तीन प्रतिशत बालबालिका विद्यालय बाहिर



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा विद्यालय भर्ना अभियानमा चुनौति देखिएको छ । बेसीशहरमा आयोजना गरिएको विद्यार्थी भर्ना विशेष अभियान– २०७५ दोस्रो चरणको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

जिल्लाका ३ दशमलब दुई प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले एक अन्तरक्रिया कार्यक्रममा जानकारी दिएपछि सो खुलासा भएको हो । जिल्लाका १ देखि १२ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको कार्यालयको तथ्यांकमा उल्लेख रहेको शिक्षा इकाईका प्रमुख नारयण रेग्मीले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अशिक्षा, बेरोजगारी, गरीबी, विपन्नता तथा घर नजिक विद्यालय नभएका कारण पनि बालबालिकाहरू विद्यालय भर्ना नभएको जानकारीमा आएको बताउनु भयो । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ ।

सरकारले अभियान स्वरुप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती कृष्णप्रसाद कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसक्नुमा समयनुकूल पाठ्यक्रम परिमार्जन नहुनु पनि हो । दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम हुनु र विद्यालय र अभिभावकबीच समन्वयको कमीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको बताउनु भयो ।

यसैगरी, अपाङ्ग महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले अपाङ्ग बालबालिका बढी मात्रामा विद्यालय बाहीर रहेको बनाउँदै अपाङ्ग मैत्री भौतिक संरचनाको अभाव त्यस्ता विद्यार्थीहरूलाई विद्यालयमा प्रोत्साहनको कमी, अचेतना र गरीबी कारक रहेको बताउनु भयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख नारयण रेग्मीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय भर्ना नभएका बालबालिकालाई विद्यालयभित्र ल्याउन उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले त्यो संख्या विद्यालय नै नजाने भन्दा पनि माथिल्लो कक्षामा गएर छाड्नेको हो भन्नुभयो । उहाँले भन्नुभयो, यस वर्ष कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने सर्वेक्षण हुन बाँकी रहेको उहाँको दावी थियो ।

विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलनका लागि साउन १९ गतेसम्म फारम भर्न पालिका, स्रोतकेन्द्र र प्रधानाध्यपक फारम बुझी घरदैलोमा पुग्ने, साउन २५ सम्म संकलीत फारम फिर्ता गर्नुपर्ने, साउन महिनाभित्र विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरीने, भदौ १५ सम्म विद्यालय बाहिर रहेका बालबालिकाको भर्ना गराई शिक्षा इकाई र पालिकाले अभिलेख राख्ने कार्यक्रम रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख नारयण रेग्मीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार साउन ३१ गते अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता पालिकाले घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बालबालिका विद्यालयबाहिर रहनुको कारणमा आर्थिक अवस्था कमजोर रहेको देखिएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लमजुङसहित लमजुङका ४ नगरपालिका र ४ गाउँपालिकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए ।

विसं २०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम शुरु गरेका छन् । बैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँचमा ल्याउने सरकारको लक्ष्य थियो ।

प्रतिक्रिया दिनुहोस्