘विद्युतीय सवारी साधन एसेम्बल गर्ने हो भने कति प्रतिशत मूल्य अभिवृद्धि गर्ने हो भन्नुस् सरकार आर्थिक सहयोग गर्न तयार छ,’ उहाँले भन्नुभयो।

सार्वजनिक सवारी साधन विद्युतीय हुन आवश्यक रहेको अर्थमन्त्रीले बताउनुभयो। नेपालमा जनताले सक्कली सवारी सधन चलाउन पाउनुपर्ने भन्दै त्यसका लागि आयातकर्ताले सक्कली सामान आयात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्री खतिवडाले आफ्नो हैसियत हेरेर मात्रै सवारी साधन खरिद गर्न सुझाव दिनुभयो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालले एसेम्बलिङ प्लान्टमा सरकारले सहुलियत दिन सरकारसँग माग गर्नुभयो। राष्ट्र बैंकले अटो लोनमा ५० प्रतिशत ‘डाउन पेमेन्ट’ को व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउनुभयो।

सरकारले तत्काल भेहिकल फिटनेस सेन्टर स्थापना गर्न आवश्यक रहेको भन्दै यसमा ढिला नगर्न पनि उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा नाडाका पूर्वअध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अटो मोबाइल्स बढनु भनेको आर्थिक प्रगतिको सूचक भएको तर्क गर्नुभयो।

उहाँले भन्नुभयो–‘जुन देशमा आर्थिक क्रियाकलाप बढ्छन्, त्यहाँ अटो मोबाइलको खपत बढ्छ। राजस्वमा अटो मोबाइलको योगदान अहिले ४० प्रतिशत रहेको बताउँदै उहाँले आगामी दिनमा अटो मोबाइल फस्टाए राजस्व पनि बढ्ने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्