ब्रेक्जिट सम्झौता विवाद: संसद्मा फेरि मतदान हुँदै, राजीनामा दिने मेको प्रतिबद्धता प्रभावहीन



लन्डन, (एजेन्सी)
बेलायतका सांसदले युरोपेली संघबाट बाहिरने ब्रेक्जिट मुद्दामा शुक्रबार पुनः एकपटक मतदान गर्दैछन्। यद्यपि यो मतदान युरोपेली संघसँग भएको सम्झौताको केही अंशलाई लिएर हुने बताइएको छ।
बेलायतका सांसदले आयरल्यान्ड सीमामा भएको सम्झौता अर्थात आइरिस ब्याकस्टप, ‘सम्बन्ध विच्छेद’ भनिएको युरोपेली संघ र बेलायत अलग हुने विषयमा पैसाको लेनदेन र नागरिक अधिकारको मुद्दामा मतदान गर्ने बताइएको छ।

यसमा युरोपेली संघसँगको बेलायतको भविष्यका विषयमा मतदान हुनेछैन। बेलायतको हाउस अफ कमन्सकी नेता एन्ड्रिया लिडमसले यो मतदान अत्यन्त महत्वपूर्ण भएको बताएकी छिन्।

उनले भनिन्– ‘सभामुखज्यू, सरकारका तर्फबाट आज अपरान्ह जुन प्रस्ताव प्रस्तुत हुनेछ, त्यसलाई तपाईंको आदेशअुनसार तयार गरिएको छ। योसँगै युरोपेली संघ अनुच्छेद ५० को तिथि अगाडि सार्दै मे २२ गर्न पनि सहमत हुनेछ। जब हामी मार्च २९ राति ११ बजे अगाडि युरोपेली संघसँग भएको सम्झौता पारित गर्नेछौं।’ यस अवस्थामा हामीलाई यस मुद्दामा आवश्यक मतदान गराउन जरुरी छ। सन् २०१७ मार्च २९ मा बेलायत सरकारले आर्टिकल ५० लागू गरेको थियो, जसअन्तर्गत ठिक २ वर्षपछि ब्रेक्जिट लागू हुने छ। यसैबीच कयौं बेलायती सांसद युरोपेली संघसँग भएको सम्झौतामा आफ्नो असन्तुष्टी जनाइसकेका छन्। लेबर पार्टी र डेमोक्र््याटिक युनियनिस्ट पार्टीले उनीहरू यस सम्झौताको विरोधमा मतदान गर्ने बताएका छन्।

सदनमा नर्थ आयरल्यान्डका छाया सचिव टोनी लायडले यस मतदानको समर्थन नगर्ने बताएका छन्। उनले भने– ‘गत वर्ष डिसेम्बरमा जुन सम्झौता भए त्यो बिनासोचविचार लिइएको फैसला थियो। योबाहेक विगत केही हप्तामा जे जति घटना भए, त्यसको खराब परिणाम आउने समयमा देख्न पाउनेछ।’

यसबीच बेलायतका प्रधानमन्त्री टेरिजा मेले मतदानलाई दुई भागमा विभाजन गरी बुझ्न आफ्ना सांसदहरूलाई अपिल गरेकी छिन्। मतदानको पहिलो भागमा बेलायत युरोपेली संघबाट अलग हुनुको महत्वलाई हेरिनुपर्ने र आगामी हप्तामा जुन मतदान हुनेछ ।त्यसमा भविष्यका बारेमा सोच्नुपर्ने उनले बताइन्। पद छोड्ने आफ्नो प्रतिबद्धताको उत्तरी आयरल्यान्डका सांसदहरूमाथि प्रभाव परेको नदेखेपछि टेरिजा मे अब युरोपेली युनियनबाट बाहिरिने सहमति बचाउनका लागि अन्तिम प्रयासमा जुटेकी छिन्। बुधबार राति मेले उनको सहमति मस्यौदा स्वीकृत भएमा आफूले पदबाट राजीनामा दिन बताएकी थिइन्। यसले सांसदमा रहेको विरोधमा कमी आउने उनले अपेक्षा गरेकी थिइन्।

यसबीच पूर्वविदेशमन्त्री बोरिस जोनसनसहित केही विरोधीहरूले तत्काल उनीहरू मेको सम्झौता मस्यौदाको समर्थन गर्ने बताएका थिए। यद्यपि सदनमा मतदानका क्रममा युरोपेली संघसँग भएको सम्झौतामा सांसद एकमत हुन सक्छ वा सक्दैन भन्ने प्रष्ट भइसकेको छैन। उत्तरी आयरल्यान्डका सांसदहरू समर्थन गर्ने पक्षमा देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्