दोब्बर स्रोतले हटायो पानीको समस्या



हेटौंडा,(नेस) ।

२१ सौं शताव्दीसम्म आइपुग्दा पनि शुद्ध पिउने पानीको समान बितरण देशका ठुला नगरमा ठुलै चुनौती बनेको छ । संसारमा जलस्रोतको धनी देश भनेर नाम कहलिएको नेपाल अनि पानीसँगै लुट्पुटिएर हुर्किएकाहरु पानी संरक्षणप्रति बफादार हुन नसकेको देखिएको छ ।

काठमाडौंलगायत देशका केही प्रमुख नगरवासी खानेपानीका लागि काकाकुल बनिरहेको बेला हेटौंडामा भने खानेपानी पर्याप्त छ । यो हेटौंडावासीका लागि गर्व गर्नलायक कुरा हो । केही वर्षअघिसम्म खानेपानीका लागि भौंतारिने हेटौंडाको हुप्रचौर, बसपार्क, पिप्ले, चौघडा, कमाने, भुटनदेवी र बजारआसपास क्षेत्रमा हाल पानी पर्याप्त पुगेको हो ।

२०७० जेठ ८ गते तत्कालिन खानेपानी संस्थान हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएपछि हेटौंडाबासीका लागि पानीको खासै समस्या छैन । पहिलेको तुलनामा हाल खानेपानी पर्याप्त प्रयोग गर्न पाइएको स्थानीय उपभोक्ता बताउँछन् ।

त्यति बेलाको तुलनामा हाल खानेपानीको स्रोत झण्डै दोब्बर बृद्धि गरेर उपभोक्तालाई पानी उपलब्ध गराउन बोर्ड प्रयासरत् परेको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्ड अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । पाँच वर्षअघि संस्थानले दैनिक ६० लाख लिटर पानी बितरण गर्दै आएको थियो । हाल खानेपानी बोर्डले दैनिक एककरोड ३१ लाख लिटर पानी बितरण गर्दै आएको छ ।

‘पानी अभावका कारण आफ्नै घरको धारामा विहान बेलुका गाग्री लिएर कुर्नुपर्ने वाध्यता भए पनि हाल भने चाहिएजति पानी पाइएको छ,’ हेटौंडा–४, हुप्रचौरकी उपभोक्ता सीता घिमिरेले बताउनुभयो ।

पानी अभाव हुन नदिन खानेपानी बोर्डसँगको सहकार्यमा पानीका स्रोत पहिल्याएर पानी बितरण गर्दै आएको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत बताउनुहुन्छ । उपमहानगरले वर्षैपिच्छे बोर्डलाई खानेपानीको क्षेत्रमा सहकार्य गर्दै ६० लाख रुपियाँ सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा ६० लाख बराबरको रकम खानेपानी सुधार र बिस्तारका लागि उपलब्ध गराएको नगरपालिकाले गत वर्ष पनि ६० लाख रुपियाँ सहयोग गरेको मेयर महतले बताउनुभयो ।

हेटौंडामा पहिलेको तुलनामा घरपरिवार थपिँदै छन् । पानीका स्रोत पनि त्यत्ति नै बृद्धि गरिँदै लगिएको छ । खानेपानी संस्थानताका पाँच स्थानमा जमिनमुनिबाट पानी बोरिङ गरेर उपभोक्तालाई बितरण गरिएको थियो । हाल अन्य १३ स्थानबाट बोरिङ गरेर पानी थप गरिएको बोर्ड प्रमुख सुदर्शन ढकालले बताउनुभयो । पाँच वर्ष अवधिमा हेटौंडाको चौकीटोलमा ३ वटा, टीसीएन क्षेत्रमा २ वटा, हुप्रचौरमा १ वटा, हेटौंडा–७ र ८ मा ३ वटा, हेटौंडा–९ मा एक वटा, कर्रामा १, गर्दोइमा १, पिप्लेमा १, राईटोलका १ स्थानमा पानी बोरिङ गरेर उपभोक्तालाई बितरण गरिएको छ ।

खानेपानी बोर्डका कारण हेटौंडामा खानेपानी अभाव नभएको र भविष्यमा पनि अभाव हुन नदिन आफूहरुले सहकार्य गर्दै आएको मेयर महत बताउनुहुन्छ । हेटौंडाका उपभोक्तालाई न्यूनतमरुपमा खानेपानी अभाव हुन नदिन लागिपरेको मेयर महतले बताउनुभयो ।

हेटौंडा–२ देखि १० सम्म पूरै र वडा–१, १४, १५, १६ र १७ का केही भूभागमा एकलाख २० हजार परिवारलाई खानेपानी बितरण गरिँदै आएको छ । हाल एककरोड ३१ लाख लिटर पानी बितरण गदिँदै आएको बोर्ड अध्यक्ष बिष्टले जानकारी दिनुभयो । निकट भविष्यमा उपभोक्ताको पूर्ण मागअनुसार पानी बितरण गर्न बोर्ड सफल हुने उहाँले दाबी गर्नुभयो । हेटौंडा–३, ११, १२, १३, १८ र १९ नम्बर वडामा खानेपानी उपभोक्ता समितिमार्फत् खानेपानी वितरण गरिँदै आएको छ ।

जीवनपर्याय पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसात् गर्दै मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाएको छ । सन् १९९३ देखि यस दिवसको क्रम शुरु भएको हो ।

गलो लाग्दादेखि हलो लगाउँदासम्म अपरिहार्य पानी चाहिने मानवसमुदायले पानी संरक्षणदेखि सुरक्षासम्मका लागि केके गरेका छन् भन्ने कुराको इतिवृत्तान्त हेटौंडामा रहेका नदी अनि तिनका तटले दिँदै आएका छन् ।

पानीघट्टदेखि ठुला जलविद्युत्सम्म पानीको शक्तिले चलायमान छन् । ‘बढ्दो शहरीकरण र विश्वव्यापीरुपमा बढ्दो तापक्रम अर्थात् ग्लोबल वार्मिङको असरले पग्लिएका हिमाल अनि बढ्दो समुद्री सतहले पानीप्रतिको मानव संवेदनशीलता माग गरेको छ,’ बोर्ड अध्यक्ष बिष्टले भन्नुभयो–आउँदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्व अनि संरक्षणका पाठहरु सिकाउन जरुरी छ ।

खुला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षित सिमसार सुरक्षा गर्नु, बृक्षरोपण, भुसंरक्षण गर्नु अनि खोलानाला सम्वद्र्धन गर्नु नागरिकको कर्तव्य रहेको औंल्याइएको छ । ‘पानी दिवसको मुल मर्मअनुरुप हाम्रो व्यवहार होस्,’ बोर्ड अध्यक्ष बिष्टले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्