नारा ‘डिजिटलाइजेसन’ कार्यशैली परम्परागत



दीपेन्द्र थापा, काठमाडौँ ।
सरकारले २० लाख पर्यटक ल्याउने योजनासहित सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरे पनि प्रचारप्रसार र कार्यशैली परम्परागत नै भएकोमा सरोकारवालाहरूले असन्तुष्टी पोखेका छन् ।

यस्तै मुलुकलाई ‘डिजिटलाइजेसन’मा लैजाने नारा बाँडेको सरकारको प्रचारप्रसार र कार्यक्रम विगतको भन्दा फरक नभएको पनि उनीहरूको टिप्पणी छ । संयूक्त राष्ट्र संघको बल्र्ड टुरिजम अर्गनाइजेसनले प्रविधिको अधिकतम् प्रयोग गरी संसारभर पर्यटकीय गन्तव्यलाई चिनाउने उद्देश्यले ‘डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारा अगाडि सारेको थियो । उक्त अर्गनाइजेसनले सामाजिक सञ्जालमा इन्स्ट्राग्राम र ब्लगको अध्यधिक प्रयोग गर्ने उद्देश्यले उक्त नारा अगाडि सारेको थियो ।

तर नेपालमा पर्यटनका क्षेत्रमा कार्यरत संघसंस्थाहरू कार्यान्वयनमा परम्परागत ढाँचाभन्दा अगाडि बढेको पाइदैँन । फुटसल टुर्नामेन्ट, रक्तदान जस्ता परम्परागत कार्यक्रम आयोजना गरिँदै आएका छन् । जबकि नेपालमा पनि गन्तव्यको प्रचार–प्रसारमा डिजिटल माध्यमको प्रयोगमा जोड दिने बताइएको थियो । तर यी संस्थाहरू नै प्रभातफेरी, सरसफाइ, हाइकिंङ, रक्तदानमा मात्रै सीमित भएको पर्यटन क्षेत्रका अधिकारीहरुको भनाइ छ ।

प्रचार–प्रसारको सबैभन्दा प्रभावकारी माध्यम सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा प्राथमिकता दिनुपर्नेमा परम्परागत ढर्रामै जोड दिइएको पर्यटनविज्ञ प्रचण्डमान श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–‘नेपालबारे बुझाउन नयाँ प्याकेज चाहिन्छ, अन्य प्रतिस्पर्धाको गन्तव्यभन्दा फरक खालको प्रडक्ट डिजाइन गर्न सक्नुपर्छ, त्यसका लागि नेपाललाई निकै सहज छ, तर किन हो कोही पनि सो बाटोमा सक्रिय भएको पाइदैँन ।’

सन्दर्भ: ३९ औँ विश्व पर्यटन दिवस

सन् २०१७ सम्मको तथ्यांकअनुसार अहिलेसम्मकै सबैभन्दा बढी ९ लाख ४० हजार पर्यटन नेपाल आएका छन् । यो तथ्यांक हेर्दा २ वर्षमा यसलाई दोब्बर बनाएर लक्षित अङ्कमा पु¥याउनुपर्नेहुन्छ । तर परम्परागत ढर्रा नै कायम गरिएमा उक्त लक्ष्य भेट्टाउन असम्भव हुने पर्यटन विज्ञ श्रेष्ठ टिप्पणी गर्नुहुन्छ ।

अन्य पर्यटन विज्ञ पनि लक्ष्य पूरा गर्न ‘ग्लोवल डाइनामिक मेथड’ प्रयोग गर्नुपर्ने बताउँछन् ।

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जस्तै होटल संघ नेपाल (हान), टान, नाटो नारा, एनएमे सोटो लगायतका संस्था नेपालको पर्यटन क्षेत्रमा कार्यरत छन् । तर तीमध्ये कुनै संस्थाले नाराअनुसार काम गरेका छैनन् ।
सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको क्षेत्र परम्परागत काममा मात्रै सीमित हुनु दुःखको विषय भएको दावी गर्दै एक पर्यटन व्यवसायी बताउँछन्–‘टानले हाइकिङ लैजानुको साटो भर्चुअल रियालिटीको माध्यमबाट गन्तव्यको प्रर्बद्धन गर्न सक्नुपथ्र्यो, यसले एकातिर नाराअनुसार काम हुन्थ्यो भने अर्कोतिर नयाँ–नयाँ गन्तव्यबारे जानकारी लिन सहज हुने थियो’ ती अधिकारीको भनाइ छ ।

