बिस्केट जात्रा अन्तर्गत ५५ हात लामो लिङ्गो उभ्याईंयो



पुष्कर बुढाथोकी, भक्तपुर
नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन शनिबार ५५ हात लामो लिङ्गो उभ्याईंएको छ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा साँझ लिङ्गो उभ्याइएको हो ।

हजारौं जात्रालुको सहभागीतामा साँझ ४ बजे उठाउन सुरु गरिएको लिङ्गो २ घण्टाको पहल पछि उभ्याईएको हो । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी भएका थिए ।
लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याएका छन् । यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ ।

लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।

यसअघि बिस्केटजात्राको अवसरमा प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको कुमाले टोलमा हात नभएको लिङ्गो उठाउने प्रचन अनुसार बिहान विधिपूर्वक पूजा गरी हात नभएको लिङ्गो उठाइयो । सो लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ हातसहितको नागनागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ ।

भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा र जिब्रो छेड्ने जात्रा हेर्नाले सुख, समृद्घि बढ्ने सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भत्रे धार्मिक मान्यता रहेकाले सो जात्रालाई शत्रुहन्ता जात्रा पनि भत्रे गरिन्छ । बिस्केटको पाँचौँ दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ । त्यसको लगतै खँला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यः ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख आकर्षण मानिन्छ ।

बिस्केट जात्रा मनाउने क्रममा हालसम्म ठूलो दुर्घटना नभए पनि जात्राको पहिलो दिन ४ जना र शनिबार २ जना गरी ६ जना सामान्य घाईते भएका छन् ।

यता थिमिको बोडेस्थित महालक्ष्मी मन्दिरमा पनि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । सो मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ । बोडेमा नै कुमारीको रथ लही टोलमा पु¥याइएको छ भने जिब्रो छेड्ने स्थानीय ४७ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले व्रत प्रारम्भ गरेका छन् । उनले वैशाख २ गते जिब्रो छेड्ने छन् । व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न र छुन नहुने, कुखुरा, बिरालो लगायतका पशुपक्षीलाई छुन नहुने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्