नासाले मंगल ग्रहमा अर्को रोबोटिक यान पठाउने



केप क्यान्भेरल, (एजेन्सी)
मंगलग्रहमा आफ्नो यान अवतरण गराएको ६ वर्षपछि नासाले एउटा महत्वाकांक्षी अभियानका लागि अर्को रोवर यान पठाउने तयारी गरेको छ। यस अभियानमा नासाले मंगलग्रहमा एउटा रोबोटिक भूवैज्ञानिक पठाउन लागेको हो। उक्त रोबोटिक रोवरले उक्त रातो ग्रहमा सबैभन्दा गहिरो खनन गर्नेछ र उक्त ग्रहको तापक्रमसम्बन्धी थप जानकारी संकलन गर्नेछ।

मंगलग्रहका लागि नासाको इन्साइट स्पेसक्य्राफ्ट यसै हप्ताहान्त प्रक्षेपण हुने बताइएको छ। इन्साइट अन्यरिक्षयानले पहिलोपटक मंगल ग्रहको भित्री भौगोलिक संरचनाको जाँच गर्नेछ। यसले उक्त रातो ग्रहमा आउने भूकम्प पनि मापन गर्नेछ।

इन्साइट मिसनमा एउटा टेबल आकारको ल्यान्डर मंगलग्रहको एलिसियम प्लोनिसिया नामक सतहमा खसालिनेछ। उक्त स्थान मंगलग्रहको भूमध्यमा पर्ने समथर र चट्टानरहित लाभायुक्त सतह हो। यही स्थानबाट उक्त रोबोटिक अन्वेषक यानले रातो ग्रहको केन्द्र सर्वेक्षण गर्नेछ।

उक्त रोबोटिक यान यसै वर्ष नोभेम्बर २६ मा मंगल ग्रहमा अवतरण गर्नेछ र २ वर्ष बिताउनेछ। क्युरोसिटीसहित नासाले यसअघि मंगल ग्रहमा पानीको खोजका लागि काम गरेको थियो। तर यस अभियानमा इन्साइटले मंगल ग्रहको भौगोलिक संरचनाको अध्ययन गर्नेछ। यसको अर्को प्रमुख लक्ष्य मंगलग्रहमा आउने भूकम्प मापन गर्नु पनि हो। चिसोमा खुम्चिने भएकाले मंगलग्रहमा ६ देखि ७ म्याग्निच्युडसम्मका भूकम्प आउने गरेको छ। यसको मद्दतबाट नासाले मंगलग्रहको भित्री सतहका मोटाइ जाँच्न प्रयास गर्नेछ। इन्साइटले आफूसँग अन्य दुई स्याटलाइट पनि लिएर जानेछ। यसमा एकले मंगल ग्रहको भूकम्प मापन गर्नेछ भने अर्कोले तापक्रम मापन गर्नेछ।

तापक्रम जाँच गर्न इन्साइटको रोबोटिक भूवैज्ञानिकले मंगलग्रहको सतहमा १६ फिटसम्म खन्नेछ। यो सम्पूर्ण अभियानमा ८१ करोड ४० लाख डलर खर्च लागेको र इन्साइटको तौल ६ सय ३० किलो रहेको बताइएको छ।

मंगल ग्रह धेरै कुरामा पृथ्वी समान छ। दुवै ग्रहमा पहाड छन्, यद्यपि पृथ्वीको तुलनामा यसको आकार करिब आधा, तौल एक तिहाइ र घनत्व ३० प्रतिशत कम छ।

प्रतिक्रिया दिनुहोस्