पाकिस्तानी पूर्वप्रम सरिफलाई जमानत



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई मंगलबार स्वास्थ उपचारका लागि ६ महिना लामो जमानत प्रदान गरिएको छ। गतवर्ष उनलाई आफूसँग भएको सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा ७ वर्ष लामो कैद सजाय तोकिएको थियो। आफूले कुनै गलत काम नगरेको अडान लिँदै उनले अदालतको सो आदेशविरुद्ध अपिल गरेका थिए।

६९ वर्षीय सरिफको मुटु तथा मृगौलासम्बन्धी समस्या रहेको बताइएको छ। पाकिस्तानको सर्वोच्च अदालतले उनले देश छोडेर बाहिर जान नपाउने र जमानतको अन्तिम म्याद सकिनासाथ कारगार निकायसमक्ष हाजिर हुनपर्ने जनाएको छ।

सरिफका वकिलहरूले उनलाई तत्काल स्वास्थ उपचारको जरुरत रहेको र सो सुविधा कारगारमा उपलब्ध गराइन नसक्ने बताएका थिए। प्रधानन्यायाधीश आसिफ सइद खोसाले यदि उनले कारगारसमक्ष आत्मसमर्पण नगरेको खण्डमा उनलाई गिरफ्तार गरिने जानकारी दिएका छन्।
गत महिना उच्च अदालतले उनको स्वास्थ समस्यालाई लिएर पेस गरिएको प्रतिवेदनअनुसार उनको समस्या ज्यानै लिने खालको नभएको भन्दै उनको जमानत अपिल अस्वीकार गरिएको थियो। सन् १९९० देखि १९९३ सम्म तथा सन् १९९७ मा पुनः सरिफ प्रधानमन्त्री भएका थिए।
उनलाई सन् १९९९ मा जनरल परेवेज मुसरफको नेतृत्वमा भएको रक्तपातरहित सैनिक विद्रोहमा अपदस्थ गरिएको थियो। त्यसपछि पुनः सन् २०१३ मा उनी प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। तर, उनी भ्रष्टाचारको अभियोगमा मुछिन पुगे। सोही अभियोगमा उनलाई सन् २०१७ को जुलाईमा सर्वोच्च अदालतले प्रधानमन्त्री पद छाड्न आदेश दिएको थियो।

त्यसपछि उनीविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेकोमा दुईवटा छुट्टाछुट्टै अभियोग लगाइएको थियो। सरिफले ती अभियोग पनि अस्वीकार गर्दै आफूमाथि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो गरेका थिए। पहिलो मुद्दा बेलायतको राजधानी लन्डनमा रहेको उनको सम्पत्तिका बारेमा थियो।

सन् २०१८ को जुलाईमा उनलाई अभियुक्त ठहर गरिए पनि सेप्टेम्बरमा जमानत प्रदान गरिएको थियो। उनको अपिलमाथि अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि उनलाई सुनाइएको १० वर्ष लामो कैद सजाय निलम्बन गरिएको थियो। तर, सोही वर्षको डिसेम्बरमा अर्को भ्रष्टाचार मुद्दामा उनलाई ७ वर्ष कैद र २ करोड ५० लाख अमेरिकी डलर जरिवाना सुनाइएको थियो। इलामावादस्थित भ्रष्टाचारविरुद्धको अदालतले उनी साउदी अरेबियास्थित अल अजिजिया स्टिल कारखानामा गरिएको लगानीको स्रोत खुलाउन असफल भएको जनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्