निर्देशनअनुसारको परिणाम खै ?



दुई तिहाइ बहुमतसहितको सरकार गठन भएको आठ महिना बितिसकेको छ । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने आशा र अपेक्षा गरिएका थिए । नागरिकहरूका न्यूनतम आवश्यकतालाई सरकारले सम्बोधन गर्दै जानेछ भन्ने नागरिकहरूले आशा गरेका थिए । र, अहिलेसम्म पनि आशा मारेका छैनन् । महँगी नियन्त्रणको आशा गरेका नागरिकहरूमाथि अहिले दिनहुँ महँगीको भार थपिएको छ । समृद्धिको सपना बाँडेको सरकारले सपना पूरा गराउने खालका कार्यहरू अगाडि बढाउन सकेको छैन ।

दुई तिहाइ बहुमत प्राप्त सरकारले कानुनी राज्यलाई चुनौती दिनेहरूलाई धमाधम पक्राउ गरेर कारबाही गरेको हेर्ने नागरिकहरूको चाहना अधुरै रहेको छ । दैनिक उपभोग्य वस्तुको दिन दुई गुणा रात चौगुणा मूल्य वृद्धि भएको छ । बजार अनुगमनको काम चाडपर्वको बेलामा मात्र हुँदा दिनहुँ उपभोक्ताहरू ठगिएका छन् । तर यी तमाम काम खुल्लंखुल्लारूपमा हुँदा पनि सरकार रमिते बनेर हेरिरहेको छ । यसरकार यतिखेर यतिसम्म शक्तिशाली छ कि सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने नियम कानुनसम्म वैधानिकरूपमा दुई तिहाइको बहुमतमार्फत संशोधन गर्ने हैसियत छ ।

विगतमा सरकार सञ्चालन हुँदा राजनीतिक अस्थिरतालाई मुख्य कारण मानिदै आएको थियो । अहिले राजनीतिक स्थायित्व भएको छ । पाँच बर्से शासन गर्ने म्यान्डेट पाएको सरकारको कार्यशैलीको कारणले निकै छोटो समयमा नै नागरिकहरूमा निराशा जन्माउँदै लगेको छ । सरकारले आशाको सञ्चार गराउन लायकका कामको परिणाममार्फत जवाफ दिन सकेको छैन । सरकारका हरेक मन्त्रीहरू दैनिक समृद्धिको सपना बाँड्दै भाषणा गरिरहेका हुन्छन् तर समृद्धि ल्याउनको लागि गर्नुपर्ने दायित्व र कर्तव्य भने भुल्दै गएका छन् ।

यता दुई तिहाइको सरकारलाई कर्मचारीहरूले पटक्कै मानेको देखिँदैन । उता सरकारले दर्जनौंपटक दिएको निर्देशन ठेकेदारहरूले एक कानले सुनेर अर्को कानले उडाउँदै आएका छन् । ठेकेदारलाई कानुनी कठघरामा ल्याउने कर्मचारीहरूले पनि यस विषयमा खासै चासो दिएको पाइँदैन । सरकारले कर्मचारीहरूलाई विश्वासमा लिएर काम गर्न सकेको पनि देखिँदैन । सरकारको काममा असहयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने आँट पनि सरकारले गर्न सकिरहेको छैन ।

अहिले पनि विगतको निरन्तरताजस्तै कर्मचारीहरूले नै विभिन्न बहानामा मन्त्री र प्रधानमन्त्रीलाई घुमाइरहेको देखिन्छ । समस्या नीति र विधिमा भन्दा पनि मानसिकतामा छ । सरकारले काम गर्ने मानसिकताको साथ काम गर्ने हो भने बाधा–अवरोध आफैं पन्छिँदै जान्छन् । सरकार निर्देशन मात्र दिने र कर्मचारी हस् भनिरहने अनि ठेकेदारहरूले रानजीतिक पहुँचको आधारमा काम नगर्ने भएपछि कसरी आउँछ सरकार समृद्धि ?

प्रतिक्रिया दिनुहोस्