जंगली कालिज शहरका भान्सामा



टीका बन्धन, काठमाडौं
‘जंगली कुखुरा’ भनेर कहलिएको कालिज अब जंगलमा मात्रै सीमित रहेन। शहर बजारमा व्यावसायिक कालिज फार्म खुल्न थालेपछि यो पन्छीको मासु र अन्य परिकार सहजै उपलब्ध हुन थालेको छ। काठमाडौंमा एभरेस्ट वाइल्ड लाइफ एग्रो एन्ड रिर्सच सेन्टरले मासु र आफ्नै रेस्टुरेन्टमार्फत परिकार उपलब्ध गराउन शुरू गरेको छ। कम्पनीले डेढ केजी हाराहारीको कालिज ३ हजार ५ सय रुपियाँमा उपलब्ध गराउन थालेको छ। गत असार तेस्रो साताका चल्ला अहिले वयश्क भएपछि मासु बिक्री गर्न शुरू गरिएको सेन्टरका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले बताउनुभयो।

‘मासु बिक्री गर्न शुरू गरेको एक महिना हुन लाग्यो’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कालिजको परिकारका लागि केही दिनअघि बागबजारमा कालिज रेस्टुरेन्ट पनि खुलेको छ।’ कालिज फार्म सञ्चालनका लागि पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत लिने यो पहिलो कम्पनी हो। कम्पनीले बिक्री–वितरण गर्ने कालिज नेपालका वन–जंगलका भने होइनन्।

कम्पनीले इटालीबाट ‘रिङनेक’ प्रजातिको कालिजका १० हजार २ सय अन्डा ल्याएर काठमाडौंको दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलमा जग्गा भाडामा लिएर व्यावसायिक फार्म शुरू गरेको हो। इटालीबाट ल्याइएका अन्डा काठमाडौंकै ह्याचरीमा बच्चा कोरल्दा करिब ४५ प्रतिशत मात्रै सफल भएकाले फार्ममा हुर्किएका पोथीबाटै अन्डा कोरल्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो।

‘यहाँकै हावापानीमा हुर्किएका पोथीबाट संख्या बढाउने तयारी गरेका छौं, त्यसैले अहिले मासुका लागि भाले र अन्डा पार्न अयोग्य पोथी बिक्री गर्दै आएका छांै।’ –उहाँले भन्नुभयो। स्टार होटल र केही रेस्टुरेन्टले नियमित मासु उपलब्ध गराउन आग्रह गरे पनि यो वर्ष सम्भव नहुने श्रेष्ठको भनाइ छ।

१८ वर्षसम्म इटली बस्नुभएका सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठले त्यहीं कालिज पालनको तालिम लिएपछि अन्य सहकर्मी उहाँसँग सहकार्य गर्न तत्पर भएका हुन्। भन्सार र क्वारेन्टाइन प्रक्रिया पूरा गरी पशुपन्छी विकास मन्त्रालयबाट व्यवसाय सञ्चालनको इजाजत लिएपछि कालिज पालनका लागि अन्य कानुनी अड्चन नरहेको कम्पनीका अध्यक्ष सुशील भट्टराईले बताउनुभयो।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस) ले प्रतिबन्ध गरेबाहेकका जीवजन्तुको व्यापारिक कारोबार गर्न समस्या नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। नेपालमा व्यावसायिक कालिज पालनको अभ्यास ३ वर्षअघि पोखरामा वाइल्ड लाइफ फुड प्रोडक्ट प्रालिले शुरू गरेको थियो।

केही समययता काठमाडौैंको मच्छेगाउँमा पनि कालिज पालन शुरू भए पनि अन्य कम्पनीको दर्ता प्रक्रिया पूरा नभएको पशुसेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिनुभयो। ‘यस्तो व्यावसाय सञ्चालनको इजाजत लिने एभरेस्ट वाइल्ड लाइफ पहिलो कम्पनी हो, अन्य प्रक्रियामा छन्।’ –उहाँले भन्नुभयो।

नेपालमा चिलिमे, मुनाल, पोक्रास, डाँफे, लुइचे, कालिज, चिर र मुजुरसहित ८ प्रजातिका कालिज अभिलेख भएका छन्। तीमध्ये डाँफे, मुनाल, चिरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संरक्षित सूचीमा सूचीकृत गरेको छ। जंगलको कालिज फार्ममा र फार्मको कालिज जंगलमा लान÷ल्याउन नमिल्ने गरी पशुपन्छी मन्त्रालयले इजाजत दिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

विकसित मुलुकमा साइटिस सूचीमा सामेल नभएका कालिज र अन्य पन्छी कुखुरा र हाँस पाले सो सरह पाल्ने गरिए पनि नेपालमा त्यस्तो खुकुलो अभ्यास छैन। नेपालमा उपलब्ध भएका र संरक्षित सूचीमा नरहेका कालिजलाई व्यावसायिकरूपमा पाल्न दिने कानुनी पक्ष सहज छैन।

अहिले नेपालमा पनि कालिज पालनको व्यावसायिक अभ्यास शुरू हुँदै गर्दा रैथाने र आयातित पन्छी ‘क्रस’ भएको खण्डमा विभिन्न चुनौती थपिने सक्ने पन्छीविद्हरूको तर्क छ। पन्छीविद् डा. हेमसागर बराल भन्नुहुन्छ– ‘रैथाने र आयातित पन्छीका कारण भविष्यमा कुनै जटिल समस्या निम्तिनु हुँदैन, यसका लागि सरोकारवाला निकायबीच गतिलो तालमेलको खाँचो देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्