नयाँ पाठ्यक्रम : हात्ति आयो हात्ति आयो फुस्सा !



-ईश्वरराज ढकाल, काठमाडौं । आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागु गराउने सरकारी योजना हात्ति आयो हात्ति आयो फुस्सा ! हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको अढाई महिना बितिसकेको छ तर पाठ्यक्रमको खाका अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

जबकि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल आफैँ उक्त परिषद्को अध्यक्ष रहनुभएको छ । मन्त्री पोखरेलले गत साउन महिनादेखि नै केही जिल्लामा पाइलोटिङ गरी आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्क्रम लागु गर्ने दावी गर्नुभएको थियो ।

 

मन्त्रीले यो अभिव्यक्ती दिएको करिब दुई महिना बितिसक्दा संरचना लागु गर्ने कुरा त परै जाओस् स्विकृत संरचनासमेत सार्वजनिक भएको छैन । मन्त्रालय स्रोतका अनुसार अझै केही थपघट गर्नुपर्ने भएकोले संरचना स्विकृत नभएको हो ।

‘संरचना स्विकृत भएपछि सार्वजनिक गर्नुपर्दैन ?’ भन्ने प्रश्नको जवाफमा मन्त्रालयका एक उच्च अधिकारीले भने–हल्लामात्र गर्ने, काम नगर्ने प्रवृत्तिको विकासले यस्तो भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले साउनबाटै नया पाठ्यपुस्तक तयारी गरी केही जिल्लामा पाइलोटिङ परियोजना लागु गर्ने जनाएको थियो । तर अहिलेसम्म काममा कुनै प्रगति भएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले आगामी कातिकदेखि कक्षा ११ को पाइलोटिङ गर्ने तयारी भएको जानकारी दिँदै भन्नुभयो–७ वटै प्रदेशको २८ जिल्लामा पाइलोटिङ गर्ने तयारी गरेका छौ । २०७६ मा पाइलोटिङ गरेपछि लगत्तै लागु गर्नेछौ । ’
यही अवस्था रहिरहे २०७७ सालमा मात्र नयाँ पाठ्यक्रम लागु हुने सरोकारवालाहरू बताउँछन् । कार्यकारी निर्देशक काप्रीले कक्षा ११ को नया पाठ्यपुस्तक शैक्षिक सत्र २०७६ देखिमात्रै लागु हुने दाबी गर्नुभयो । पुस्तक लेख्नका लागि लेखकमा सार्वजनिक आब्हान गर्नुपर्ने थियो तर उक्त काम अहिलेसम्म भएको छैन ।

तर मन्त्रालय र केन्द्रको मिलेमतोमा भित्रभित्रै लेखक छानेर पाठ्पुस्तक लेख्ने काम भैरहेको स्रोतको दावी छ । स्वीकृत संरचना वेवसाइटमा राख्ने प्रावधान भए पनि अहिलेसम्म राखिएको छैन। निजी पुस्तक बिक्रेता संघका प्रतिनिधि दीपक भण्डारीले आगामी शैक्षिक सत्रमा नयाा पाठ्यपुस्तक नआउने स्पष्ट पार्नुभयो ।

पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म केही तयारी गरेको छैन, कसरी नया पुस्तक छपाई गर्न सक्छौ –उहाले भन्नुभयो । २०७७ सालका लागि मात्र नया पाठ्यपुस्तक छपाउन सकिन्छ– उहाले भन्नुभयो । केन्द्रका कार्यकारी निर्देशक काप्रीले कक्षा ११ को पठन पाठन साउनबाट शुरु हुने भएकोले नया पुस्तक छपाई गर्न कुनै समस्या नपर्ने जिकीर गर्नुभयो । ११ को २०७६ सालबाट लागु गछौ, अरु कक्षाको त्यसपछि–काप्रीको भनाइ थियो ।

केन्द्रका कार्यकारी निर्देशक काप्रीले परिषदले स्विकृत गरे पनि मन्त्रालयले हालसम्म स्विकृत गर्न नसकेको बताउनुभयो । उहाले भन्नुभयो–मन्त्रालयले कहिले स्विकृत गर्ला भन्ने पर्खाइमा रहेका छौँ ।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले केही समस्या परेकोले सार्वजनिक हुन नसकेको बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले स्विकृत भएको पाठ्यक्रम लागू गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–सरकारले संरचना स्विकृत गरिसकेको छ, केही दिनमै नयाँ पाठ्यक्रम बनाउने गृहकार्यमा लाग्नेछौ ।

 

प्रतिक्रिया दिनुहोस्