महिलालाई पुरुषको नजरबाट बचाउनका लागि ‘ब्रेस्ट आइरनिङ्ग’



‘ब्रेस्ट आइरनिङ्ग’ अर्थात् छातीलाई अत्यधिक तातो वस्तुले दबाउनु ।

यो परम्परा अनुसार किशोरीको छाती नबढोस् भन्नका लागि कुनै तातो वस्तुले दबाइन्छ । पुरुषको ध्यान महिलाप्रति नपरोस् भन्नका लागि यस्तो गरिन्छ ।

यो परम्परा मूल रुपमा पश्चिमी अफ्रिकामा सुरु भयो तर अब यो ब्रिटेनसमेत केही अन्य युरोपेली देशसम्म पुगिसकेको छ ।

यसै कारण ब्रिटेनको नेशनल एजुकेशन युनियनले ब्रेस्ट आइरनिङ्गबारे जागरुकता फैलाउनका लागि यसलाई स्कूलको पाठ्यक्रममा समावेश गर्नुपर्ने माग गरेको छ ।

‘रुन दिइएन’

किनाया (नाम परिवर्तित) ब्रिटेनमा बस्छिन् । उनको परिवार पश्चिमी अफ्रिकाबाट आएका हुन् । ब्रेस्ट आइरनिङ्गको सुरुवात पनि यही  इलाकाबाट भएको थियो ।

जब उनी १० वर्षकी थिइन् तब उनले पनि यो प्रक्रियाबाट गुज्रनु परेको थियो ।

उनका अनुसार उनकी आमाले त्यतिबेला भनेकी थिइन्, ‘यदि मैले यस्तो नगरे पुरुषहरु तिमीसँग सेक्स गर्न आउन थाल्नेछन् ।’

धेरैजसो मामलामा आमाले नै आफ्ना छोरीहरुको ब्रेस्ट आइरनिङ्ग गर्छन् ।

यसका लागि एउटा ढुङ्गा वा चम्चालाई आगोमा मज्जाले तताइन्छ र त्यसपछि किशोरीहरुको छातीलाई यसले दबाइन्छ । यसो गर्दा उनीहरुको छाती उठ्दैन ।

यो एक पटकमा सिद्धिने प्रक्रिया होइन । यस्तो पटक पटक गरिन्छ जुन महिनादिनसम्म पनि लम्बिने गर्छ ।

किनाया भन्छिन्, ‘यो यस्तो पीडा हो, जुन समयसँगै कम हुँदैन । यसो गर्दा रुनसमेत दिइँदैन । यदि यो क्रममा रोए, तपाईंले आफ्नो परिवारलाई लज्जित बनाइराख्नुभएको छ, तपाईंलाई साहसी छोरी भनिँदैन ।’

किनायाको अब विवाह भइसकेको छ र उनका दुई छोरी छन् । जब उनकी जेठी छोरी १० वर्षकी भइन् तब उनकी आमाले ब्रेस्ट आइरनिङ्गको सुझाव दिइन् ।

उनी भन्छिन्, ‘मैले आमालाई मेरा कुनै पनि छोरीले यस्तो दर्दनाक प्रक्रियाबाट गुज्रनुपर्ने छैन भनेँ । किनभने मलाई त्यो पीडा अहिलेसम्म पनि याद छ । यो म कहिले पनि बिर्सन सक्दिनँ ।’

अब उनी आफ्नो परिवारबाट अलग बस्छिन् । उनलाई छोरीहरुको मर्जीबिना पनि यो परम्परा अपनाउन बाध्य बनाउने हो कि भन्ने डर छ त्यसकारण उनी सबैबाट अलग्गिएकी छिन् ।

एक अनुमान अनुसार ब्रिटेनमा पनि करिब एक हजार युवतीले यो प्रक्रियाबाट गुज्रनु परेको छ ।

एकातर्फ फिमेल जेनिटल म्युटिलेशन अर्थात् एफजीएम (महिला खतना) को विरुद्ध जागरुकता बढिरहेको अवस्थामा ब्रेस्ट आइरनिङ्गबारे निकै कमलाई जानकारी होला भन्ने डर छ ।

किनाया आफ्नी छोरीसँग

एक महिलाले बीबीसीको कार्यक्रममा आफ्ना सहपाठीहरुको शरिर आफ्नो भन्दा फरक भएको थाहा पाएपछि ब्रेस्ट आइरनिङ्ग सामान्य नभएको बारे महसुस गरेको बताइन् ।

शारिरिक शिक्षा पढाईका बेला यसबारे थाहा पाउँदा उनलाई डिप्रेशन नै भएको उनले बताइन् ।

जब उनी आठ वर्षकी थिइन्, त्यतिबेलादेखि उनकी दिदीले उनको ब्रेस्ट आइरन गरिरहेकी थिइन्, उनलाई शारिरिक शिक्षाको पढाईमा रुची लागेन । तर उनका शिक्षकलाई यसबारे थाहा हुन सकेन ।

