कागेश्वरी मेला सम्पन्न पर्यटकीय क्षेत्र घोषणा गर्न माग



नेपाल समाचारपत्र, काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने कागेअष्टमी मेला सम्पन्न भएको छ ।

राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा एक लाख भन्दा बढी भक्तजनहरुले मेला भरेका छन् ।

कागे अष्टमीसमेत भनिने मेलामा कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास रही आएको छ । विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीका वडा अध्यक्ष मकुन्द गजुरेलले धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य कागेश्वरीलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने बताए । उनले भने,‘कागेश्वरी विकासको लागि गुरु योजना बनाएर नै काम अगाडि बढाउने तयारीमा गरिरहेको छौ, यस क्षेत्रलाई पर्यकीय क्षेत्र घोषणा गर्नको लागि हामी पूर्वाधार निर्माणमा जुटेका छौ ।’

मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको संख्यामा भीड लागेको थियो । सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीका वडा सचिव विनय सिम्खडाले बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी महादेवको नामबाट नै नगरपालिकाको नाम रहेको बताउदै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका विशेष पहल गर्ने बताए । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रहेको छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न पर्यटकहरु आउने गरेको उनले बताए ।

मेला व्यवस्थापन समिति संयोजक श्याम लामाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले २०० किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको बताए । नगरपालिकाले कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तराष्ट्रिय पशुपति परिपथ निर्माण गर्न विषयमा गृहकार्य गरिरहेको बताएको छ ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । कागेश्वरी महादेवलाई धार्मिक सहिष्णुताको प्रतिकको रुपमा लिने गरिएको बताउदै वडा अध्यक्ष गजुरेलले बताए । मेलामा झाक्रीहरु आफ्नै परम्परागत भेष भुसामा सजिएर ढ्यांग्रो बजाउदै उक्त स्थानमा पुग्ने प्रचलन रहदै आएको छ ।

मेला भर्नाको लागि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा ,उपप्रमुख बिन्दु सिंखडा पुडासैनी ,नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेल लगायतका जनप्रतिनिधिहरु उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्