संघीयतामा अवसर र चुनौती



रोशन पराजुली, हेटौंडा
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनी मुलुक संघीयता गएपश्चात् आफूहरु नयाँ संरचनाबाट अगाडि बढिरहेको बताउनुहुन्छ। जिम्मेवारीहरु पनि नयाँढंगका छन् । विकास निर्माण काम सँगसंँगै सामाजिक क्षेत्रहरुलाई पनि लानुपर्ने हुन्छ । त्यसले गर्दा पहिलेको स्थानीय निकाय भन्दा फरकढंगले काम गर्न एकातिर चुनौती छन् भने अर्कोतिर अवसरका रुपमा लिइएको उहाँको भनाइ छ ।

विकास निर्माणका कामहरु पनि जनसहभागिता जुटाएर, टोल विकासलाई व्यबस्थित गरेर आफ्नो वडालाई समृद्ध बनाउन अगाडि बढेको भन्दै उहाँले सबैको सहकार्य र सबैको साथ लिएर अगाडि बढ्ने सोच बनाइएको बताउनुभयो ।मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष साधुराम अधिकारीले वडामा हरेक क्षेत्रको काम गर्न सरसल्लाह गर्ने गरेको बताउनुहुन्छ । सल्लाहअनुसार बजेट विनियोजन गर्ने गरिएको उहाँको दाबी छ ।

वडाको बजेट कार्यान्वयनमा भन्दा पनि वडा निकुञ्जमा जोडिएकोले विकासका काम गर्न समस्या भइरहेको उहाँको गुनासो छ । स्थानीय सरकार भए पनि केही कुराहरु गाउँपालिकाको निर्णय भर पर्दछ । तर, सल्लाह र समन्वय गरेर काम गरिरहेको उहाँले बताउनुभयो ।भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सीताराम थापाले निर्वाचित भएर स्थानीय सरकार सञ्चालन ऐनअनुसार काम गरिरहेको भन्दै वडाध्यक्ष रुपमा गर्नुपर्ने सिफारिसदेखि विकास निर्माणको कामलाई समन्वयात्मकरुपमा गरिरहेका बताउनुहुन्छ ।

वडाध्यक्षका रुपमा काम गरिरहँदा समस्या खासै नभए पनि कामको चाप धेरै हुने गरेको छ । कतिपय घरजग्गाको सिफारिस गर्दा अंशियार छुट्ने सम्भावना हुँदा अलि सचेत भएर सिफारिस गर्नुपर्ने देखिएको छ । दोहोरो नागरिकताको पनि समस्या छ । संघीयता आइसकेपछि प्रत्यक्ष सरोकार वडाध्यक्षसँग हुने भएकोले जनतासँग निरन्तर जोडिरहेका भन्दै उहाँले जनताको काम गर्न पाउँदा आफू सन्तुष्ट भएको बताउनुभयो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिंहलाल चेपाङले संघीयताले गर्दा जनताले धेरै सुविधा प्राप्त गर्न थालेको बताउनुभयो । पहिले स्थानीय निकाय हुँदा गाविसमार्फत् काम हुँदा भन्दा अहिले धेरै सुविधा भएको उहाँको तर्क छ । वडाबाट विकास निर्माणका काम पनि हुने हुँदा जनता खुसी छन् । जनतासँग गरेका प्रतिवद्धता भन्दा धेरै सुविधा जनताले पाइरहेका छन् । बोलेजस्तो सबै काम गर्न खोजे पनि आरोप र प्रत्यारोप भने आउने गर्दछ । बजेटको सिलिङको काम स्थानीय सरकार आइसकेपछि गाउँपालिकाले भुक्तानीको ऐन बनाएको छैन ।

थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बलले स्थानीय तहका वडाध्यक्षहरुले हिजो कर्मचारीले सञ्चालन भएका सरकारबाट जनताले पाएका दुःख सम्झेर काम गरिरहेको बताउनुभयो ।धेरै काम गर्छु भन्दा पनि कानुनी कारणले केही समस्या भएको छ । तर, जनप्रतिनिधि आइसकेपछि जनतामाझ अभिभावकत्व महसुस भएको छ । जनप्रतिनिधि जनताका निम्ति समर्पित भएका छन् । वडाबाट दिनुपर्ने सबै सेवा दिन आफूहरु लागेको भन्दै उहाँले जनताले सरकार भेटेको बताउनुभयो । केही विषय जटिल पनि छ । नागरिकतालगायत सिफारिसमा संवेदनशील हुनुपर्ने जस्ता कुरामा ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।

कैलाश गाउँपालिका वडा नम्बर १० का अध्यक्ष मणिकलाल मोक्तान स्थानीय तह आइसकेपछि वडामा सरकार आएको बताउनुहुन्छ । सबै काम वडाबाट नै हुन्छ । वडाध्यक्षहरु पारिश्रमिक लिन निर्वाचित नभएको भन्दै उहाँले जनतालाई सेवा दिन आएको बताउनुभयो ।अहिले बाध्य भएर सेवासुविधा लिनुपरेको उहाँको दाबी छ । वडाध्यक्षहरुले गर्नुपर्ने काम कर्तव्यबारे वडामा जानकारी गराउनुपर्ने हुन्छ । गाउँपालिकाबाट आउनुपर्ने बजेट कसरी आउने र कसरी परिचालन गर्ने भन्ने विषय पनि छ । कर्मचारी अभाव पनि ठूलो समस्या । वडाध्यक्षहरु आफैंले अफिस खोलेर हाजिर गर्नुपर्ने अबस्था छ ।

बागमती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मदनकुमार थुन्चेले जनप्रतिनिधिले हालसम्म जुन भूमिका निर्वाह गर्नुपर्ने हो, जनताले भनेजस्तो पूरा गरिरहेका बताउनुहुन्छ । आफैंलाई पनि आफ्नो भूमिका निर्वाह पूर्णरुपमा गरेजस्तो लाग्छ भन्नुहुन्छ उहाँ ।हरदम जनताको विकासका लागि काम गरेको उहाँको दाबी छ । गाउँपालिबाट हुनुपर्ने जति सहयोग भएको छ । हाल गाउँपालिकासँग समन्वय गरिरहेको र विकासका धेरै पूर्वाधार बनाउन बाँकी रहेको, जनताहरु शिक्षामा कमजोर हुँदा धेरै विकास हुन बाँकी देखिएको उहाँको भनाइ छ ।

मकवानपुरका १० वटा स्थानीय तह छन् । वडाका निर्वाचित सबै अध्यक्षहरुका लागि दुई दिनसम्म हेटौंडामा क्षमता विकास तालिम दिइएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लाका सम्पूर्ण वडाका अध्यक्षलाई तालिम प्रदान गरिएको हो । जिल्लाका १० वटा स्थानीय तहका १ सय २ वडाका वडाध्यक्षहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । तालिमा भने ८० जनाको उपस्थिति थियो ।
मुलुक संघीयतामा गएपछि स्थानीय तहका वडाध्यक्षहरु बलियो सरकारका रुपमा स्थापित भएका छन् । जनताले प्रत्यक्षरुपमा भेट्ने सरकार स्थानीय सरकार हो । घरघरमा सिंहदरबार भन्ने नारा सफल गराउन वडाध्यक्षको मुख्य भूमिका रहन्छ ।

कार्यपालिका, न्यायपालिका र व्यबस्थापकीय अधिकारसम्पन्न स्थानीय तहका वडा अध्यक्षहरुका लागि तालिम फलदायी भएको सहभागी वडाध्यक्षहरुको भनाइ छ । तालिममा ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकाटी, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय, मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियार र जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकारी रामकृष्ण थापाले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्