शुक्लाफाँटामा ६० पोखरी निर्माण गरिँदै



मनोज भट्ट, महेन्द्रनगर
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल शुक्लाफांँटा राष्ट्रिय निकुञ्जमा ५ दर्जन कृत्रिम पोखरी निर्माण गरिन लागेको छ । गर्मियाममा निकुञ्जभित्र रहेका बन्यजन्तुको प्यास मेटाउन निकुञ्जको विभिन्न ठाउँमा ६० कृत्रिम पोखरी निर्माण गर्न लागिएको हो ।

सुक्खायाममा वन्यजन्तुका लागि खानेपानीको अभाव हुन नदिन निकुञ्जका विभिन्न ठाउँमा पोखरीहरू निर्माण गरिन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
‘वैशाख÷जेठमा निकुञ्जका प्राकृतिक तालहरूमा पानी कम भएर वन्यजन्तुलाई निकै समस्या हुने गर्छ । स–साना तालमा पानी सुकेको हुन्छ । त्यहि अवस्थालाई मध्यनजर गरि कृत्रिम पोखरी निर्माण गरिन लागेको हो।’ उहाँले भन्नुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार हाल निकुञ्जको शुक्लाफांँटा घांसे मैदान, सिंहपुर, राधापुर फांँटा, साल वन क्षेत्र र बर्कौलामा पोखरीहरू निर्माण भईरहेको तथा निर्माण हुने ५ दर्जन पोखरीमध्ये अधिकांश पोखरी निर्माण भइसकेको र केहिको काम अन्तिम चरणमा छ ।
पोखरी निर्माणपछि पानीको स्रोतका लागि सोलार पम्प वा बोरिंग जडान गर्ने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो । शुक्लाफाँंटामा रानी ताल, कालीकीच ताल, बाबा ताल र तारातालसंँगै बाउन्ने खोला वन्यजन्तुका लागि पानीका प्रमुख स्रोत हुन । सुक्खायाममा लामो दुरीसम्म पनि पानी नपाइने भएकाले विभिन्न ठाउँंमा पोखरीहरू निर्माण गरिन लागेको हो । उक्त कार्यका लागि प्रतिपोखरी २ लाखका दरले करिब १ करोड २० लाख खर्च हुनेछ ।

शुक्लाफांँटामा यसअघि पनि घांँसे मैदान लगायत विभिन्न ठाउंँमा करिब दुई दर्जन पोखरीहरू निर्माण गरिएका छन । उक्त पोखरीमा पानीको स्रोतका लागि सोलार वाटर पम्प र बोरिंग जडान गरिएको छ । सोलार वाटर पम्पबाट पोखरीमा दिनभरि पानी भरिने र राती आफै बन्द हुने व्यबस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्