सरकार म नेपालीको छोरी हो कि हैन ?



भगवती तिमल्सिना, काठमाडौँ
अनुहारमा निकै निराशा र पिडानै पिडाको भारी बोकेर नागरिकता नपाउनुको कारण खोज्दै हेटौडा देखि काठमार्डौ पुगेकी ४२ बर्षिय सुकुमाया तामाङ् भन्नुहुन्छ–म सातबर्षको हुँदा सर्कसमा बेचिए । उमेर बढ्दै जाँदा कलाकारसँगै भारतमै विवाह भयो । तीन सन्तानको जन्म उतै भयो । ११ बर्ष अघि श्रीमान्को मृत्यु भयो त्यसपछि मेरो जाने ठाउँ कही भएन बालबच्चा लिएर नेपाल फर्किए ।

काम गर्न खोजे परिचयपत्र खोजीयो मेरो नागरिकता छैन् । म बंशजको नाताले नागरिकता लिएर आफु र आफ्ना सन्तानको लालन पालको लागि सरकारसँग नागरिकता पाउँ भन्दै गुहार माग्दै ७ बर्ष देखि सर्वोच्च अदालतको ढोका ढक्ढक्र्यारहेको छु, अहिले सम्म न्याय पाएकी छैन । मेरो बुबा आमा दुबै नेपाली हुनुहुन्छ र उहाँहरुको नेपाली नागरिकता छ । सरकार म नेपालीको छोरी हो कि हैन ? सरकारले प्रमाण लेउ भन्यो मैले ल्याए तर पनि नागरिकता दिएन ।

मलाई सरकारले नागरिकता दिनुको सट्टा मुद्धा फिर्ता लिन दबाब दिँदैछ । सबै भन्दा सानो छोरी समेत ८ कक्षामा पढ्छीन भने दुईवटाले ११ र १२ पढ्दै छन् । मेरो बिदेशीसँग विवाह भयो बंशजको आधारमा नागरिकता पाउँ भनेर मुद्धा हालेको छु । मुद्धा लड्दा लड्दा न्याय नपाएर आफ्नो र छोराछोरीको बेहाल भैसक्यो मैले मर्नुपर्ने स्थिति आउन लागि सक्यो । सुजाता कोइराला जस्ता नेताले बिदेशीसँग विवाह गर्दा उहाँ र उहाँको सन्तानले नेपालको नागरिकता पाउने हामीले किन नपाउँने ? के नेताहरुले जे गरेपनि हुने साधारण जनताले सधै अन्याय र अत्याचारको मार खेपिरहनुपर्ने कस्तो लोकतन्त्र हो यो ?

राज्यले समस्या नै छैन भन्छ यतिका मान्छे नागरिक विहिन कसरी भए त ? नागरिकताको बिषय नै नबुझी संसदको कोठामा बसेर बिरोध गर्ने नेताहरुले कि हिटलरले जस्तो गरि खुल्लामञ्चमा ल्याएर नागरिकता नहुने सबै नेपालीलाई गोली ठोकुन, देश निकाला गरुन । यदि होइन भने जो जोले नागरिकता पाएका छैनन, किन पाएनन् बुझेर नागरिकता दिलाउने गरि विधेयक पारित गरियोस् । भक्तपुरकी आमाले जस्तो अबका दिनमा कुनै पनि आमाले आत्महत्या गर्नुनपरोस् ।

महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठ भन्नुहुन्छ–नेपालको संविधान २०७२ जारी भएको ३ बर्ष भयो । संविधानमा नागरिकताको बिषय सकारात्मक छ पूर्ण सकारात्मक भने छैन । संविधान आईसकेपछि संविधान अनुसारको ऐन अहिले सम्म आएको छैन । २०७५ फागुन २० गते सम्म आउँनुपर्ने छ । यस बिषयको विधेयक संसदमा छ तर विधेयकलाई जटिल बनाईएको छ । जस्तै पहिला बाबु पहिचान नभएको भन्ने शब्द रहेको ठाउँमा बाबु किन पहिचान भएन भनेर पुष्ट्याई सहित सो घोषणा गर्नुपर्ने भन्ने शब्दले ठाडै आमालाई लान्छना लगाएको देखिन्छ । यसका साथै आमाहरुले त्यसरी घोषणा गरेको बाबु पछि फेला परेमा आमालाई ५ बर्ष जेल सजाय हुने भन्ने उल्लेख गर्नुले नेपाली महिला आमा भएकै कारण ५ बर्ष सजाय भोग्नुपर्ने, बाबुले म बाबु हुँ भन्दा केही फरक नपर्ने आमालाई चै आमा हुँ भन्दा किन सजाय ?

