चितवनमा विद्युतको माग बढ्यो, वार्षिक ११ हजार नयाँ ग्राहक थपिँदै



नेपाल समाचारपत्र, चितवन ।

शहरीकरण र बसाइँसराइ बढेसँगै भरतपुरमा विद्युतको माग बढ्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सुरेशकुमार महतोका अनुसार भरतपुर महानगर, माडी, इच्छाकामनामा मात्र वार्षिक छ हजार नयाँ ग्राहक थपिन्छन् । त्यसैगरी विद्युत् प्राधिकरण टाँडी शाखाका अनुसार टाँडीमा वार्षिक पाँच हजार १०० नयाँ ग्राहक थपिन्छन् । भरतपुर केन्द्रको मासिक कारोबार १३ करोड रुपैयाँ रहेको छ जसको अनुपातमा यस केन्द्रको वार्षिक कारोबार एक अर्ब ५६ करोड हुन आउँछ । त्यस्तै टाँडी केन्द्रको वार्षिक कारोबार ५९ करोड ९६ लाख १७ हजार ६५८ रुपैयाँ रहेको छ । यसरी समग्र चितवनको विद्युत्को कारोबार हेर्दा वार्षिक दुई अर्ब ३६ करोड हुन आउँछ ।

विद्युत् प्राधिकरण भरतपुरका सुपरभाइजर ओम अधिकारीले पहाडी क्षेत्रबाट तराई झर्ने क्रम नरोकिएकोले पनि मिटर बक्सको लागि चितवनमा धेरै आवेदन पर्ने गरेको बताए । उनले भने, ‘विद्युत् खपतको माग वार्षिक २० प्रतिशतभन्दा धेरैले बढिरहेको छ ।’

विद्युत् प्राधिकरणको केन्द्रीय सर्कुलरमा ७ दिनभित्र उपभोक्ताको घरमा नयाँ मिटरबक्स जोडिदिने सर्कुलर भए पनि त्यो सर्कुलर भरतपुरमा पूरा हुन नसकेको सुपरभाइजर अधिकारीले बताए । उनले भने, ‘अहिले भरतपुरमा नयाँ मिटरबक्स पाउनको लागि कम्तीमा पनि तीन महिना कुर्नुपर्ने हुन्छ ।’

विद्युत् प्राधिकरण भरतपुरका इन्जिनियर अन्जनीकुमार यादवको अनुसार ग्लोबल टेण्डरबाट आउने नयाँ मिटर बक्स भरतपुरमा उपलब्ध नभएकोले पनि नयाँ ग्राहकलाई मिटरबक्स उपलब्ध गराउन नसकिएको बताए । उनले भरतपुर क्षेत्रमा मात्र वार्षिक झण्डै ८० को हाराहारीमा ट्रान्सफर्मर फड्कने गरेको बताए । लाइनको गडबडीले ट्रान्सफर्मरमा समस्या आउने उनले बताए ।

भरतपुर १० दीपेन्द्रचोकबाट नयाँ घरको लागि मिटरबक्स जडानको लागि विद्युत् प्राधिकरण पुगेका सुरज गुरुङले विगत एक महिना अगाडिनै नयाँ मिटरबक्स जडानको लागि निवेदन दिए पनि आजसम्म पाउन नसकेको बताए । उनले भने, ‘प्रविधिको प्रयोग बढेर प्राय कार्यालयहरु विस्तारै डिजिटलको युगमा पुग्दा पनि विद्युत् प्राधिकरणको कार्यशैलीमा अझै परिवर्तन आउन सकेको छैन ।’ उनले सूचनाहरु कम्प्युटरमा नराखी फाइलहरु एक एक गरेर खोज्नुपर्ने बाध्यता रहेको बताए । कर्मचारीको काम गर्ने शैलीमा पनि बर्षाे अगाडि जस्तो थियो त्यस्तै रहेको गुरुङले गुनासो गरे । उनले भने, ‘विद्युत् प्राधिकरणमा खोजेको समयमा कर्मचारीहरु नै भेटिदैनन् ।’ विद्युत् प्राधिकरण भरतपुरको चुहावट ११. २१ प्रतिशत रहेको छ भने अझैसम्म टाँडी केन्द्रअन्तर्गतको चुहावट १७. ७ प्रतिशत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्