त्रिशूली–मातातीर्थ प्रसारणलाइन ८ वर्षपछि शुरु



राजेन्द्र गजुरेल, नुवाकोट
नुवाकोट र रसुवा जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित बिजुलीलाई केन्द्रीय प्रसारणलाइनस“ग जोड्ने योजनासहित निर्माण गरिएको त्रिशूली–मातातीर्थ प्रसारणलाइनको परीक्षण प्रसारण थालनी भएको छ ।

किस्पाङ गाउ“पालिका पैरेवेंशीस्थित त्रिशूली थ्री ‘बी’ हबदेखि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मातातीर्थ सबस्टेसनसम्म जोड्ने २ सय २० केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएस“गै परिक्षण प्रसारण हुरु गरिएको हो ।

मुख्यतया नुवाकोट र रसुवाको सिमानामा निर्माण भई यसै महिनादेखि विद्युत् उत्पादन थालनी गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको बिजुली प्रशारणको लागि यो योजना निर्माण गरिएको थियो । तर, प्रसारणलाइन निर्माण सम्पन्न भएस“गै रसुवा र नुवाकोटमा केही समयभित्रै निर्माण सम्पन्न हुन लागेका निर्माण हुने ठूला साना गरी १५ भन्दा धेरै जलविद्युत् आयोजनाको विद्युत् जोड्न सजिलो हुने भएको छ ।

पैरेवेंशी हवदेखि साविक तुप्चे हु“दै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइनमा परीक्षण प्रसारण शुरु गरिएकोे नेपाल विद्युत् प्राधिकरण माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । यो जलविद्युत आयोजना चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।

प्रमुख जोशीका अनुसार प्रसारणलाइनमा अहिले एक टावरबाट अर्को टावरमा विभिन्न प्रकारका परीक्षण गर्ने काम भइरहेको छ । ‘परीक्षणको काम सकिएपछि विद्युत् प्रसारण गरिनेछ’, उहा“ले भन्नुभयो । प्रसारणलाइनका लागि त्रिशूली थ्री ‘बी’ हबदेखि मातातीर्थ सबस्टेसनसम्म १ सय ४२ वटा टावर निर्माण गरिएको छ । डबल सर्किट रहेको ४५ किमि लामो प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।

२०६८ सालबाट निर्माण शुरु भएको प्रसारण लाइनको लागत २२ दशमलव ५ मिलियन अमेरिकी डलर रहेको प्रसारण लाइनको १ दशमलव ५ किमि भने भूमिगत रहेको छ । हाल रसुवा जिल्लामा १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको साञ्जेन, १४ मेगावाटको माथिल्लो साञ्जेन, २१६ मेगावाटको माथिल्लो त्रिशूली १, नुवाकोटमा निर्माणधिन त्रिशूली ३ बी, १९ मेगावाटको मध्य त्रिशूली गंगालगायतका थुप्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वितरणमा यो प्रसारणलाइन उपयोगी हुनेछ ।

आयोजना प्रमुख जोशीका अनुसार आयोजनाको पहिलो युनिट नो लोडको परीक्षण शुरु गरिएको छ । ‘विद्युत् गृहमा पानी खसालेर लोड नदिई परीक्षण शुरु गरिएको र अहिले ६० मेगावाटको आयोजनाको दुई युनिटमा परीक्षण हुनेछ । दुई सातापछि दोस्रो युनिटको नो लोड परीक्षण शुरु हुनेछ ।’

प्रसारणलाइनको परीक्षण हुने भएकाले प्रसारणलाइनको टावर वरपरको दा“याबा“या १५÷१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले बताएको छ । तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

भूकम्प, भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपत्ती परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्