नेपाल ट्रेकिङ एजेन्सी टानका अध्यक्ष नवराज दाहाल भन्नुहुन्छ–हामी ट्रेकीङसम्बन्धी नै काम गर्ने संस्था भएकोले हाइकिङको नारालाई सँगै लिएर कार्यक्रम गर्दै आएको छौँ ।

नाट्टाका अध्यक्ष सी एन पाण्डे पर्यटकीय क्षेत्रमा सफा राख्नुपर्ने सचेतना जगाउन सरसफाइ गरिएको तर्क गर्नुहुन्छ । उहाँ यस्ता कार्यक्रम स्वभाविक भएको दावी गर्दै सँगसँगै नाराअनुसारको कार्यक्रम बढाइएको बताउनुहुन्छ ।

 

यद्यपि संघ÷संस्थाले डिजिटलाइज माध्यमलाई आत्मसाथ नगरे पनि पर्यटन बोर्डले भने त्यतातिर अग्रसर भएको दाबी गरेको छ । बोर्डका निर्देशक हिक्मत ऐर छिट्टै नै २० वटा गन्तव्यलाई डिजिटलाइज गर्न लागिएको जानकारी दिँदै भन्नुहुन्छ–‘नेपालका गन्तव्यहरु चिनाउन नेपालबारे जानकारी लिने मोबाइल एप्सहरु सार्वजनिक गर्न सक्नुपथ्र्याे वा प्रविधिको प्रयोग र यसको महत्व देखिने गरी काम हुनुप¥थ्यो, यसको प्रभावकारी कार्यान्वयन देखिनुप¥र्यो ।’

विभागीय मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा तर्क गर्नुहुन्छ–देश र परिस्थितिअनुसार पाएको जिम्मेवारीमा काम गर्ने हो, डिजिटलसम्बन्धी पनि धेरै काम भएका छन्, अब पनि गदै जान्छौँ ।’ नेपाल पर्यटन बोर्डले गर्मिसे वेहाल चल्लो नेपाल भन्ने फेसवुक क्यापिन चलाएको र यसलाई भारतका धेरै प्रयोगकर्ताले प्रयोग गरेको पाइएको थियो । यसको प्रतिफल पनि राम्रै भएको थियो । नेपालका पर्यटन संघ÷संस्थाले विश्वको नयाँ प्रविधिको उपयोग गर्न नसकेको बताउँदै प्याफिक एसियन ट्राभल नेपाल च्याप्टरका कोषाध्यक्ष शिव ढकाल भन्नुहुन्छ–यसका लागि सबै अपग्रर हुने बेला आएको छ ।

विश्वमा यस्तो छ
पाटा हेडक्वाटरद्वारा सार्वजनिक गरिएको वल्र्ड टुरिजमको प्रतिवेदनमा एसियामा जापानले कुल बजेटको अत्यधिक धेरै खर्च (७० प्रतिशत) डिजिटल प्रचारप्रसारमा गर्ने गरेको उल्लेख छ । यसो गर्नेमा जापान पहिलो देश हो ।

यस्तै उक्त तथ्याङ्कमा दोस्रोमा फिलिपिन्स, तेस्रोमा ताइवान र चौँथोमा कोरिया रहेका छन् । सोही प्रतिवेदनमा जनाइएअनुसार विश्वमा ६२ देखि ९२ प्रतिशत पर्यटकले होटल बुकिङ प्याकेजिङ यात्रामा डिजिटल माध्यमको प्रयोग गर्ने गरेका छन् ।

यस्को प्रभाव एसिया प्रान्तमा ८० प्रतिशत छ । एक पर्यटकले यात्रामा निस्किनुभन्दा अगाडि इन्टरनेटमा ३ महिनादेखि गन्तव्यबारे २ सय ५० चोटी सर्च गर्ने गरेको उक्त प्रतिवेदनको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्