बाल्यकालमा सर्कसमा बेचिएकी सुकमाया तामाङका बाबु आमा दुबै नेपाली हुन् उनले भारतीय नागरिकसँग विवाह गरिन । बंशजको आधारमा नागरिकताका लागि सर्वोच्च अदालतमा मुद्धा लडिरहेकी छन् । भाईहरुले बिदेशी नागरिकसँग विवाह गर्दा पनि नागरिकता पाए उनले किन नपाउँने ?
राज्यले महिला भएकै कारण भक्तपुर नगरपालिका वडा नं ४ की एक महिला माथी अपमान गर्दा २०७० श्रावण १९ गते आत्महत्या रोज्न बाध्य हुनुपर्यो । जुन महिला सोही नगरपालिकामा रहेको माउण्ट भ्याली स्कूलमा खाना बनाउने काम गर्नुहुन्थ्यो र उहाँको छोरालाई त्यहि पढाउनुभएको थियो । छोरा बालिक भएपछि नागकिता बनाउन जाँदा सरकार, घरपरिवार, समाजले श्रीमानको उपस्थिति खोजे, श्रीमान बच्चा २ बर्षको हुँदा जापान गएको कहिल्यै नफर्केको कुरा पनि खोजी गर्ने सबै निकायलाई जानकारी थियो । तर पनि सबै पक्षबाट असहयोग गरेकै कारण ती निर्दोष महिलाले आत्महत्य गर्न पुग्नुभएको अधिवक्ता श्रेष्ठ बताउँनुहुन्छ ।

उहाँ थप्नुहुन्छ–नेपालमा हरेक बर्ष ६ लाख भन्दा बढी नागरिक १६ बर्ष पुग्छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार नेपाल भरिमा बर्षमा ४ लाख व्यक्तिले मात्र नागरिकता पाईरहेका छन् । यसको आधारमा पनि नेपालमा कुनै न कुनै कारणबाट नागरिकता नलिनेको संख्या ठूलो रहेको छ । सन् २०१८ मा अमेरिकाले नेपाली नागरिकता नलिनेको संख्या ५४ लाख भएको तथ्यांक सार्वजनिक गरेको छ । यसमा कोही पाको उमेर भएको र नागरिकताको आवश्यकता नपरेर नलिने छन् भने ठूलो संख्या कुनै न कुनै समस्याका कारण नलिने छन् ।

नेपालको तथ्यांकलाई केलाउँदा ९ लाख बाल बालिका बाबुले अर्की श्रीमती ल्याएर, पारपाचुके गरेर, बेपत्ता भएर, बाबुको मृत्यु भएको अवस्थामा आमाको साथमा छन् । अब के यी बालबालिका नेपाली नागरिक हैनन त ? श्रेष्ठ सरकारसँग प्रश्न गर्नुहुन्छ । पछिल्लो जनगणनाको तथ्यांकलाई केलाउँदै थप १० लाख बालबालिका आमा र बाबु दुबै नभएको अवस्थामा छन् उनीहरुलाई नेपाली नागरिकता दिने आधार तय गर्नका लागि बिधेयकमा पेश भएको ड्राफ्टमै सशोधन गर्नु जरुरी छ अधिवक्ता श्रेष्ठको ठम्याइछ ।

बाबुको नामबाट मात्र नागरिकता दिने प्रचलनका कारण न्यायीक पिडामा परेका पिडितले न्याय र समानताको माग गर्दै आयोजना गरेको बृहत फोटो प्रदर्शनी बिहिवार सम्पन्न भयो । महिला, कानुन र विकास मञ्चको आयोजनामा सोमबार कला परिषद्को हलमा “कोख मेरो सन्तान कस्को ?” भन्ने मूल नाराका साथ नागरिकता पाउन नसकेका नेपाली नागरिकहरुले तयार पारिएको फोटो प्रदर्शनीको साथमा भक्तपुरमा २०७० श्रावण १९ मा घटेको वास्तविक घटनालाई उजागर गरिएको नाटक समेत प्रदर्शन गरिएको थियो ।

नाटकको माध्यमबाट समस्याको उजागर गर्दै देशमा संघियता आए पनि न्यायीक स्वतन्त्रता नभएको उजागर गरिएको थियो । नाटकमा बैदेशीक रोजगारीका कारण आफुले आफ्नो श्रीमानबाट जीवनभरको लागि टाढा हुँदाको पल, त्यसमा पनि आफ्नो छोराले बुवाको अनुपस्थिती तथा जन्मदर्ता नहुँदा नागरिकता नपाएको पिडालाई प्रस्तुत गरिएको थियो ।

वर्तमान संविधानले आमाको नामबाट पनि छोरा छोरीले नागरिकता पाउने प्रावधान गरेता पनि त्यो हाल कार्यान्वयनमा नआएको उजागर गरियो । निकै दर्दनाक घटनामा आधारित नाटकले कानून बनाउने र निर्णय गर्ने क्षेत्र पुरुषकै अधिनमा भएका कारण महिलाले कानूनी रुपमै अपहेलित हुनुपरेको यथार्थता प्रस्तुत गरिरहँदा नाटक प्रस्तुत गर्ने कलाकारका साथ नाटक हेर्ने दर्शकहरुका आँखाबाट अस्रुधारा बगेको थियो । हलमा निकैबेर सन्नाटा छायो ।

निकै मर्मस्पर्सी नाटकले नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा उच्च शिक्षा, रोजगारि, बैदेशिक यात्रा, पारिवारिक, सामाजिक लगायतका हरेक खाले जिम्मेवारी र अवसरबाट बन्चित हुनुपर्दाको अधुरो र अपुरो जीवनको कठीन सामना गर्नुपर्दाको पिडा पस्किएका थिए

प्रतिक्रिया दिनुहोस्