वर्षाको यात्रामा ज्यानकै बाजी, ठेकेदार कम्पनीको लापरवाही



हरकसिंह धामी, कञ्चनपुर
असारे बर्षातका कारण कञ्चनपुरको हुलाकी राजमार्ग दयनिय बन्दै गएको छ । सडक कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्तीले सडक सुधार नहुँदा राजमार्ग दयनिय बन्दै गएको हो । सम्झौता भएको १८ महिना वितिसक्दा पनि निर्माण कम्पनीले काममा वेवास्ता गरेका कारण सडकको अवस्था सुधार भएको छैन् ।

आर्थिक बर्ष २०७३÷०७४को माघ महिनामा कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब १७ करोड लागतमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । हुलाकी राजमार्ग आयोजना संग बाबाहंस र शर्माजेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता गरेका थिए ।

गर्मीमा धुलाम्मे, हिउँदमा ठुला ठुला खाल्टाखुल्टी र अहिले बर्षातमा हुलाकी सडक रोपाईका खेतजस्तै हुने गरेको छ । पुर्वमेची हुँदै पश्चिम महाकाली जोड्ने हुलाकी राजमार्ग अन्र्तरगत कञ्चनपुरको बेल्डाँडी दैजी सडकखण्ड सबैभन्दा बढि दयनिय बनेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर बेल्डाँडीदेखि दैजी महेन्द्र राजमार्गसम्म सडकको अवस्था नाजुक बन्दै गएपछि उक्त सडकमा यात्रा सकसपुर्ण बनेको छ । हुलाकी सडकको ठाँउ ठाँउमा खाल्डाखुल्टी परेका छन् । यो सडक हेर्दा रोपाई गर्ने खेतजस्तै बनेको देखिन्छ ।

पानी परेका दिन सडक होईन्, रोपाईका लागि तयार पारेका खेतजस्तै हुने भएकाले यात्रुले ज्यानको बाजी थापेर जोखिमपूर्ण कष्टकर यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बषौँदेखि सडक सुधार नभएका कारण दक्षिणी क्षेत्रका जनता यातायात सेवाबाट बञ्चित भएका छन् । कच्ची सडक भएका कारण बेला बेलामा सवारी साधन दुर्घटना भईरहेका छन् ।

तर, पनि सम्बन्धीत निकायको वेवास्ता कारण सडक सुधार हुन सकेको छैन् । सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको लार्पबाही र ढिलासुस्तीका कारण अझै सडक स्तरोन्नती हुन नसकेको स्थानीयले बताएका छन् । बेल्डाँडीका स्थानीय युवा दिपेन्द्र सिह धामीले सडक सुधार नभएका कारण खुकुरीको धारमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

बेलौरीका स्थानीय जनक चौधरीले ग्रामीण भेगका बेरोजगार युवाले जमिन बन्धकीमा राखेर अटो व्यवसाय गरेका छन्, बर्षातका कारण कच्ची सडकमा अटो चलाउँदा आम्दानी भन्दा खर्च बढि भईरहेको छ र ३० मिनेर समय लाग्ने सडकमा २ घण्टा लाग्ने गरेको बताउनुभयो ।

यस हुलाकी राजमार्गमा बल्मा र हात्तीखड्डा नदी पर्ने गर्दछन यि नदिमा पुल नभएका कारण अझ बर्षातमा आवत जावत गर्न झन समस्या भएको छ ।

बर्षा भएको बेलामा दुवै नदीको सतह बढने भएकाले दिनभर बस्नुपर्ने बाध्यता हुने गरेका छन । दुई बर्ष अघि पुल निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले गत २०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर, सम्झौता सकियो, अहिलेसम्म पनि पुल नबन्दा फेरी पनि दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवत जावतमा समस्या भएको हो । ९७ मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणका लागि ८ करोड, ४७ लाख बराबर लगायतको स्टेमेट गरिए पनि निर्माण कम्पनीले ६ करोड, ८० लाख रुपैयामा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा म्याद थप गरिएको छ । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको जनाएको छ । पुल बन्न थालेपछि हर्षित भएका दक्षिणी क्षेत्रका स्थानीय निर्माण कार्य ढिलाई हुँदा निरास भएका छन् । हुलाकी राजमार्ग आयोजनाका सव–ईन्जिनियर बीर बहादुर कोलीले बर्षातमा काम गर्न नसकिने भएकाले काम रोक्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्