उत्तरी म्यान्मारबाट नागरिक विस्थापन रोकिएन



याङ्गोन । उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम रोकिएको छैन । विगतका केही महिनादेखि उक्त क्षेत्रमा जातीय विवाद चर्किएको छ ।

सेनाले सो क्षेत्रमा अहिले पनि धरपकड जारी नै राखेको र जसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा सानातिना झडपहरु अहिले पनि भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् भन्नुभयो ।

झडपका घटनाका कारण विस्थापित १५ हजार नागरिक र आन्तरिक रूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ९० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् ।

कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको धारणा राख्नुभयो ।

ओसिएचएले प्राप्त रिपोर्टमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारले भने केही बताएको छैन ।

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् ।

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् ।

रोहिंग्याको अवस्था पनि उस्तै  
उता गएको अगष्ट महिनामा राखिन राज्यबाट यसैगरी लखेटिएका लाखौँ लाख म्यान्माली रोहिंग्याहरुको बारेमा पनि सरकारले केही गर्न सकिरहेको छैन ।

उनीहरु बंगलादेशमा शरणार्थी शिविरमा बसिरहेका छन् । उनीहरुलाई स्वदेश फर्काउने मिति अmभै निस्किएको छैन । उनीहरुलाई पनि सेनाले यसैगरी बलजफ्ती गरेकोले देश छोडेर भाग्न बाध्य भएका बताइएको छ ।

म्यानमारको सरकारले उनीहरुलाई स्वदेश फर्किन आग्रह गरिरहेको छ तर पनि उनीहरु सरकारी सुरक्षा निकाय तथा सेनाबाटै आफूहरु सुरक्षित नरहेको र यसका कारण आफूहरु स्वदेश फर्किनसक्ने अवस्था पनि नरहेको बताएका छने ।

हालैमात्र म्यानमार र बंगलादेशको भ्रमण गरेका राष्ट्रसंघीय अधिकारीले पनि म्यानमारलाई आफ्ना शरणार्थीलाई स्वदेश फर्किन आग्रह गरेका थिए ।

त्यस क्रममा म्यान्माली विदेशमन्त्री आङ सान सुकीले ती शरणार्थी स्वदेश फिर्ता ल्याउने काममा राष्ट्रसंघको संलग्ना रहेमा पनि आफ्नो कुनै आपत्ति नरहने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्