११ महिनामा १० खर्ब ३३ अर्बको व्यापारघाटा



काठमाडाैं, (नेस)
आर्थिक वर्ष २०७४/७५ को ११ महिनासम्ममा कुल वस्तु निर्यात १० दशमलव ४ प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ८ दशमलव ७ प्रतिशत, चीनतर्फ ९१ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलव १ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैंची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापातालगायतका वस्तुको निर्यात बढेको छ भने जीआई पाइप, जुटको रस्सी, जुस, उनी गलैंचा, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात २३ दशमलव ५ प्रतिशतले बढेर ११०७ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २५ प्रतिशत, चीनबाट भएको आयात २५ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दशमलव १ प्रतिशतले बढेको छ ।

 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपँर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एमएस बिलेट, सिमेन्टलगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाई जहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैंची, जिंक इनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएता पनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई १०३३ अर्ब ४ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव ५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्