कछुवा गतिमा आईसीपीको निर्माण, डेढ वर्षमा ५२ प्रतिशत प्रगति



सरोज यादव विराटनगर ।
मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको काम सुस्त हुदाँ निर्माण प्रकृया लम्बिने देखिएको छ । भारत तर्फ दुई बर्ष अघि नै आईसिपी निर्माण भई सञ्चालनको अबस्थामा छ ।

नेपाल तर्फपनि दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि वढाइएको भएपनि डेढ वर्षमा निर्माणको काम ५२ प्रतिशत मात्र पूरा भएको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसीपी निर्माणको काम अघि बढाएको थियो ।

गएको फेब्रुअरी १ देखि आइसीपी निर्माणको काम शुरु भएको थियो ।आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आईसिपीको निर्माणको काम गरिरहेको छ । ठेकेदार कम्पनीका सञ्चालक अवधेशकुमार साहले नेपालतर्फको बुधनगरमा आइसीपीको भौतिक निर्माणको काम भई रहेको बताए ।

उनले आईसीपीका लागि तयार गरिने भवन,घेरावेरा गर्ने लगायतका काम भई रहेको जानकारी दिए । ‘भारत र नेपाल सरकारबीच भएको द्विपक्षीय सहमति अनुसार आइसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने ‘आइसीपीको निर्माणको काम ५२ प्रतिशत पूरा भएको छ।’

निर्माण कम्पनीलाई आईसीपी निर्माणको जिम्मा दुई वर्षको दिएको थियो ।तर डेढ वर्ष पूरा हुदा अहिलेसम्म ५२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको अबस्था छ । जसका कारण तोकिएको समयमा आईसीपी निर्माणको काम पूरा नहुने देखिन्छ ।

पहिलो चरणमा आइसीपी जाने लिंकरोड निर्माणको काम र आईसीपी हाता भित्र भौतिक संरचना निर्माणको काम अहिले भई रहेको छ ।संयुक्त रूपमा नेपाल–भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ । आइसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम शुरु भएको छ ।

लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर–दक्षिणी राजमार्गसँग जोडिनेछ । आइसीपीको निर्माणमा भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामाग्री र उपकरण सवै भन्सार महसुल र राजस्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

भारततर्फ निर्मित आईसीपी गत कात्तिकबाट सञ्चालनमा ल्याएपछि नेपाली व्यवसायी र क्लियरिङ एजेन्टलाई सुविधा भन्दा पनि झण्झट थपिएको गुनासो नेपाली पक्षले गर्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनास बोहराले बिराटनगर भन्सारबाट आईसीपी भवनसम्म पुग्न टाढा र असुविधा पर्ने बताए ।

बोहराले भने ‘जोगवनीको आइसीपी हामीलाई टाढा भएको छ, जसले गर्दा आयात र निर्यातमा झन्झटका साथै खर्चसमेत थपिदिएको छ ।’उनले जोगवनीको आइसीपीमा मालसामान राख्दा दैनिक ६ सय शुल्क लाग्ने भएकाले एकै दिनमा सबै काम पूरा गर्न सकिएन भने आयात गर्ने सामाग्रीको व्ययभार थपिने बताए । बुधनगरमा निर्माणधिन आईसिपीको काम चाडै सम्पन्न गरी सञ्चालनमा ल्याउन समेत उनले माग गरे।

 

प्रतिक्रिया दिनुहोस्