महाकालीमा पूल बनाउन भारतले रोक्यो



विनोद सिंह विष्ट, बैतडी ।

भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पूल निर्माण कार्या अघि बढ्न सकेको छैन् । पूल निर्माणका लागि ठेक्का सम्झौता भएको एक बर्ष बढी भईसक्दा समेत भारतले सहमती नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलुंगे पूल निर्माण कार्य अघि नबढेको हो ।

महाकाली नदीमाथि झोलुंगे पूल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक निराश भएका छन् । पूल निर्माणका लागि ठेक्का सम्झौता भएको एक बर्ष बढी भईसक्दा समेत पूल निर्माण कार्य अघि नबढेपछि स्थानीयबासी चिन्तित बनेका बिरेन्द्र महताले बताउनुभयो ।

भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरेपनि पूल निर्माणको काम अहिले सम्म अघि नबढ्दा स्थानीयबासी निराश भएका हुन् उहाँले भन्नुभयो“डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने आशामा थियौ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको झोलुंगे पूल डिभिजनले भारतसंग सीमा जोडिएको महाकाली नदीमा तीनओटा पूल निर्माणका लागि गत बर्ष नै ठेक्का सम्झौता गरेको थियो ।

दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पूल निर्माणका लागि ठेक्का सम्झौता भएपनि पञ्चेश्वरमा भने काम नै सुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो“पूल बन्ने भनेर हर्षित यहाँका नागरिकमा निरासा छाएको छ ।”
दार्चुलाको लालीमा पूल निर्माण भईसकेको छ भने तिग्रममा पूल निर्माण कार्य जारी रहेको छ । पञ्चेश्वरमा पूल निर्माणका लागि भारतीय सरकारबाट सहमति नपाउँदा पूल निर्माणको काम सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लि.का धनबहादुर कुँवरले बताउनुभयो । १ करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पूल निर्माणको ठेक्का सम्झौता भएको हो ।

पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंगे पूल निर्माणका लागि भारतको केन्द्रिय सरकारबाट नो अब्जेक्सन लेटर पाएको भएपनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुंगे पूल डिभिजनका योजना प्रमुख गुरुप्रसाद शर्माले बताउनुुभयो ।

सम्झौता भएर पनि काम नहुँदा तल्लोसोराडबासीलाई पिरोलेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । पञ्चेश्वरमा महाकाली नदीमाथि बन्ने भनिएको झोलुंगे पूल निर्माणका बिषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसंग छलफल भईरहेको प्रदेशसभा सांसद लीलाधर भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो“पूल निर्माणको कार्य अघि बढाउन सरोकारवालासंग छलफल जारी छ ।”

जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीमा १० भन्दा बढी घाटहरु सञ्चालनमा छन् । ती घाटहरुमा डुंगाको जोखिमपूर्ण यात्रा गरेर महाकाली पारी जानुपर्ने स्थानीयबासीको बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्