सुख्खा फलफूल विकास केन्द्र: एक वर्षमा ३ लाख बिरुवा बिक्री 



विनोदसिंह विष्ट, बैतडी
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ तथा सुख्खा फलफूल विकास केन्द्र सतबाँझबाट यो आर्थिक बर्षमा ३ लाखको हाराहारीमा हिउँदे फलफूलका विरुवा विक्रि भएका छन् ।

सुख्खा फलफूल विकास केन्द्र र निजी नर्सरीबाट देशका विभिन्न ठाउँमा बिरुवा विक्रि भएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काले जानकारी दिए । सुख्खा फलफूल विकास केन्द्रबाट मात्रै १५ हजार बढी विरुवा विक्रि भईसकेको छ उनले भने“स्याउ, नासपाती, खुर्पानी, ओखर, आरु, आरुबखडा लगायतका हिउँदे फलफूलका बिरुवा विक्रि भएका छन्”
निजी नर्सरी धनीहरुले फलफूलका बिरुवाबाट लाखौं आम्दानी समेत गरेका छन् । हिउँदे फलफूलका बिरुवा विक्रिबाट ३ लाख बढी कमाइ भएको किसान बीरबहादुर टेरले बताए । यस्तै हिउँदे फलफूलका बिरुवाबाट चार लाखको कमाई भएको किसान देवदत्त भट्टको भनाई छ । बिरुवा बेचेरै राम्रो आम्दानी भइरहेको छ उनले भने“सुदूरपश्चिमा अधिकांस जिल्लाका साथै कर्णाली प्रदेशवाट समेत बोटबिरुवा किन्न आउने गरेका छन्”

दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ मा २० भन्दा बढी निजी नर्सरी रहेका छन् । निजी नर्सरी सञ्चालक किसानहरुले फलफूलका बिरुवाबाट प्रत्येक बर्ष लाखौं आम्दानी गर्दै आएका छन् । स्थानीय तहहरुले पनि किसानहरुलाई फलफूल खेतीतर्फ आकर्षण गराउन थालेका छन् । किसानहरुलाई फलफूल खेतीतर्फ आकर्षण गराउनको लागी अनुदानमा बिरुवा वितरण गरिरहेको हो । स्थानीय तहहरुले पनि सुख्खा फलफूल विकास केन्द्रवाटै विरुवा किन्ने गरेको छ ।

अधिकांस क्षेत्रका सिँचाई सुविधा नभएकोले खेत बाँझै रहने भएकोले किसानहरुलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

पछिल्लो समयमा बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्र प्रशिक्षण हबको रुपमा विकासित हुँदै गएको छ । सुख्खा फलफूल विकास केन्द्रमा प्रयोगात्मक सीप सिक्नेको संख्या बढ्दै गएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए । चालु आर्थिक बर्षमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाका ९ विद्यालयका विद्यार्थीहरु ६ महिने प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुगेका छन् उनले भने “ कृषि जेटीए पढीरहेका विद्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुग्ने गरेको छन् ।”

हाल सुख्खा फलफूल विकास केन्द्रमा करीब ५० विद्यार्थी प्रयोगात्मक कक्षाका लागि पुगेका छन् । प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीहरुले बोटविरुवा रोप्ने, काँटछाँट गर्नेदेखि लिएर कलमी गर्ने सम्मको सीप सिकिरहेका सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ ।

सुख्खा फलफूल विकास केन्द्रमा सैद्धान्तिक सीपलाई व्यवहारिक रुपमा सिक्ने गरेको विद्यार्थी माया चन्दले बताइने । आफूहरुले व्यवहारिक रुपमा सिकेको सीप काम लाग्ने चन्दको भनाई छ । सुख्खा फलफूल विकास केन्द्रमा व्यवहारिक सीप सिक्न पाउँदा निकै सजिलो भएको अर्का विद्यार्थी विरेन्द्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्