दुर्घटनाका घाइतेको उधारोमा उपचार, मेडिकल कलेजहरुको बक्यौता ७ करोड बढी



नेपाल समाचारपत्र, चितवन
चितवनलगायत देशका विभिन्न भागमा भएका सवारी दुर्घटनाका घाइतेहरुलाई मेडिकल कलेज र अस्पतालहरुले उधारोमा उपचार गरिरहेका छन् । यातायात व्यवसायीसँग दुर्घटनाका घाइते ल्याउने सहमति गरेका मेडिकल कलेजहरुले विभिन्न यातायात व्यवसायीसँग दुर्घटनाका घाइते उपचार गरेवापतको सात करोड बढी रकम लिन बाँकी छ । चितवनमा रहेका दुई ठूला मेडिकल कलेजमा घाइते ल्याउने गरी विभिन्न यातायात समितिले सम्झौता गरेका थिए ।

भरतपुर मेडिकल कलेजमा कररिब ३० वटा यातायात व्यवसायी समितिले सम्झौता गरेको प्रशासकीय अधिकृत हिमनाथ घिमिरेले जानकारी दिए । यस्तैं, चितवन मेडिकल कलेजमा १२ वटा यातायात समितिले वार्षिक सम्झौता गरेका छन् । दुर्घटनाका घाइतेको उपचार गरेवापतको रकम दुई करोड लिन बाँकी भएको चितवन मेडिकल कलेजका वित्त प्रमुख सुशील घिमिरेले जानकारी दिए ।

‘हामीले यातायात व्यवसायीसँग भएको सम्झौता र विश्वासका आधारमा दुर्घटनाका घाइतेहरुको उपचार गरिरहेका छौं’ बित्त प्रमुख घिमिरेले भने, ‘अघिल्लो वर्षको एक करोड ५० लाख र साउन यताको ५० लाख जति रकम लिन बाँकी छ ।’ सरकारले यातायात व्यवसायीको खाता सञ्चालनमा रोक लगाएपछि यातायात समितिहरुले दुर्घटनाका घाइतेको उपचारमा लाग्ने रकम दिन पाएका छैनन् । यसको मार असर मेडिकल कलेज माथि परेको छ । ५ करोड बढी रकम भरतपुर मेडिकल कलेजले दुर्घटनाका घाइतेको उपचार वापत लिन बाँकी छ ।

नारायणी सामुदायिक अस्पतालले पाँच लाख रकम, नारायणी यातायात व्यवसायी समितिसँग लिन बाँकी छ । भरतपुर मेडिकल कलेजका मानव संशाधन विभागका दुर्गा शर्माले घाइतेको उपचारवापतको रकम बढ्दै गएकोले उपचारमा समस्या आउन सक्ने बताए । सवारी दुर्घटनामा परेका घाइतेको तीन लाखसम्मको उपचार रकम बिमाले तिर्ने गरेको छ । सोभन्दा बढी रकम लाग्ने घाइतेको उपचार यातायात समितिले तिर्ने गरेका छन् ।

यातायात व्यवसायीको खाता बन्द भएपछि कतिपय अवस्थामा विश्वासका आधारमा त कतिपय अवस्थाका स्थानीय प्रशासन जमानी बसेर उपचार गरिएको छ । कतिपय अवस्थामा सरकार आफैँ जमानी बसेर घाइतेको उपचार गराइरहेको छ । सामान्य अवस्थामा पनि बिमाबाहेकको रकम आउनका लागि तीन महिना क्रेडिट टाइम रहने गरेकोमा यसपटक अघिल्लो आर्थिक वर्षकै रकम लिन बाँकी छ । सबैभन्दा बढी रकम नारायणी यातायात व्यवसायी संघको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्