टनकपुरले जोगाएका नेपाली, अभावैअभावले रन्थनिएको बस्ती



मनोज भट्ट, महेन्द्रनगर
सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३० किलोमिटर उत्तर पश्चिममा रहेको दुर्गम बस्ती खल्ला, टुडिखेल र मसेट्टी छन् । भीमदत्त नगरपालिका–९ मा पर्ने यी तिन आटै गाँउहरुमा झण्डै २०० परिवार बसोबास गर्छन् । चुरेको फेदमा रहेको अति सुन्दर ठाँउमा पिउने पानीको हाहाकार छ ।

स्थानीयहरु बर्षौदेखि खानेपानिका नाममा कुवाको पानी खान बाध्य थिए । जनप्रतिनिधिले चुनावका समयमा भोट माग्नका लागि मात्रै जनतालाई ठुल्ठुला सपना देखाए, तर ती सपनाहरु यर्थात हुन सकेका छैनन् । बिजुली बत्ति पुगेको छैन् । सक्नेहरु सोलारको चरमा छन् । भने नसक्नेहरु मट्टीतेल र राँको बाल्दै आएका छन् ।

भीमदत्त नगरपालिका जस्तो ठुलो र प्रतिष्ठित स्थानीय निकायको बासिन्दा भएर पनि खल्ला, मसेट्टी र टुडिखेलका स्थानीयहरु भारत सरकारको नुन देखि नेटवर्क सम्ममा भर पर्दै आएका छन् । चुरे पर्वतको फेद फेदमा रहेको उक्त बस्तीमा खाद्यान्न जुटाउन पनि निकै गाह्रो हुन्छ । नेपाल–भारत छुट्याएर बगिरहने नदी महाकालीलाई ट्युवमा पार गर्दै खाद्यान्नको जोहो गर्न भारतीय सहर टनकपुर पुग्नु पर्ने हुन्छ । दैनिक जीविकोपार्जन गर्न भारतीय सहर टनकपुरले गर्दा सहज भएको छ ।

नुन, चामल देखि लत्ताकपडा सम्म ल्याउनलाई ट्युव वा पौडीकै भरमा भारतीय सहर छिर्नुपर्ने बाध्यता रहेको स्थानीयबासीले गुनासो गरे । दलित, गैरदलित र मगरहरुको बसोबास रहेको त्यो गाउँमा धरै जसो निरक्षर नै छन् । आधारभुत शिक्षाका लागि दुई विद्यालय छन तर शिक्षक छैनन् । बर्षातमा हावाहुरीले उडाएको विद्यालयको छाना हाल सम्म पनि मर्मत सम्भार गरिएको छैन् । मर्मत गर्नका लागि बजेट छैन् ।

खल्ला, मसेट्टी र टुडिखेल बस्तीमा खानेपानी र सिंचाईको चरम समस्या रहेको छ । ‘खानेपानी नभएर हामी धेरै पहिले देखि नै एकदमै समस्यामा रहेका हौ । हामी धमिलो कुवाको पानी खान बाध्य भयौ । कुनै उपाय पनि त थिएन् ।’ पदम रोकामगरले भने ‘चुनावको समयमा जनप्रतिनिधिहरु आए यो, गछौ, त्यो गर्छौ, तपाई भोट हामीलाई मात्रै दिनुहोला भने, हामीले त्यहि गर्यौ । तर आज सम्म केहि भएन । विकासमा नाममा यहि हो, दुई मिटर फराकिलो बाटो ।’

सिचाई गर्न नपाउँदा बालीनाली सुकेर जान्छ । उब्जनी शून्य छ । खेतमा छरेको बिउ बरोबर पनि उब्जनी नहुने गरेको मगरबस्तीका सोभान थापाले बताए । खानेपानीको धारा बनेको बल्ल एक बर्ष भयो । बर्षौ पछि बनेको पानीधारा गाउँमा ३÷४ ओटा मात्रै छन् । स्थानीयहरु पहिले भन्दा केहि मात्रै भएपनि राहत भएको अनुभव गर्छन् ।

प्रतिक्रिया दिनुहोस्