सिङ्गो गाउँ अन्धकारमा



बलेवा ।
बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ । आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनुभयो ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताउनुभयो । “तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ”, बुढामगरले भन्नुभयोे, “झण्डै चार महीना अन्धकारमा परिने भइयो ।” आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

विक बचाउन आग्रह

दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि सहयोगको खोजी गरिएको छ । बागलुङ नगरपालिका–४ का ५२ वर्षीय रेशमबहादुर विकको उपचारका लागि परिवारका सदस्य र विश्वकर्मा समाजले सहायोगको खोजी गरेको हो ।

विसं २०६७ मा आफ्नै दिदी सुनिताले दिएको एउटा मिर्गौलाको भरमा बाँच्नुभएका विकको फेरि काम नलाग्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो । अहिलेसम्म झण्डै रु एक करोड खर्चिनुभएका विकले पुनः अर्को प्रत्यारोपण गर्नुपर्ने भएपछि सहयोगको याचना गर्नुपरेको बताउनुभयो । कम्तीमा छ महीना औषधि खाएर रक्त समूह मिलाउन सकियो भने विकले आफ्नै श्रीमती चन्द्रकलीको मिर्गाैला प्रत्यारोपण गर्न सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

विश्वकर्मा समूहले अगुवाइ गरेर उहाँलाई सहयोग सङ्कलन थालिएको ओमबहादुर विश्वकर्माले बताउनुभयो । मिर्गौलापीडितलाई राज्यले रु साढे चार लाखसम्म अनुदान दिने व्यवस्था गरेको छ । उक्त अनुदानले काठमाडौँमा बस्दा खानलाउन पनि नपुग्ने विक बचाउ अभियानका कृष्ण विकले बताउनुभयो । अब कम्तीमा रु २५ लाख भएमा मात्र उहाँको मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ । उपचारको क्रममा विकले यसअघि दुई घडेरी बिक्री गर्नुभएको छ भने घर धितो राखेर लाखौँ रकम ऋण लिनुभएको छ । विकका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्