दोस्रो कार्यकालका लागि भण्डारी पुनः निर्वाचित



दीपक रिजाल, काठमाडौं
ष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि सोमबार भएको निर्वाचनमा भारी मतभरसहित विजयी हुनुभएको छ।संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा यसअघि निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारी सोमबार भएको निर्वाचनबाट पुन ५ वर्ष शीतल निवासमा रहने जनदेशसमेत प्राप्त भएको छ।

लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी राष्ट्रपति भण्डारी यसअघि एक कार्यकाल सफलताका साथ पूरा गरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनकी साझा उम्मेदवार रहनुभएकी भण्डारीले ५२ हजार ५ सय १ मतमध्ये ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको थियो। उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतका पार्टीले मतदान गरेका थिए।

राष्ट्रपति निर्वाचनमा विवेकशील साझा पार्टी र नयाँशक्ति पार्टीले भने बहिस्कार गरेको थियो। निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ३६ सांसदहरूले मतदान गरेका थिए। मंगलबारको निर्वाचनमा संघीय संसद्का ५ जना र प्रदेश संसद्का १४ जना मतदान प्रक्रियामा सामेल हुनुभएको थिएन। राष्ट्रपति भण्डारीलाई संघीय संसद्का २ सय ४५ र प्रदेशसभाका ४ सय १५ जना संसादहरूले मतदान गर्नुभएको थियो।
राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंलगबार नै शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभएको थियो। दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीले आज बुधबार पद तथा गोपनीयताको शपथ खानुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिमा निर्वाचित भण्डारी नेकपा एमालेको तत्कालीन उपाध्यक्ष तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री, जनसंख्या तथा वातावरण मन्त्री र रक्षा मन्त्रीसमेत भइसक्नुभएको छ। नेपालको वाम आन्दोलन तथा महिला आन्दोलनमा सक्रिय भण्डारी यसअघि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

राष्ट्रपति भण्डारीको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव मदन भण्डारीसँग २०३९ मा विवाह सम्पन्न भएको थियो। २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा जन्मिनुभएकी उहाँले बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन शुरू गर्नुभएको छ।

स्कुले जीवनदेखि नै वामपन्थी राजनीतिमा संलग्न रहँदै आउनुभएकी राष्ट्रपति भण्डारी २०३७ सालमा मालेको सदस्यता प्राप्त गरी विद्यार्थी राजनीतिमा होमिनुभएको थियो। अखिल नेपाल महिला संघको अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य हँुदै पार्टीको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्