कामपाका कर्मचारी अन्योलमा



ईश्वरराज ढकाल, काठमाडौं ।
लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्था गर्न लागेपछि काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापन विभागमा कार्यरत कर्मचारी अन्योलमा परेका छन्।

लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापन गर्न निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेपछि उनीहरू आफ्नो आगामी जिम्मेवारीको विषयलाई लिएर अन्योलमा परेका हुन्।

यद्यपि विभागमा कार्यरत ८ सय ८५ कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुनै निर्णय लिन नसकिएको कामपाले जनाएको छ। उता कामपा वातावरण व्यवस्थापन विभाग स्रोतले सबै कर्मचारीलाई वातावरण विभागअन्तर्गत विभिन्न निकायमा काममा लगाउने तयारी गरेको बुझिएको छ। विभागका प्रमुख हरि कुँवरले विभागका सबै कर्मचारीलाई फोहोरमैला अनुगमन, पार्क, हरियाली प्रवद्र्धन र धूलो व्यवस्थापनमा खटाइने जानकारी दिनुभयो। यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले काम गर्न नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाशको प्याकेज ल्याइने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘फोहोर व्यवस्थापनमा कार्यरत सबै कर्मचारीको व्यवस्थापन नेपवेस्ट परियोजनाले गर्ने भएपछि कामपा कर्मचारीलाई के गर्ने भन्ने विषयमा केही अन्योल रहेको छ। यस विषयमा छलफल गरिरहेका छौं, चाँडै नै टुङ्गो लगाउनेछौं।’

लगानी बोर्ड र नेपवेस्टले दुई महिनाभित्र परियोजना विकास सम्झौता गर्ने निर्णय गरिसकेको छ। परियोजना लगानी सम्झौता भएलगत्तै कम्पनीले काठमाडौंको फोहोर उठाउन शुरू गर्नेछ। वातावरण विभाग प्रमुख कुँवरले कर्मचारीलाई तत्काल बिदा दिने विषयमा कुनै निर्णय नभएको बताउँदै सबै कर्मचारी राजधानीको सौन्दर्य निर्माणमा खटाइने जानकारी दिनुभयो।

विभागमा कार्यरत ८ सय ८५ कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुनै निर्णय लिन नसकिएको कामपाले जनाएको छ।

‘फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीले लिएपछि कामपाले सबै कर्मचारीलाई बाध्यात्मक रूपमा सेवाबाट हटाउन सक्दैन, स्वैच्छिक अवकाशको प्याकेज ल्याएर उनीहरूलाई अवसरको मौका दिइनेछ।’ –उहाँले भन्नुभयो।

मठमन्दिर सरसफाइ, ग्रिनरी व्यवस्थापन, धूलो संकलन गर्ने, सडक पानीले सफा गर्ने, जेड र ब्रुमर चलाउनेलगायत काममा कर्मचारी खटाउने योजना बनाएको छ। विभागअन्तर्गत हाल करिब १ सय २० जना चालक कार्यरत छन्। ती चालकलाई कामपाअन्तर्गतका विभिन्न निकायमा परिचालन गर्ने गरी योजना बनाइरहेको छ।

नेपाल सफाइ श्रमिक संघका अध्यक्ष योगेश केसीले सफाइमा कार्यरत कर्मचारीलाई खटाइने कामका विषयमा कुनै निर्णय नभएको बताउनुभयो। उहाँले निजी कम्पनीले लिएपछि त्यहाँका कर्मचारीमा अन्योल छाएको बताउनुभयो।

निजी कम्पनीले फोहोर व्यवस्थापन गर्ने भन्ने जानकारी पाएलगत्तै कामपाका मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा कर्मचारीलाई कुनै समसया नपर्ने आश्वासन दिनुभएको थियो। ‘सफाइ र यातायातमा कार्यरत ६ वटा संगठनसँग भएको भेटमा मेयर शाक्यले तत्कालै व्यवस्थापन गर्ने बताउनुभएको थियो, अब के हुन्छ भन्ने विषयमा निर्णय दिनुभएन।’ –उहाँले भन्नुभयो।

अध्यक्ष केसीले फोहोर व्यवस्थापनमा कार्यरत धेरै कर्मचारी बिरामी परेकाले उनीहरूको बिदाको विषयसमेत कामपाले सोच्नुपर्ने बताउनुभयो।
कामपाका मेयर शाक्यले कर्मचारी व्यवस्थापन गर्न कुनै समस्या नभएको बताउँदै समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।

निजी कम्पनीले जिम्मा लिएपछि महानगरको वातावरण व्यवस्थापन गर्न कर्मचारीको आवश्यकता पर्ने उहाँको भनाइ थियो। निजी कम्पनीले फोहोर सम्झौता भएको ३ देखि ६ महिनासम्म फोहोर उठाउन आवश्यक तयारी गर्नेछ। संयुक्त लगानीको कम्पनी नेपवेष्टले उपत्यकाभित्रका काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, दक्षिणकाली, कागेश्वरी मनहरा र शंकरापुर गरी ९ नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको छ।
सो कम्पनीले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्नेछ।

परियोजनाको अवधि २० वर्ष रहेको र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको कामपाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो। कम्पनीले पहिलो चरणमा ४ अर्ब ४० करोड रुपियाँ खर्च गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्