उनी भन्छिन्, ‘यदि मेरो शारिरिक शिक्षाकी शिक्षिकालाई यसबारे थाहा भएको भए मैले त्यतिबेला मद्दत पाउन सक्थेँ ।’

नेशनल एजुकेशन युनियनकी सह–अध्यक्ष किरि टुङ्क्सले अब स्कूलका कर्मचारी विशेषगरी शारिरिक शिक्षा अध्यापकलाई यसबारे प्रशिक्षित गर्न आह्वान गरेकी छिन् ।

उनी यो विषयलाई स्कूलको शिक्षामा समावेश गर्न चाहन्छिन् ।

सन् २०२० पछि एफजीएमलाई पाठ्यक्रममा समावेश गरिनेछ । माध्यमिक स्कूलमा सेक्स शिक्षाको पढाईमा यो विषयलाई पनि अनिवार्य रुपमा पढाइनेछ ।

उनका अनुसार ब्रेस्ट आइरनिङ्गजस्ता मुद्दाको सामना गर्नुपर्छ । यसको समाधान खोज्नुपर्छ र यस्तो परम्परा रोक्नुपर्छ ।

शोषणको नयाँ तरिकाबारे जतिजति पत्ता लाग्छ, स्कूली पाठ्यक्रमलाई त्यसै अनुसार परिमार्जन गर्नुपर्ने उनी बताउँछिन् ।

सिमोन नामकी एक महिलाले भिक्टोरिया डर्बिशायर कार्यक्रममा १३ वर्षको उमेरमा आफ्नो ब्रेस्ट आइरनिङ्ग भएको बताइन् । यतिबेला उनकी आमालाई उनी समलिङ्गी भएको थाहा भएको थियो ।

उनले भनिन्, ‘म आफ्नो स्तनका कारण आकर्षक देखिन्थेँ र यदि उनले मेरो स्तनलाई दबाइदिन्छिन् भने सायद म भद्दा देखिन्थे र मप्रति कोही पनि आकर्षित हुँदैनथे ।’

सिमोनले थुप्रै महिनासम्म उनको स्तनलाई आइरन गरिएको बताइन् ।

अन्य थुप्रै किशोरीलाई झैं उनलाई पनि बेस्सरी कस्सिएको पट्टि छातीमा बाँध्न बाध्य बनाइयो । यसो गरेर स्तनको वृद्धिलाई रोकिन्थ्यो ।

यसै कारण उनी राम्रोसँग साससमेत फेर्न पाउँदैन थिइन् ।

केही वर्षपछि उनको जबर्जस्ती विवाह गराइयो र उनले बच्चा जन्माइन् । त्यतिबेला उनलाई थाहा भयो कि उनको कति क्षती भइसकेको छ । ‘दुध खुवाउने बेला यस्तो लाग्थ्यो कि भित्र कुनै गाँठो छ । यस्तो लाग्थ्यो कि केही नसा बर्बाद भइसकेका छन् ।’

एन्जी मेरियट

लुकेको अपराधः

ब्रेस्ट आइरनिङ्ग कानूनको भाषामा कुनै अपराध होइन तर बेलायती गृह मन्त्रालय यसलाई बच्चाको शोषणको श्रेणीमा राख्छ  र यस्तो मामलामा सामान्य कानून अनुसार मुद्दा चलाउन सकिन्छ ।

ब्रिटिश पुलिससँग सुरक्षा लेक्चररको रुपमा काम गर्ने स्त्रीरोग सम्बन्धि पूर्व नर्स एन्जी मेरियट भन्छिन्, ‘ब्रिटेनको यो परम्पराबारे सटिक जानकारी छैन किनभने धेरैजसो मामला पुलिससम्म पुग्दै पुग्दैन ।’

उनी यसलाई संवेदनशील र लुकेको अपराध बताउँछिन् किनभने महिलाहरु यसलाई सामाजिक दबाबका कारण लुकाउन बाध्य छन् । यदि यसबारे मुख खोले समाजले उनलाई बहिष्कार गर्छन् भनेर उनीहरु डराउँछन् ।

उनी भन्छिन्, ‘मलाई थाहा छ कि यस्तो भइरहेको छ किनभने थुप्रै पीडितले मलाई यसबारे बताएका छन् । आफूले पहिलो पटक यसबारे जानकारी दिइरहेको उनीहरु बताउने गर्छन् । आफूलाई यसबारे कुरा गर्न लाज लाग्ने गरेको पनि उनीहरु बताउँछन् ।’

सिमोनको शरिरमा अहिले पनि यो शोषणको निशाना छ र अरु कसैले पनि यो अवस्थाबाट गुज्रिन नपरोस् भन्ने उनको चाहना छ । उनी यो अपराधबारे जागरुकता फैलाइरहेकी छिन् ।

उनी भन्छिन्, ‘यो एक प्रकारको शोषण हो । यो निकै पीडादायी हुन्छ । यसले तपाईंलाई अमानवीय बनाउँछ । यस्तो लाग्छ कि तपाईं मानिस नै होइन ।’

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्