शिक्षामन्त्री पोखरेललाई ज्ञापनपत्र



नेपाल समाचारपत्र, भक्तपुर
प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । सञ्जाल केन्द्रीय समितिको भक्तपुरमा भएको दुई दिने सम्मेलनले सञ्जालको बिधान सम्मत केन्द्रीय महाधिवेशन आगामी मंसिर अन्तिम साता काठमाडौं उपत्यकाका जिल्लाभित्रको उपयुक्त स्थानमा हुने निर्णय गरेको सञ्जालका केन्द्रीय अध्यक्ष राम हाडाले बताउनुभयो । महाधिवेशनका तयारीका लागि अध्यक्ष राम हाडाको संयोजक्त्वमा १८ सदस्यीय आयोजक समिति समेत गठन भएको छ ।

सम्मेलनले हाल सामुदायिक बिद्यालयमा संचालित प्राविधिक धार कक्षा ९–१२ मध्य कक्षा ११–१२ मा लागु भएको पाठ्यक्रम समयसापेक्ष, गुणस्तरीय र बिद्यार्थीको क्षमतामा आधारित पाठ्यक्रम परिमार्जन गरि चालु शैक्षिक सत्रमा लागु गर्न सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ । हाल कार्यान्वयनमा रहेको प्राविधिक धार तर्फ बिधागत आधारमा केही जटिल र बिद्यार्थीको पहुँच भन्दा बाहिर रहेकोले सञ्जालले पाठ्यक्रम परिमार्जन गरी चालु शैक्षिक सत्रको पढाई सुरु भए पनि नयाँ परिमार्जित पाठ्यक्रम चालु शैक्षिक सत्रमा लागु गर्न प्राथमिकताका साथ आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

सञ्जालले प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय तर्फ रहेका र सञ्जालले ठहर गरेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको अध्यक्ष हाडाले बताउनुभयो ।यसैगरी देशभर रहेका सामुदायिक बिद्यालयमा अनुकुल हेरी कक्षा ९–१२ प्राबिधिक धारमा संचालित बिद्यालयको शुल्क एकरुपता लागु गर्न भेलाले कक्षा ९–१० का लागि अधिकतम बार्षिक कक्षागत रु तीस हजार र कक्षा ११–१२ का लागि बार्षिक कक्षागत अधिकतम् रु पचास हजार सम्म लिन पाउने निर्णय गरेको छ ।

सञ्जालका सचिब ध्रुब गिरीले कक्षा ११ को अनुमतिका लागि हाल स्थानीय तहले स्वीकृति प्रदान गर्ने बिषयमा अन्यौलता कायमै रहेकाले सो बारेमा तत्काल निकास दिन, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धमा भएका ब्यबस्थाको अभिलेख स्थानीय तहमा यथाशीध्र पुर्याउन र स्थानीय तहमा निर्माण हुने ऐन तथा नियमावलीमा प्राबिधिक तथा ब्याबसायिक शिक्षा सम्बन्धि ब्यबस्था नराखी अघि बढेको अबस्था रहेकाले यस सम्बन्धमा तत्काल आवश्यक परिपत्र गर्न पनि संजालले शिक्षा मन्त्रालयसँग माग गरेको बताउनुभयो ।

ब्यबहारीक अभ्यास (ओजेटी) को मुल्यांकन राष्ट्रिय परीक्षा बोर्डले समयमै गरी बिश्वबिद्यालयको प्रवेश परीक्षा भन्दा अगि गरी बिद्यार्थीलाई ट्रान्सक्रिप्टमा दिन ,कक्षा ९–१० मा अतिरीत्त गणित अनिवार्य पठाउने गरी मार्कसिटमा ल्याउन,यस क्षेत्रमा कार्यरत शिक्षक प्रशिक्षकको सेवा,सर्त र स्थायीत्वका बारेमा ब्यबस्था गर्न पनि सञ्जालको राष्ट्रिय सम्मेलनले सरकारसँग माग गरेको उपाध्यक्ष नन्दकुमारी महर्जनले जानकारी दिनुभयो । प्राबिधिक शिक्षाको जिम्मेवारी स्थानीय तहमा दिंदा समस्या हुने,प्राबिधिक बिश्वबिद्यालय प्रदेशस्तरमा स्थापना गर्नुपर्ने,सीटीईभीटीको भ्रामक प्रचार र सामुदायिक बिद्यालय प्रतिको नकारात्मक सन्देश बन्द गरी प्रदेश स्तरमा शाखा खोल्नुपर्ने ठहर संजालले गरेको छ ।

देशभरका २ सय ८४ बिद्यालयमा संचालित प्राविधिक तथा व्यावसायिक धारको पढाइ हुने विद्यालय संञ्चालनमा छन् । निजि स्तरबाट धेरै नै प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय खुलेका भएपनि शुल्क महँगो र एकरुपता नहुनाले न्युन आय स्तर भएका विद्यार्थी विगतमा यो शिक्षा लिन बञ्चित भएका थिए ।२०७० साल यता सामुदायिक विद्यालयमा ९ कक्षादेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षाका विभिन्न विद्यालय संञ्चालन भएदेखि यस तर्फ विद्यार्थीहरुको रुचि बढ्दै गएको देखिन्छ ।सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षाको आधार मान्दै छनौटमा परेका विद्यालयमा प्राविधिक शिक्षा संचालनमा ल्याएको हो ।

यसैबीच सञ्जालले राष्ट्रिय सम्मेलनका निर्णय सहित यस क्षेत्रका समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई आईतबार ज्ञापनपत्र बुझाएको छ ।आफ्नै मन्त्रालयमा ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालले उठाएका सहि समस्या समधानका लागि आवश्यक छलफल गरी पहल गरिने प्रतिकृया दिनुभएको संजालका अध्यक्ष राम हाडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्