बाख्रा पालनबाट मासिक सवालाख आम्दानी



उत्तम नेपाल, भद्रपुर । जाँगर र इच्छा शक्ति भएमा गरेको कामबाट सफलता हात पार्नसकिने एउटा सफल किसानको उदाहरणले पुष्टि गरेको छ । रोजगारी नपाएर विदेशमा श्रम गर्न जान अनुमतिका लागि राहादानी वनाउन सरकारी कार्यालयमा कागजात बोकेर लाइन लागेका युवा युवती र विहानै देखि आफ्नो व्यवसायमा लागि परेका एकजना किसान । हेर्दा अलग तर उद्देश्य एउटै पैसा कमाउने । विदेशमा गएर पैसा कमाउने कुनै निश्चित नभएपनि स्वदेशमा कृषि व्यवसायमा व्यस्त भएकाको भने पक्का छ ।

नेपालमा नै कृषि पेसामा सफल भएका झापाको साविक गोलधाप–४ हाल हल्दीबारी गाउँपालिका १ का गणेश पराजुली । ३६ औँ विश्व खाद्य दिवसको अवसर पारेर वि.सं. २०७३ कात्तिक ९ गते प्रगति वोयर बाख्रा पालन व्यवसाय विधिवत् रुपमा शुरु गरे । पराजुलीले गर्ने व्यवसाय भने साउथ अफ्रिकन वोयर जातका बाख्राबाट पाठापाठी उत्पादन तथा बिक्रि वितरण उनको एकमात्र उद्देश्य रहेको छ । एकसय प्रतिशत वोयर जातका बोका र पाठीलाइ ७ लाख ९ हजारमा खरिद गरी व्यवसाय शरुु गरे । तीन विघा भाडामा र एक विघा आफ्नो जग्गामा बाह्रै महिना हुने वहुवर्षे, हिउँदे र बर्षे घाँस लगाए । व्यवसाय फस्टाउँदै गयो ।

तीनजना कामदार र आफूसमेत काममा खटिने गरेको उनले सुनाए । हाल ६४ ओटा ब्याहूने र दुइ विउ वोका गरि १ सय ३७ थान खोरमा रहेको उनले बताए । दुइमहिना पछि २ सय पुग्ने उनको भनाइ छ । व्यवसायबाट र्खच कटाएर मासिक सवा लाख रुपैयाँ खुद आम्दानी गर्दै आइरहको उनले सुनाए । युवा लक्षित कार्यक्रम अन्र्तगत जिल्ला पशु सेवाबाट दुइलाख रुपैयाँ अनुदान र राष्ट्रिय चरन विभाग केन्द्रीय भेडा बाख्रा प्रर्वद्धन कार्यालयबाट जमरे घाँस काट्ने प्रविधि पाएभन्दा अरु नपाएको उनले जनाए । हाल उनको लगानी भने एक करोड ५६ लाख रहेको जनाइएको छ । उत्पादन हुने पाठापाठी नेपालभर नै बिक्रि हुने उनको भनाइ छ । बाख्रा पालनमा राष्ट्रिय पुरस्कार समेत पाइसकेको उनले बताए ।

वि.सं. २०४२ सालमा बुवाले शुरु गरेको पेशा स्वर्गारोहणपछि ठप्प भएकोले बुवा आमाले गरेको अधुरो सपनालाइ पूरा गर्न यो व्यवसाय शुरु गरिएको उनले स्मरण गराए । थोरै लगानीमा नेपालमा नै बसेर काम गर्न सकिने उनको दाबी छ । सन् १९०० मा साउथ अफ्रिकाकाबाट उत्पादित बाख्रा वि.सं. २०६५ सालदेखी वन्दीपूर बाख्रा अनुसन्धान केन्द्रले यस्ता जातका बाख्रा उत्पादन शुरु गरेको उनले बताए । यो व्यवसायमा आत्मनिर्भर हुनको लागि खाडी मूलुकबाट फर्किएका नेपालीहरुलाइ तालिम दिने गरेको साथै सवै क्षेत्रका मानिसहरु अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । ११ महिनामा ८६ किलोको वोका र १०४ किलोको माउ बाख्रा रहेको उनले बताए । सतप्रतिशत वोयरको पाठापाठीलाइ प्रतिगोटा २ देखी ३ लाख पैयामा बिक्रि हुने गरेको उनको भनाइ छ । नौ महिना अघि नै अग्रीम बुकिङ् गरिसक्नु पर्ने उनले बताए ।
सरकारले दिने अनुदानमा वास्तविक कृषकले नपाएको उनको गुनासो छ । अनुदान पाएका कृषकलाइ समय–समयमा अनुगमन गर्न जरुरी रहेको उनको सुझाव छ । कृषि ऋण बढाउने र व्याज घटाउनु पर्ने उनको माग छ । वाख्रा फारममा आएर अनावश्यक भिड बढाएर काममा अवरोध हुने भएकोले नियन्त्रण गर्न प्रतिव्यत्ति २ सय र संस्थागत पन्ध्रसय लिने गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्