बोटे समुदायलाई एकीकृत बस्ती



नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरको मनहरी गाउँपालिका–७, रमौलीमा निर्माण गरिएको एकीकृत बोटे वस्तीलाई स्थानीय सरकारले होमस्टेका रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको पहलमा स्थापना भएको बोटे समुदायको एकीकृत बस्ती निर्माणपछि होमस्टेका रुपमा विकास गर्न लागिएको हो ।

आर्थिकरुपमा विपन्न सीमान्तकृत जातिका रुपमा सूचीकृत बोटेले नयाँ घर पाउँछु भन्ने कल्पनासमेत गरेका थिएनन् । उनीहरुले भने–नयाँ घर पाइन्छ होला भन्ने कल्पना गरेका थिएनौं । तर, सरकारले घर बनाइदियो । धेरै खुशी छौं ।
पहिला बोटे जातिका व्यक्तिहरु फरकफरक ठाउँमा बसोबास गर्दै आएका थिए । एकीकृत वस्तीका रुपमा विकास गर्ने लक्ष्यबमोजिम एकै ठाउँमा घर निर्माण गरिएको हो ।

रमौलीमा १४ घर बोटे समुदायका लागि १४ वटा घर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उनीहरुका लागि दश धुरका दरले जग्गा उपलब्ध गराएर घर निर्माण गर्न लागिएको हो । हालसम्म पाँच घर निर्माण भइसकेको र अन्य घर निर्माण भइरहेको उप्रेतीले बताउनुभयो ।

लोपोन्मुख जातिका रुपमा रहेका बोटे समुदायको मुख्य पेशा माछा मारेर खाने र बिक्री गर्ने हो । मनहरीलगायत खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएका बोटे समुदायलाई अब बस्न समस्या नहुने भएको छ ।
बोटे समुदायको एकीकृत वस्ती निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख र प्रदेश–३ सरकारले ५० लाख सहयोग गरेपछि काम सुरु गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । निर्माण गरिएको एकीकृत वस्तीमा प्रत्येक घरमा तीन वटा कोठा निर्माण गरिने छ । पानी, बिजुली, शौचालय, सडक आदि निर्माण हुनेछन् ।

२०६८ को जनगणनाअनुसार देशभर यो जातिको जनसंख्या १० हजार छ । बोटेहरु आफूलाई पानीसँगै खेल्न जन्मिएको ठान्छन् । पानीसँग नजिकको सम्बन्ध भएको, नदीकिनारमा बस्ने, फरक पहिचान, फरक भाषा भएको जनजातिका रुपमा यिनीहरु परिचित छन् ।

पानीमै संसार देख्ने र पानीमै रमाउने यो जाति विभिन्न कारण यतिबेला जीविकोपार्जनकै लागि नजानेका वा थाहा नपाएका पेशामा होमिन बाध्य छन् । कोही बालुवा संकलन गर्ने, कोही इँटाभट्टामा काम गर्ने गर्छन् । उनी भन्छन्–जातिको मुख्य पेशा संकटमा पर्न थालेपछि कतिपयले वैकल्पिक पेशा अपनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्