लक्ष्य भन्दा धेरै राजश्व,कार्यालयमै बैँक काउन्टर



मोतीराम तिमल्सिना, काभ्रे ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलले चालु वर्षको ११ महिना पुग्दा ७ महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ ।

जेठसम्मको लक्ष्यमा ११७ प्रतिशत धेरै राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख डम्वरु पराजूलीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका ३२ हजार करदाताबाट जेष्ठ २९ गतेसम्म १ अर्ब ८३ करोड राजश्व संकलन भएको छ । एक अर्ब ६६ करोड लक्ष्य रहेकोमा लक्ष्य भन्दा ११० प्रतिशत धेरै भएको पराजुलीले बताउनु भयो ।

जेष्ठ महिनामा ८० करोड ५९ लाख लक्ष्य रहेकोमा आयकर तर्फ ९४ करोड ७९ लाख राजश्व संकलन भएको छ । ब्याज कर बापत १२ करोड ५ लाख लक्ष्य रहेकोमा १३ करोड ६० लाख संकलन भएको छ । भ्याट तर्फ ५८ करोड ३६ लाख लक्ष्य रहेकोमा ४७ करोड ७९ लाख रुपैया संकलन भएको छ । अन्य शिर्षकमा भन्दा भ्याटमा लक्ष्य भन्दा केहि प्रतिशत कम राजश्व संकलन भएको पराजुलीले बताउनु भयो ।

अन्त शुल्क तर्फ १५ करोड ४९ लाख लक्ष्य रहेकोमा २२ करोड ९९ लाख रुपैया संकलन भएको छ । भक्तपुर जिल्लामा रहेको आन्तरिक राजश्व कार्यालय चालु आर्थिक वर्षको शुरुमै काभ्रेपलाञ्चोक आउने भनिए पनि मसिंर १ गतेबाट मात्रै कारोवार शुरु गरेको थियो ।

ठेक्काहरुको भुक्तानी समयमै नभएको तथा करोडसम्मका कामहरु उपभोक्ता समितिबाट हुन थालेपछि भ्याट बापतको रकम कम असुली भएको छ । कार्यालयमा घर बहाल बापत ३ करोड ७४ लाख संकलन भएको छ । घर बहालका धेरै शिषर्कका रकम चालु वर्षबाटै स्थानीय सरकारले असुल गर्नेछन् ।

स्वास्थ्य सेवा बापत १४ लाख, शिक्षा सेवा शुल्क बापत २५ लाख रुपैया संकलन भएको छ । चालु वर्षबाट यि शिर्षकमा राजश्व संकलन हुँदैन । चालु वर्षको असार मसान्तसम्म १ अरव ९९ करोड लक्ष्य रहेको थियो ।

आन्तरिक राजश्व कार्यालयमा ३२ हजार करदाताहरु आवद्ध भएका छन् । ति मध्ये ५ हजार भन्दा धेरै फर्म भ्याटमा दर्ता भएका छन् ।

कार्यालयमै बैँक काउन्टर

आन्तरिक राजश्व कार्यालयले ५० हजार भन्दा माथीको रकम बैकमा जम्मा गर्नु पर्ने ब्यवस्था गर्दै आएको थियो । उक्त ब्यवस्थाले करदाताहरुलाई दैनीक बैक र कार्यालय ओहोरदोहोर गर्न समस्या थियो ।

बैक र कार्यालयको दुरी टाढा भएको तथा सवारी साधनको पहुँच नभएकाले कठिनाई भएको करदाताहरुले बताएका थिए । चालु वर्षको असार पहिलो साताबाटै कृषि विकास बैकले काउन्टर शुरु गर्ने भने पनि प्राविधिक कारणवश असार १ गते शुभारम्भ हुन सकेन ।

‘बैकको काउन्टर सेवाका लागि कोठा समेत ब्यवस्था गरिएको छ, सम्भवत असार महिनाबाटै कारोवार शुरु हुन्छ’–प्रमुख डम्मरु पराजुलीले भन्नु भयो । बैक काउन्टर संचालनमा आउँदा करदाताहरुलाई सुविधा हुनेछ । बार्षिक दुई अरव रकम संकलन गर्ने कार्यालयमा काउन्टर नहुँदा सेवाग्रही मर्कामा थिए ।

आन्तरिक आय न्यून

विकटता भएको जिल्लाको डाँडापारी स्थित खानीखोला गाउँपालिकाको बार्षिक आम्दानी न्यून छ । खानीखोला र महाभारत गाउँपालिकाको आम्दानी र अभाव धेरै हुँदा विशेष अनुदानको माग हुँदै आए पनि बजेटले समेटन् सकेको छैन ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले विशेष योजना पेश गरेको अवस्थामा संघ सरकारले बजेट विनियोजन गर्ने प्रस्ताव गरेको छ । उर्जा, सडक, संचार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतमा पछाडी परेको डाँडापारी क्षेत्रको विकास र समृद्धका लागि पहल भए पनि त्यहाँ हुने सम्भावित उद्योगहरु स्थापना गर्न अवरोध सिर्जना भएको छ ।

खानीखोलामा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव परिक्षण हुँदा वडा अध्यक्ष सहितको टोलीले असहयोग गरेर फर्कायो । मिल्चेमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको सम्भाब्यता अध्ययनका लागि आएको टोली अवरोधका बीच फर्कन पुग्यो ।

गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको पहिलो आर्थिक वर्ष २०७४÷२०७५ मा १ लाख ६० हजार आम्दानी गरेको छ । चालु वर्ष २०७५÷२०७६ का लागि १० लाख लक्ष्य राखेकोमा लक्ष्य अनुसार राजश्व संकलन नहुने देखिएको छ । ग्रामिण भेगमा २२ वर्ष देखि जग्गाको कर नबुझाएको फेला परेको प्रवक्ता एवं वडा अध्यक्ष मानबहादुर गोलेले बताउनु भयो ।

प्रति रोपनी बार्षिक ३० रुपैया राजश्व तोकेको खानीखोलाको ताल्ढुंगामा प्रति आना २ लाख रुपैयामा जग्गा खरिद विक्री हुन्छ । ब्यवसाय दर्ता, जग्गाको मालपोत कर तथा विभिन्न शिर्षकबाट आम्दानी गर्न लक्ष्य राखेको गाउँपालिकामा विभिन्न जडिबुटीका उद्योगहरुको स्थापना तथा कफि, अलैची, दुधका परिकार उत्पादन गर्ने उद्योग स्थापनाका लागि वातावरण तयार हुँदै गएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्