एउटै घर दुई जिल्लामा, बाबु धनकुटा छोरा पाँचथर



गणेश साम्पाङ, पाँचथर
धनकुटाको पूर्वी भेगमा अवस्थित ६ नं बुधबारेका फिपराज थेगिम छोरा तुलसीसँगै एउटै घरमा बस्नहुन्छ। उहाँहरूको भान्सा पनि एउटै हो तर मतदाता नामावलीले भने बाबुछोरालाई फरक जिल्लाका बनाएको छ।

मतदाता नामावलीअनुसार बुबा फिपराज धनकुटाका हुनुहुन्छ भने छोरा पाँचथरको मतदाता। मतदाता परिचयपत्रमा मात्र होइन उहाँहरूको घरको लालपुर्जा पनि दुई जिल्लामा बाँढिएको छ।

थेगिम परिवार मात्रै होइन, धनकुटा र पाँचथरको सीमा क्षेत्रको ६ नं बुधबारेका अधिकांश स्थानीयको समस्या यस्तै छ।

स्थानीय अस्मिता राईले एक करोडभन्दा बढी रकम खर्च गरेर सो बजारमा पक्की घर बनाउनुभयो। चार आना जमिनमा बनेको घरको ३ आना पाँचथर र १ आना धनकुटामा छ। घर नक्सा पास गर्न आफूले दुवै जिल्ला धाएको उहाँ बताउँदै उहाँ भन्नुहुन्छ– ‘तपाईंको घर कुन जिल्लामा पर्छ?’ भनेर कसैले प्रश्न गर्यो भने २५ घरका स्थानीय प्रस्ट जवाफ दिन सक्दैनन्।

एउटा बजार दुई जिल्लामा परेका थुप्रै ठाउँ छन् तर एउटै छाना एउटै दिवाल भएका २५ घरको कागजात दुई जिल्लामा परेको उदाहरण भने अन्यत्र बिरलै होला। पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा र धनकुटाको चौबीस गाउँपालिका–१ को ६ नम्बर बुधबारे बजारको यो समस्या चार दशक पुरानो हो। ‘मेरो घर ३ आना जमिनमा छ, साढे एक आना पाँचथरमा पर्छ, साढे एक आना धनकुटामा पर्छ। एउटै घर एउटै छानो तर घरको स्रेस्ता भने दुई जिल्लामा छ, म कुन जिल्लाको भनेर चिनाऊँ।’ –स्थानीय व्यवसायी नेलकल माखिमले भन्नुभयो।

पञ्चायतकालदेखिको यस्तो समस्याले सरकारी सेवासुविधा लिन अप्ठ्यारो परिरहेको र जिल्लाको आधिकारिक तथ्याङ्कमा समेत असर पर्ने मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका वडाध्यक्ष रामेश्वर वाजीले बताउनुभयो।

‘हाम्रो बजार पनि अन्य बजार जस्तै एउटै जिल्लामा भै दिएको भए हामीले सास्ति खेप्नु पर्दैनथ्यो भनेर दुवै जिल्लाको ध्यानकर्षण गराइरहेका छौ’–उहाँले भन्नुभयो।

समस्या समाधानका लागि स्थानीय मेघराज घिमिरे संयोजक रहनु भएको संर्घष समिति समेत गठन भएको छ। सो क्षेत्र पाँचथर र धनकुटा दुवै सदरमुकामबाट टाढा भएकाले धनकुटा, पाँचथर र मोरङको समेत केही भाग समेटेर समितिले छुट्टै जिल्ला गठन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउने बताएको छ। सिमा समस्याका कारण स्थानीयले ब्यहोर्नु परेको सास्तिको बिषयमा संघ र प्रदेशको ध्यानकर्षण गराइने चौबिस गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो।

समस्याबारे ध्यानाकर्षण गराउँदा जिल्ला मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोखरेलले भन्नुभयो–‘२०३० सालमा भएको नापीमा त्यहाँ समस्या सिर्जना भएको हुन सक्न, त्यहाँको समस्या सम्बोधन गर्न बैज्ञानिक नापी जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्