विश्वकै तिव्र गतिको अमेरिकी सुपर कम्प्युटर



वासिंगटन, (एजेन्सी)
समिट नामक अमेरिकाको नयाँ सुपर कम्प्युटर वर्तमान विश्वका नेताको तुलनामा दोब्बरभन्दा बढी शक्तिशाली हुने गरेको बुझिएको छ। यस कम्प्युटरले २ सय पेटाफ्लप अर्थात एक सेकेन्डमा २० लाख खर्ब समस्या समाधान गर्न सक्ने बताइएको छ।
अहिलेसम्म विश्वकै सुपर कम्प्युटर मानिने चीनको सनवे ताइहु लाइट सुपर कम्प्युटरले ९३ पेटाफ्लप प्रशोधन गर्ने क्षमता राख्दछ। समिटलाई अहिलेका लागि खगो भौतिकशास्त्र, क्यान्सर अनुसन्धान र जीवशास्त्र प्रणालीमा मात्र प्रयोग गरिने बताइएको छ।

हाल यसलाई अमेरिकाको टेन्नेस्सीस्थित ओक रिड्ज नेसनल लेबोरेटोरी(ओआर एनएल) मा राखिएको छ। यसलाई आईबीएम र एभिइडियाको संयुक्त पहलमा विकास गरिएको हो।हेर्दा निकै ठूलो यस्ता सुपर कम्प्युटरमा तिव्र गतिमा समस्या हल गर्नका लागि दशौं हजार प्रोससरको अत्यन्तै महँगो प्रणाली जोडिएको हुन्छ। समिटमा ४ हजार ६ सय ८ वटा कम्प्युटर सर्भर र १० पेटावाइटभन्दा बढी मेमोरी रहेको छ। ओआरएनएलका निर्देशक डा. थोमस जाचारियाले ८ जुनमै समिटको उद्घाटन गर्ने क्रममा निर्माण कालमै यसलाई तुलनात्मक आनुवंशिक कोड चलाउन प्रयोग भइसकेको जानकारी दिएका थिए।

सन् २०१७ मा प्रकाशित विश्वका प्रमुख सुपर कम्प्युटरहरूको चार्टमा प्रमुख ५ सयवटा मध्ये अमेरिकासँग १ सय ४३ वटा र चीनसँग २ सय २ वटा रहेको उल्लेख गरिएको थियो। अमेरिकाको यसअघिको टाइटान नामक सुपर कम्प्युटर पाँचौं श्रेणीमा परेको थियो।
ओआरएनएलको कार्यक्रममा बोल्ने क्रममा अमेरिकी उर्जा मन्त्री रिक पेर्रीले बताएका छन्– ‘हामीलाई थाहा छ, हामी प्रतिस्पर्धामा थियौं र कसले पहिले सुपर कम्प्युटर बनाउने भन्ने मात्र कुरा थियो। यससम्बन्धी क्षमतामा अमेरिका पुनः फर्केको छ भन्ने हामीले विश्वलाई देखाइदिएका छौं। समिटको कम्प्युटिंग क्षमता निकै शक्तिशाली छ। यसले डेस्कटपमा सेभ गरिएको ३० वर्षबराबरको डाटालाई एक घन्टाभित्रै समाधान गर्ने क्षमता राख्दछ। यसले विश्वलाई पक्कै पनि परिवर्तन गर्न सक्छ।’

शीतयुद्ध समाप्तिपूर्व अमेरिका र रुसबीच अन्तरिक्ष अध्ययन अनुसन्धान सम्बन्धमा लामो समयसम्म प्रतिस्पर्धा चलेको थियो। अहिले आएर चीन पनि अन्तरिक्ष मामिलामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्