मानव जीवनशैलीले भँगेरा‘थ्रेट’मा



टीका बन्धन, काठमाडौं ।
मानव र मानव जीवनसँग निकट रहने पन्छी भँगेरा हिजोआज तपाईं हाम्रो घरआँगनमा खासै देखिँदैन। बढ्दो शहरीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण यो पन्छीको संख्या पातलिन थालेको छ।

घरआँगन र आसपास छरिने अन्नसहित करेसाबारी र खेतबारीमा लगाइने अन्नबाली तथा बोटबिरुवामा लाग्ने कीरा फट्याङ्ग्रा भँगेराको मुख्य आहारा हो। पर्याप्त आहारा र उपयुक्त बासस्थान अभावका कारण पछिल्ला वर्षमा भँगेराको चहलपहल घट्न थालेको विज्ञहरू बताउँछन्। पन्छीविद् डा. हेमसागर बरालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मानिसको जीवनशैलीमा आएको परिवर्तनकै कारण शहरी क्षेत्रमा यसको संख्या पातलिँदै गएको छ।’

भँगेराले गुँड लगाउने परम्परागत शैलीका घर तथा गोठको संख्या नभेटिँदा र अन्न–अनाज हुर्किने खेतबारी मासिँदै जाँदा शहरी क्षेत्रमा यो पन्छीको चहलपहल घट्दै गएको उहाँले प्रस्टइउनुभयो।

कृषिमा बढ्दो कीटनाशक औषधिको प्रयोग, बढ्दो प्रदूषण, मोबाइल फोनको तरङ्गसहित अन्य विकिरणले पनि शहरी क्षेत्रमा भँगेरा ‘थ्रेट’मा पर्न थालेको विज्ञहरूको बुझाइ छ।

बेलायतको ब्रिस्टल विश्वविद्यालयले मोबाइलको विकिरण ‘इलेक्ट्रोम्यागनेटिक रेडिएसन’ले भँगेराको जीवन र प्रजननमा असर गर्ने गरेको प्रतिवेदन केही वर्षअघि सार्वजनिक गरेको छ । डा. बराल नेपालमा त्यस्तो प्रभावबारे विस्तृत अध्ययन अनुसन्धानको खाँचो औंल्याउनुहुन्छ। विश्वमा विभिन्न ३२ प्रजातिका भँगेराका प्रजाति अभिलेख गरिएको छ। नेपालमा घर भँगेरा, रूख, कैलो, पीत कण्ठे र स्पेनिस भँगेरासहितका पाँच प्रजाति अभिलेख भएको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले जनाएको छ।

काठमाडौं उपत्यका केन्द्रित शहरी पन्छी गणनाका क्रममा यो भँगेराको संख्या पातलिँदै गएको पाइएको संघले जनाएको छ। बढ्दो आधुनिकता र मानव जीवनशैलीमा आएको परिवर्तनले भँगेराको संख्या पातलिन थालेको संघका संरक्षण अधिकृत कृष्णप्रसाद भुसाल बताउनुहुन्छ। घर भँगेरा, रूख, कैलो र पीत कण्ठे मुलुकभित्रैका रैथाने भँगेरा हुन् भने स्पेनिसचाहिँ फाट्टफुट्ट मात्रै देखिने भएकाले पन्छीविद्हरू यो प्रजातिलाई फिरन्ते आगन्तुक भन्ने गर्छन्।

पीत कण्ठे मानव बस्तीभन्दा टाढा रहन रुचाउने र खास गरी तराई क्षेत्रका पातलो वनजंगलमा गुँड लगाउने र विचरण गर्ने गर्छ। भँगेरा खतराको सूचीमा परेको भन्दै यसबारे जनचेतना फैलाउन सन् २०१० देखि अंग्रेजी महिनाको मार्च २० तारिखमा विश्व भँगेरा दिवस मनाउने गरिन्छ। भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा मनाउन थालिएको यो दिवस नेपालले सन् २०१२ बाट मनाउन थालेको हो।

बीसीएनको पहलमा मनाउन शुरू गरिएको यो दिवस अहिले मुलुकका राष्ट्रिय⁄अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्थाले पनि मनाउन थालेका छन्। मुलुकभर विभिन्न ८ सय ८७ प्रकारका पन्छी अभिलेख गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। तर भँगेरा राष्ट्रियस्तरमा संकटको सूचीमा नपरेकाले भँगेरा दिवस अहिलेसम्म सरकारको प्राथमिकतामा पर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्