अमेरिकामा नेपालीको संस्थाललाई बैंकिङ कारोबार गर्ने अनुमति



नेपाल समाचारपत्र
काठमाडौं
अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले अनुमति पाएको छ। न्यूयोर्कबाट पहिलो बैंकिङ शुरू गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो।

अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि अगष्ट २५ तारिखमा न्यूयोर्क सिटीस्थित ज्याक्सन हाइट्समा आयोजना गर्दै छ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन्। सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ। समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन्। क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बैंकलाई कर छुट दिने भएकाले अन्य बैंकका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ। साथै बचतमा बैंकको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ।

संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउन्ट, सेभिङ एकाउन्ट, रिटायरमेन्ट एकाउन्ट, विशेष मुनाफा वितरण हुने एकाउन्ट, डेबिट कार्ड, सवारी साधन ऋण, व्यक्तिगत ऋणजस्ता सुविधा पाउनेछन्। संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य बैकिङ सुविधा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। एभरेस्ट फेडरल क्रेडिट युनियनमा सदस्य बनेकाले मात्र यी सबै सुविधा प्राप्त गर्नेछन्। सबै राज्यहरूमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेकोसंस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पुर्याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ।

हालसम्म एभरेस्ट फेडरल क्रेडिट युनियनले न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियासम्मका लागि काम गर्दै आएको छ। अब नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनबाट अनुमति पाएसँगै वित्तीय कारोबारका लागि युनियनले छुट्टै भवन खोज्ने प्रक्रिया शुरू गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्